होस्टेल रिटर्न्स : प्रविधि प्रेमी दर्शक तान्न ‘क्यान इन्फोटेक’ मा (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । जुन फिल्मको प्रचारप्रसार बलियो हुन्छ, त्यो फिल्म चल्ने सम्भावना पनि त्यत्ति नै बढी हुन्छ । यही कुरालाई मध्यनजर गर्दै निर्माता सुनिल रावलले वैशाख २५ देखि प्रदशर्नमा आउने आफ्नो फिल्म ‘होस्टेल रिटर्न्स’ को प्रचारप्रसार तीन महिना अघि देखि नै शुरु गरिसकेका छन् । इन्जिनियरिङका विद्यार्थी र होस्टेल जीवनको कथा भएकाले उनले यो फिल्मको प्रचारवाजी विशेष गरि शैक्षिक संस्थालाई ‘टार्गेट’ गरेर अघि बढाइरहेका छन् ।

hostel returns 2

विद्यार्थीहरु माझ लाइभ प्रोमो मञ्चन गर्दै कलेज अभियानमा अघि बढेको ‘होस्टेल रिटर्न्स’ अब बुधबारबाट शुरु भृकुटीमन्डपको सुविसु क्यान इन्फोटेक (प्रविधि मेला) भित्र पनि प्रवेश गरेको छ । । क्वीकहिल एन्टिभाइरस नामक कम्पनीसँगको सहकार्यमा स्टलमार्फत यो फिल्म युनिट अब प्रविधिप्रेमी दर्शकमाझ पुग्ने भएको छ । ६ दिनसम्म लगातार चल्ने यो प्रविधि मेलामा लाखौं सुचना–प्रविधि प्रेमीहरुको सहभागिता हुने गर्दछ । ‘हाम्रो फिल्मको कथा पनि इन्जिनियरिङका विद्यार्थीहरुको भएकाले यो स्वत: प्रविधिसंग पनि जोडिन्छ’, निर्माता रावलले भने– ‘यसकारण हामीले यो मेलालाई प्रमोशनका लागि उचित ठान्यौँ । ‘अब फिल्मका सम्पुर्ण कलाकार र युनिट मेला अवधिभर यँहा आउने प्रविधि प्रेमीहरुसंग अन्तरक्रियामा रहनेछ’, उनले भने ।

hostel returns 3

यस्तै मेलाको पहिलो दिन बुधबार निर्माता सुनिल रावल, कलाकारहरु सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, अभय बराल, स्वस्तिमा खड्कालगायत प्रमोशनका लागि मेलामै सहभागि थिए । उनीहरुले मेलाका आगन्तुकहरुविच फिल्मको प्रचार गरेका थिए ।

‘होस्टेल रिटर्न्स’ का डेब्यु अभिनेता श्रेष्ठले पनि प्रविधिमैत्री दर्शकको चाहना र सिनेमाको कथा गाँसिएको बताए । ‘झट्ट हेर्दा इन्जिनियरिङ विषय पाठ्यक्रम मात्र होइन, त्यससँग प्रविधि र क्यान इन्फोटेक जोडिएको छ’ उनले भने, ‘यो पुस्ताको दर्शकमाझ हामी पुग्ने प्रयासमा छौं ।

hostel returns

यता क्वीकहिल एन्टिभाइरस कम्पनी निर्देशक अक्षय अग्रवालका अनुसार संचालन गरिने लक्की ड्रमार्फत भाग्यमानी ग्राहकलाई गिफ्ट ह्याम्पर र सिनेमाको टिकट उपलब्ध गराइनेछ । सुरज भुषालद्वारा निर्देशित ‘होस्टेल रिटर्न्स’ दुर्गिश फिल्मस्को तेश्रो प्रोजेक्ट हो । यसअघि निर्माण भएका दुई फिल्म ‘सायद’ र ‘होस्टेल’ व्यवसायिक रुपमा सफल फिल्म हुन् । व्यापक प्रचारवाजीका साथ अघि बढिरहेको यो फिल्मले अब निर्माता रावललाई ‘ह्याट्रिक’ गर्ने अवसर दिलाउँला ? हेर्न बाँकी छ ।

hostel returns 4

प्रतिक्रिया दिनुहोस्