‘कन्ट्रोभर्सी’ समाचारका लागी अन्तरवार्ता दिन्न : रेखा थापा



रंग खबर, काठमाण्डौं, पौष ०५– नायिका रेखा थापाले अब देखि ‘कन्ट्रोभर्सी’ अर्थात ‘विवादस्पद’ समाचार बनाउनका लागी अन्तरवार्ता लिन आउने मिडियालाई अन्तरवार्ता नै नदिने निर्णय गरेकी छिन् ।

Rekha Thapa

आज रंग खबरसंगको कुराकानीमा उनले आफुसंग सकरात्मक हिसाबले कुरा गर्ने तर पछि गएर ‘कन्ट्रोभर्सी’ समाचार बनाउने मिडियाको व्यवहारले आफुलाई दुखी बनाएको बताइन् । ‘म संग एक हिसाबले कुरा गर्छन् तर मिडियामा मैले बोल्दै नबोलेको कुरालाई पनि समाचार बनाउँछन्’, उनले भनिन्– ‘समाचार बेच्नका लागी हामीलाई विवादस्पद नै बनाउनुपर्छ भन्ने छ र ?’

आजको नँया पत्रिकाले रेखा थापाको विषयमा ‘छविले मलाई होइन मैले छविलाई बनाएको हो’ भन्ने शिर्षकमा एउटा कन्ट्रोभर्सी समाचार बनाएपछि त्यही समाचारलाई फलोअप गर्न रंग खबरले रेखासंग सम्पर्क गर्दा उनको यस्तो प्रतिक्रिया आएको हो । रेखाले आफुले कहिल्यै पनि बितेका कुराहरुलाई कोट्याउन नचाहेको बताइन् । ‘तर मिडियाहरु जबरजस्ती आफ्नो हेडलाईनका लागी त्यही बितेका कुरालाई कोट्याउन खोज्छन्’, उनले गुनासो पोखिन् । ‘मेरो बितको पलको कुनै एउटा पाना म हटाउन चाहन्छु’, उनले भनिन्– ‘तर प्रकाशित भइसकेको किताबको कुनै एउटा पाना हटाउँदा जसरी किताब अपुरो हुन्छ त्यसरी नै त्यो पाना पनि हट्न सक्दैन् ।’ ‘तर त्यो पाना मधुरो बनेर बसेको छ जसलाई चखिलो बनाउन म चाहन्न ।’ उनले थपिन्. । रेखाले जुन पानाको कुरा गर्दैछिन् त्यो त हामीसबैलाई स्मरण रहेकै कुरा हो ।

रेखाले कुनै एक मिडियाले कन्ट्रोभर्सी समाचार लेखेको आधारमा अन्य अनलाईन मिडियाहरुले त्यसलाई समाचार नबनाईदिन आग्रह समेत गरिन् । ‘म संग बुझेर मात्र समाचार लेखिदिनुस्’, उनले आग्रह गरिन् ।

एक साता अघि मात्र अनलाईन खबरले ‘रेखाको आर्यन संग फिल्म खेल्ने चाहना’ भन्ने विषयमा एउटा समाचार लेखेको थियो जसप्रति पनि रेखाको आक्रोश थियो । आफुले बोल्दै नबोलेको कुरालाई समाचार बनाएको भन्दै उनी रिसाएकी थिइन् । अहिले फेरी नँया पत्रिकाले पनि कन्टोभर्सी हिसाबले मात्र समाचार लेखेपछि रेखाले कन्ट्रोभर्सी समाचार बनाउन खोज्नेहरुलाई अन्तरवार्ता नै नदिने निर्णय गरिन् । आखिर उनको यो निर्णयले ‘कन्ट्रोभर्सी’ समाचारहरु न्युनिकरण होलान् त ? चाहे जे सुकै होस् रेखाको बुझाई भने फरक छ । भन्छिन्– ‘समाचार ‘कन्ट्रोभर्सी’ बनाउँदा मात्र बिक्ने होइन्, सकरात्मक लेख्दा पनि बिक्छन् ।’ ‘मेरो विवादस्पद भन्दा पनि राम्रो समाचार पढ्न चाहने फ्यान बढी छन्’, उनी भन्छिन्– ‘मैले यो निर्णय तिनै फ्यानहरुको लागी गरेको हो ।’

प्रतिक्रिया दिनुहोस्