अभिनेता सुवास भन्छन्– ‘एक्टिङ गर्दागर्दै मर्न पाउँ’ । ‘रेखा थापा मेरो लागी आइकन हुनुहुन्छ’



रंग खबर, काठमाण्डौं । भनिन्छ, नेपालमा कलाकारिता गरेर बाच्न गाह्रो छ । तर अभिनेता सुवास थापालाई त्यस्तो लाग्दैन् । मिहनेत र लगनशिलताका साथ कुनै पनि काम गर्ने हो भने सफल हुने उनको विश्वास छ ।

Rekha-Thapa-and-Subash-Thap

रंगखबरसंगको एक कुराकानीमा सुवासले अभिनयमा नै जीवन समर्पित गर्न पाउँदा आफुलाई आनन्द मिल्ने बताए । ‘मेरा धेरै साथीहरु आज विदेशमा छन्, लाँखौ कमाइरहेका छन् तर म यँहा अभिनय गरिरहेको छु’, थिएटर ब्याकग्राउन्डबाट अभिनयमा प्रवेश गरेका सुवासले भन्दै थिए– ‘मलाई लाग्छ म त एक्टिङ गर्दागर्दै मर्न पाउँ ।’

आगामी पौष २५ देखि प्रदशर्नमा आउन लागेको सविर श्रेष्ठ निर्देशित फिल्म ‘तथास्तु’ मा नायिका रेखा थापासंगै स्क्रिन शेयर गर्न पाउँदा सुवास खुशी छन् । रेखासंग स्क्रिन शेयर गर्दा आफु छाँयामा पर्ने अनुभुती हुँदैन् भन्ने एक प्रश्नमा उनले यसरी जवाफ फर्काए– ‘ फिल्म ‘सानो संसार’ मा एउटा सानो रोल गरेर ठुलोपर्दामा प्रवेश गरेका म  ‘कोही मेरो’ बाट हिरो हुँदा आज रेखाजी संग स्क्रिन शेयर गर्न पाइरहेको छु, यो नै मेरो लागी ठुला कुरा हो ।’ ‘म कलाकार हो र मेरो काम अभिनय गर्ने हो चाँहे त्यो सानो या ठुलो रोल होस्’, सुवासले थपे– ‘त्यसैले मलाई छायाँमा पर्ने अनुभुती भन्दा पनि आफ्नो क्षमता देखाउन पाएकोमा गर्व लाग्छ । ’

केही दिन अगाडी अभिनेत्री रेखा थापाले आफ्नो ‘को–एक्टर’ का रुपमा रहेका सुवासलाई आफ्नो नजरमा एउटा उत्कृष्ट नायक रहेको बताएकी थिइन् । आफ्नो प्रशंसक ‘हिम्मवाली’ अभिनेत्री रेखा थापाप्रति नायक सुवासले पनि प्रशंसाको पैंचो फर्काए । उनले विगत १४ वर्षदेखि नेपाली फिल्म नगरीमा आफ्नो जीवन समर्पित गरिरहेकी रेखा थापा आफ्नो लागी ‘आइकन’ रहेको बताए । ‘रेखा थापा पर्दामा मात्रै होइन पर्दा बाहिर पनि हिरो हुनुहुन्छ ।’ रेखा थापा फाउन्डेशनले सिमान्तकृत राउटे समुदाय प्रति गरेको सेवा तथा सम्मानलाई लक्षित गर्दै सुवासले भने– ‘पर्दामा जो पनि हिरो बन्न सक्ला तर, पर्दा बाहिर पनि हिरो बन्न सजिलो छैन । रेखा जी पर्दा र पर्दा बाहिर दुवै ठाउँको हिरो हुनुहुन्छ ।’ ‘त्यसैले ‘रेखा जी मेरो लागि आइकन हुनुहुन्छ । उहाँले जुन शाहस र हिम्मत जुटाउनु भएको छ त्यस्को सबैले कदर गर्नुपर्छ । उहाँको कार्यप्रतिको लगावले मलाई अगाडी बढ्ने हौसला मिलेको छ’, उनले थपे ।

प्रतिक्रिया दिनुहोस्