अनिश्चितकालका लागि रोकियो ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ को प्रशारण



jire khursani bhadragolरंग खबर, काठमाण्डौं । नेपाल टेलिभिजनबाट हरेक साता प्रशारण हुने दुई हाँस्य टेलिफिल्म ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ अनिश्चित कालका लागि बन्द भएका छन् । विज्ञापन कम्पनी वर्ल्ड भिजन एड्भर्टाइजिङको गद्धारीले गर्दा प्रसारण बन्द भएको समाचार प्राप्त भएको हो ।वर्ल्ड भिजन एड्भर्टाइजिङकै मातहतमा रहेको अर्को कार्यक्रम हरेक शनिबार साप्ताहिक रुपमा प्रशारण हुने फिल्म शो पनि अनिश्चित कालको लागि बन्द भएको छ । श्रोतका अनुसार वर्ल्ड भिजन एड्भर्टाइजिङले सिद्धार्थ बैङ्कमा तीन कार्यक्रमका लागि राखेको पाँच करोड ८६ लाख बराबरको धितो रकम नक्कली सावित भएपछि वर्ल्ड भिजनका मालिक दिनेश श्रेष्ठ हनुमान ढोकामा पुगेका छन् ।

यही काण्डमा नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रवद्र्धक पवन माण्डव्य र आर्थिक महाशाखा प्रमुख राजन श्रेष्ठलाई पनि टेलिभिजनबाट पन्ध्र दिनको लागि निलम्बन गरिएको श्रोत बताउँछ । महाशाखा प्रवद्र्धक र आर्थिक महाशाखा प्रमुखको मिलेमतोमा वर्ल्ड भिजनको हिसाब किताब टेलिभिजनसँग समयमै पारदर्शी हुन नसकेको श्रोत बताउँछ ।

गत साउनमा नेपाल टेलिभिजनबाट प्रशारण हुने चार वटै हास्यव्याङ्ग्य कार्यक्रमको टेन्डर वर्ल्ड भिजन एड्भर्टाइजिङलाई पारेको थियो । तर, कम रकम पर्ने ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ मात्रै आफुले राखेर वल्र्ड भिजनले ‘तितो सत्य’ र ‘मेरी बास्सै’ मिडिया हवलाई दिएको थियो । ‘जिरे खुर्सानी’ लामो समयदेखि प्रशारण हुँदै आएको कार्यक्रम हो भने ‘भद्रगोल’ पछिल्लो समयको हिट हास्यव्याङ्ग्य कार्यक्रम हो । विज्ञापन कम्पनीको गद्धारीले अनिश्तिकालका लागि रोकिएका जिरे खुर्सानी र भद्रगोल पुनः प्रशारणमा ठूलै समय लाग्ने र सहज नहुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्