३६ दिन लगाएर सकियो ‘फागु’ । करिश्माले भनिन्– ‘घरकै ले सबै काम गर्यौ ‘



रंग खबर, काठमाण्डौं । ३६ दिन लगाएर फिल्म ‘फागु’ को छायाँकन सकिएको छ । विनोद मानन्धर र करिश्मा मानन्धरले निर्माण गरेको यो फिल्मलाई काठमाण्डू र विरगञ्ज आसपासमा खिचिएको हो ।
Faaguफिल्म ‘बाबु साहेब’ निर्माण गरेको मानन्धर दम्पती विरगञ्जबाट छायांकन सकाएर मंगलबार राती राजधानी फर्किएका हुन् ।  कस्तो रहेछ त काम गर्ने अहिलेको शैली ? निर्माता विनोद मानन्धरले सुरुमा प्रविधिकै कुरा गरे । उनले भने, ‘रिलमा खिच्दा समय लाग्थ्यो । अहिले डिजिटल प्रविधिमा काम गर्दा छिटो भए जस्तो लाग्यो ।’ कलाकार र प्राविधिकको समय मिलाउँन भने आफुलाई निकै अप्ठ्यारो परेको अनुभव निर्माता मानन्धरले सुनाए ।

यता सदावहार अभिनेत्री करिश्मा मानन्धरलाई पनि फिल्म खिच्न पहिला भन्दा अहिले सजिलो लागेछ । करिश्माले सुनाइन्, ‘पहिला त टिम नै ठूलो हुन्थ्यो । अहिले त थोरैले पनि धेरै काम गर्न सकिदो रहेछ ।’ आफ्नो ब्यानरका अघिल्ला फिल्महरु निर्माण गर्दा तीन जना समेत प्रोडक्सन म्यानेजर राखेकी करिश्माले फिल्म ‘फागु’ को छायाँकन भने प्रोडक्सन म्यानेजर बिनै सकाइन् । करिश्माले भनिन्, ‘हामी घरकैले सबै काम गर्यौं । म आफैं पनि खटें ।’

आउँदो सातादेखि पोष्ट प्रोडक्सनमा आउने फिल्म ‘फागु’ लाई विनोद र करिश्माले उचित मिति पारेर यसै वर्ष प्रदर्शनमा ल्याउने लक्ष्य राखेका छन् । मानन्धर दम्पतीले फिल्मको प्रदर्शन मिति बारे भने, ‘राम्रो मिति पारेर ‘फागु’ लाई प्रदर्शनमा ल्याउँछौं । तीज या दशैंमा प्रदर्शन गर्ने कुरा हुँदैछ । तर, दशैंसम्म कुर्दैनौं होला ।’

फिल्म निर्माणमा आएको बाढीसँगै निर्माताले घरेलु फिल्मसँगै प्रतिस्पर्धा गर्नु परिरहेको अवस्था छ । यो ताजा अवस्थाबाट मानन्धर दम्पती पनि बेखबर छैनन् । त्यसैले उनीहरु फिल्म ‘फागु’ लाई उचित मितिमा व्यापक प्रचार प्रसार सहित प्रदर्शन गर्ने मनस्थितिमा छन् । दुवै भन्छन्, ‘अहिलेको बजारलाई बुझेर फिल्मको प्रचार गरी प्रदर्शनमा ल्याउँछौं ।’

 

प्रतिक्रिया दिनुहोस्