‘ब्युटी विथ ब्रेन’ माल्भिका सुब्बा भन्छिन् – ‘मलाई हेपेको मन पर्दैन’



सन् २००२ मा मिस नेपालको ताज पहिरिन सफल माल्भिका सुब्बालाई ‘ब्युटी विथ ब्रेन’ भएको व्यक्तित्वको रुपमा चिनिन्छ । बौद्धिक रुपमा तर्क सक्ने माल्भिका सुब्बा आफ्नै सौन्दर्यतामा पनि उत्तिकै ध्यान दिन्छिन् । त्यसैले मिस नेपालको ताज पहिरीएदेखि आजसम्म उनी विभिन्न सौन्दर्यसँग जोडिएका इभेन्ट्समा व्यस्त छिन् । पुर्व मिस नेपाल, दर्जन बढी म्युजिक भिडियोकी मोडल, दुई नेपाली फिल्मकी अभिनत्री एवं टिभी कार्यक्रम प्रस्तोता माल्भिका सुब्बासँग रंग खबरडटकमले लामो कुराकानी गरेको छ । फिल्म ‘हाउ फन्नी’ की कार्यकारी निर्माता सुब्बासँग गरिएको कुराकानीलाई उनकै शब्द शैलीमा प्रस्तुत गरिएको छ ।

फिट हुने स्क्रिप्ट नै पाईंन
मिस नेपाल भएपछि थुप्रै फिल्म खेल्ने अफर आयो । आफुलाई फिट हुने मैंले फिल्म पाइनं । ईच्छा पनि भएन । टिभीमा लागें प्रोडक्सनको काम सिके । पछि गएर ‘गड लिभ्ज हिमालय’ र ‘गुडबाई काठमाण्डू’ भन्ने फिल्ममा अभिनय गरें । त्यतिबेला चाहिं फिल्म खेल्ने ईच्छा थियो । राम्रो, सिरियस र अफ विटको फिल्मको स्क्रिप्ट आयो भने फिल्म खेल्छु भन्ने थियो तर, प्रस्ताव नै आएन ।

malvika di

दिल्लीदेखिको फिल्म बनाउने सपना
मेरो साथी निलु डोल्मा शेर्पा र म दिल्लीमा सँगै बसेर पढेका हौं । त्यहाँ बस्दा पछि गएर फिल्म बनाउने भन्ने सोच चाहि हाम्रो पहिले देखि नै थियो । विगत दुई वर्षदेखि हाम्रो फिल्म बनाउने कुरा भैरहेको थियो । सुरुमा निलुले मलाई लभ स्टोरीको स्क्रिप्ट सुनाएको थियो मलाई त्यति चित्त बुझेन । उसले दोश्रो पटक ‘हाउ फन्नी’ को स्क्रिप्ट सुनायो चित्त बुझ्यो, अनि मैंले उसलाई ‘ल छिटो गरिहाल’ भनें । ‘यो फिल्मलाई बनाउनै पर्छ, मान्छेहरुले मन पराउँछ भनें’ निलुले नै मलाई कार्यकारी निर्माताको प्रस्ताव गर्यो म एकदमै खुसी भएँ । हामीले सक्दो नयाँ तरिका अपनाउने कोशिस गरिरहेका छौं । सेटमा पनि व्यावसायिकता ल्याउने प्रयाश गरिरहेका छौं ।

फिल्म खेल्छु भन्ने कहिल्यै सोचिनं
सबैको प्रश्न हुन्छ, आफुले बनाउने फिल्ममा तपाई आफै किन खेल्नु भएन ? फिल्म खेल्नु नै मेरो सोख थिएन । फिल्म खेल्नु नै मेरो सोख थियो भने जमानामा फिल्म खेलेर अहिले एउटा स्थापित नायिका भएर बस्थे होला । फिल्म नै खेल्छु भन्ने मैंले कहिले पनि सोचिंन । म आफुलाई आउने काम गर्छु नआउने काम गर्दा चुक्छु भन्ने थाहा छ । मेरै लागि फिल्म बनाउनु पर्छ भनेर मैंले कहिले पनि सोचेको छैन ।

आइडिया छ कहाँ प्रयोग गर्ने ?
‘हाउ फन्नी’ को स्क्रिप्ट र कलाकार छान्न खासै गाह्रो भएन । कलाकार प्रायः सबैलाई चिनिरहेको भएकाले पनि सजिलो भयो । आर्थिक पक्ष कसरी जुटाउने भन्ने कुरा अलि गाह्रो भयो । हामीसँग धेरै आइडिया छ, कहाँ के गर्ने भनेर चाहिं अलि गाह्रो भैरहेको छ । कलाकारको फिल्म जुधेको कारणले गर्दा सुटिङमा अलि गाह्रो भैरहेको छ ।

