८ वर्षिया सौगात विष्ट भन्छन्- ‘फिल्म स्क्रिप्ट भन्दा राम्रो बनेको छ’



८ वर्षिय सौगात विष्टले निर्देशन गरेको फिल्म ‘लभ यू बाबा’ मंसिर २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । सम्भवतः सौगात विश्वकै कान्छा फिल्म निर्देशक हुन् ।  गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा विश्वकै कान्छा फिल्म निर्देशनकको रुपमा नाम लेखाउने प्रक्रिया ‘लभ यू बाबा’ निर्माण युनिटले गरिरहेको छ । राजधानीको एक बोर्डिङ स्कूलमा कक्षा २ मा अध्ययनरत सौगात विष्टको फिल्म निर्देशकिय क्षमतालाई फिल्म सम्बन्ध व्यत्तित्हरुले अदभुत् भनी व्याख्या गरेका छन् । यिनै अदभुत क्षमता भएका ८ वर्षिय निर्देशकसँग  रंग खबरले कुराकानी गरेको छ ।

कसको हौसलामा फिल्म निर्देशनमा आउनु भयो ?
मेरो बाबा (गजित बिष्ट) ले मलाई फिल्म निर्देशन गर्ने हौसला दिनु भएको हो । म स्कूलको खेलकुद र कार्यक्रमहरुमा भाग लिन्थें । मैंले एउटा विज्ञापनमा खेल्ने मौका
पाएँ । ‘कखरा’ र ‘जन्मभूमि’ भन्ने फिल्म खेले । ‘जन्मभूमि’ फिल्मको लागि काठमाण्डू बाहिर एक हप्ता जति बस्नु पर्यो । त्यतिबेला मैंले धेरै कुरा सिकें । बाबाले मलाई जिस्किएर फिल्म निर्देशन गर्न सक्छस् ? भनेर सोध्नु भयो । मैंले ‘सक्छु’ भनें तर डर पनि लाग्यो । गिनिज बुकमा ९  वर्षको बच्चाले फिल्म निर्देशन गरेको रैछ तैंले पनि लेखाउनु पर्यो भनेर बाबाले भन्नु भयो । मैंले पनि डराएरै ‘हुन्छ’ भनिदिएँ ।

saugat bista

फिल्मको छायाँकन गर्न कत्तिको गाह्रो भयो ?
त्यस्तो अप्ठ्यारो खासै भएन । किनभने मसँग सहायक, मुख्य सहायक निर्देशक हुनुहुन्थ्यो  ।

स्क्रिप्ट जस्तो फिल्म बनेको छ त ?
फिल्म स्क्रिप्टको भन्दा राम्रो बनेको छ । मैंले सोचे भन्दा निकै राम्रो भयो ।

तपाईंले निर्देशन गरेको फिल्मलाई दर्शकले किन हेर्नुपर्छ ?
मलाई आशा छ दर्शकले यो फिल्मलाई रुचाउनु हुनेछ । मैंले नेपालको लागि फिल्म निर्देशन गरेको हुँ । नेपाललाई समर्थन गर्न दर्शकहरु पक्कै पनि हलसम्म आउनु हुनेछ । यसमा सबै
प्रकारको ‘भेराइटी’ छ । भात मात्रै खाएर पुग्दैन । खानाको सबै ‘भेराइटी’ भयो भने स्वादिलो हुन्छ । हाम्रो फिल्म ‘लभ यू बाबा’ पनि सबै ‘भेराइटी’ मिसिएको स्वादिलो छ ।

निर्देशन गर्न कसले सिकायो ?
मलाई सुरुमा फिल्म निर्देशन सम्बन्धी मेरो बाबा (गजित विष्ट) र काकु (गम्भिर विष्ट) ले सिकाउनु भयो । त्यसपछि नवल नेपाल अंकलसँग २ हप्ता सिकें । क्यामेरापर्सन दिव्यराज सुवेदीसँग पनि
निर्देशनको तालिम लिएँ । मैंले धेरै जनासँग सिकेको छु ।

नेपाली फिल्म कत्तिको हेर्नु भएको छ ?
धेरै हेर्छु । बाबा र दिदिको फिल्म हेरेको छु । मलाई फाइट भएको फिल्म मन पर्छ । मलाई आफ्नै बाबाले खेलेको ‘मायाज बार’ फिल्म मन पर्छ ।

छायाँकन गर्दा अप्ठ्यारो भएको ‘लभ यू बाबा’ को कुनै दृश्य छ ?
व्यक्तिको ‘इन्टरडक्सन सिन’ लिंदा अलि गाह्रो भएको थियो । म चाहन्थें व्यक्तिको ‘इन्टडक्सन सिन’ अलि फिल्मी होस् तर मलाई अलि गाह्रो भएको थियो । मैंले मेरो सहायक निर्देशकहरुसँग छलफल गरेको थिएँ ।

फिल्म निर्देशन गरिसकेपछि आफ्ना साथीहरुमा के फरक पाउनु भएको छ ?
पहिला सौगात भनेर बोलाउँथे अहिले डाइरेक्टर साप भनेर बोलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्