प्रेसर बढ्यो
फिल्म क्षेत्रमा सबैजना सहयोगी पाएँ । धेरै जनालाई मैंले पहिला नै चिनेको थिएँ । पत्रकार देखि सबैले सहयोग गर्नु भएको छ । सायद उहाँहरु पनि निकै नै ‘एक्साइटेड’ हुनुहुन्छ होला हाम्रो फिल्मदेखि । अन्तिम उत्पादन कस्तो हुन्छ भनेर हामीलाई अहिले नै प्रेसर हुन थालेको छ ।

स्पट र लाइट ब्वाय देख्दा माया लाग्छ
मैंले फिल्ममा अभिनय गर्दा फिल्मको जिन्दगी निकै गाह्रो लाग्थ्यो । मान्छेहरु किन धेरै खाना खान्छन् ? जस्तो लाग्थ्यो । तर अहिले थाहा भयो यो त ‘लेबर’ जस्तै रैछ । बिहानदेखि बेलुका सम्म खट्नु पर्ने । स्पट ब्वाय, लाइट ब्वाय जाडोमा चप्पल लगाएर आउँछन् । यो देख्दा माया लाग्छ । उनीहरुले आफ्नो जिन्दगी नै फिल्मलाई बनाइ सकेका छन् ।

malvika final

मलाई हेपेको मन पर्दैन
मलाई लाग्छ म सधै राम्रो हुन्छु, जबसम्म अरुले मलाई राम्रो व्यावहार गर्छ । त्यतिबेला म नराम्रो हुन्छु जब मलाई कसैले हेप्न र दबाउन खोज्छ । मलाई हेपेको मन पर्दैन । अव्यावसायिक व्यक्ति मलाई मन पर्दैन र समयको महत्व नराख्ने व्यक्ति पनि मन पर्दैन । त्यतिबेला म हकार्छु र कराउँछु । किनभने मैंले इन्डियामा हुँदै कर्पोरेट लेभलबाट यी कुराहरु सिकेर आएको हुँ । इन्डियामा समय भनेकै पैसा हो । त्यहाँ त एक मिनेट पाँच मिनेट भन्ने पनि हुँदैन । मलाई लाग्छ एक वर्ष इन्डियामा बसेर पनि अलि बढि नै बलियो भएँ होला । मलाई झट्ट हेदा मान्छेले घमण्डी भन्ला तर म मान्छेलाई स्यावासी दिने र सम्मान दिने पनि काम गर्छु ।

काममा रमाइलो लाग्छ
व्यावसायिक रुपमा म आफ्नो जिवनदेखि एकदमै खुसी छु । किनभने तीस वर्षको हाराहारीमा हुँदा पनि मैंले काम पाइरहेको छु र व्यस्त छु । सन् २००४ देखि म तिव्र गतिमा काम गर्दै आइरहेको छु । त्यसैले अरु कुरा सोच्ने, रमाइले भनेको के हो ? बुझ्ने पनि मलाई फुर्सद छैन । एकदिन पनि काम भएन भने म अत्तालिन्छु । मेरो मन शान्त हुँदैन । तर म काममा छु भने मलाई एकदमै रमाइलो लाग्छ ।

श्रीमानको परिवारबाट रोकतोक छैन
विवाहको सुरुमा गाह्रो भएको थियो । मेरो श्रीमान नेवार रम लिम्बु परिवारको सदस्य । लिम्वु परिवारमा महिलालै एकदमै महत्व दिइन्छ । सबैजना आफैंमा सक्षम हुन्छन् मेरै आमाले पनि ७३ वर्षसम्म काम गर्नु भएको थियो । म पनि मेरो आमा जस्तै छु । नेवार परिवारमा बिहे भएपछि सुरुमा मलाई घुलमिल हुन गाह्रो भयो, अहिले पनि केही गाह्रो छ । तर, हामीले बुझाउन सक्नु पर्छ । मलाई कामको कुरामा अहिलेसम्म मेरो श्रीमानको परिवारले रोक्नु भएको छैन । दृढ विश्वास भयो भने विवाह पछि पनि काम गर्न कसैले रोकतोक गर्दैन ।

आत्मविश्वासी महिला प्रेरक
जो महिला आत्मविवासका साथ जीवन जिउनु हुन्छ । उहाँहरु नै मेरो प्रेरणाका श्रोत हुन् ।

खुसी खोज्दैछु
बल्ल खुसी हुन सिक्दैछु । आफ्नो लागि समय निकालेर सानो कुरामा रमाउन सक्ने बन्दैछु । मनलाई सफा राख्यो भने खुसी आफैं मिल्छ जस्तो लागछ ।

प्रतिक्रिया दिनुहोस्