नाम जुराउनै कठिन



–अनिल यादव
नाटककार सेक्सपियरले भनेका थिए, ‘नाममा त्यस्तो के राखेको छ ?’ तर, नेपाली फिल्मकर्मी ठान्छन्, ‘जे छ, नाममै छ ।’ त्यसैले एउटा फिल्मको नाम जुराउन उनीहरू तीन महिनासम्म लगाउँछन् । तर, नामका लागि यत्रो समय र श्रम खर्च गर्नेहरू ‘वर्कसप’, ‘रिसर्च’ जस्ता फिल्म निर्माणका प्रक्रियामा भने एक घण्टा पनि खर्च गर्दैनन् ।

नेपाली फिल्मका निर्माताका लागि फिल्मको नाम राख्नु टाउको दुखाइको विषय बन्ने गरेको छ । आकर्षक, ‘क्याची’ र बिकाउ नामका लागि उनीहरू धेरै समय मात्र लाउँदैनन्, ज्योतिषको साहारा समेत लिने गर्छन् ।

hawaldarनेपाली फिल्म क्षेत्रमा ‘बा’ भनेर चिनिएका निर्माता छविराज ओझा फिल्मको नामलाई विशेष महत्व दिन्छन् । हरेक फिल्मको नाम जुराउनुअघि उनी ज्योतिषको सल्लाह लिन्छन् । दर्शकलाई हलसम्म तान्न फिल्मको नामले ठूलो प्रभाव पार्ने उनको बुझाइ छ । ‘म त हरेक फिल्मको नाम पक्का गर्नुभन्दा अगाडि ज्योतिषलाई भेट्छु,’ उनले भने, ‘सुरुमा कलाकार र निर्देशकको राशिफलको आधारमा अक्षर छनोट गर्न लगाउँछु । अनि सोही अक्षरबाट शब्दकोश पल्टाएर कथासुहाउँदो नाम राख्छु ।’

मन खाने, कथा सुहाउँदो र दर्शकले रुचाउने खालको नाम राख्न निकै गाह्रो हुने उनको अनुभव छ । ‘गएको कात्तिकमा रिलिज भएको मेरो फिल्म ‘लज्जा’ को नाम जुराउन मात्र तीनचार महिना लाग्यो,’ ओझाले भने । आउने चैत २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हवल्दार सुन्तली’ को नाम जुराउन पनि छविलाई त्यस्तै समय लागेको थियो ।

‘सुन्तली धामीको कथामा हामीले फिल्म बनाउँदै थियौँ, त्यसैले नाम पनि ‘सुन्तली’ नै राख्ने सोचेका थियौँ, तर यो नाम दर्ता भइसकेको थियो,’ उनले भने, ‘सोच्दै जाँदा र ज्योतिषले पनि ‘ह’ बाट नाम राख्दा राम्रो हुन्छ भनेपछि ‘हवल्दार सुन्तली’ फाइनल भएको हो ।’ ज्योतिषको सल्लाहअनुसार काम गर्दा ९० प्रतिशत काम सफल भएकाले पनि ज्योतिषको भरपर्न नछाडेको समेत उनले बताए ।

छवि मात्र होइनन्, अधिकांश निर्माता र निर्देशक ‘नाम’ मा विश्वास गर्छन् । झट्ट सुन्दा आकर्षक र सम्झनयोग्य ‘नाम’ भयो भने त्यसले दर्शकलाई हलसम्म तान्नसक्ने बुझाइ उनीहरूको छ । त्यसैले नामका लागि निकै सोच्ने र समय खर्चिने गरिन्छ ।

लगातार फिल्म ‘नाइँ नभन्नू ल’ को सिरिज बनाइरहेका निर्माता तथा निर्देशक विकास आचार्य भन्छन्, ‘नाममा आकर्षण छ । दर्शकलाई हलसम्म तान्न गीतसँगै नामको
Hostel Returnsपनि भूमिका अहम् हुन्छ । त्यसैले पहिला म फिल्मको नाम राम्रो जुराउँछु । अनि मात्र ‘स्क्रिप्ट’ तिर लाग्छु ।’ ‘नाइँ नभन्नू ल’ नाम पनि यसैगरी जुराएको उनले बताए । ज्योतिष विज्ञानमा विश्वास गर्ने उनी यस फिल्मको नाम जुराउन भने ज्योतिषको भर परेनन् ।

सुपरहिट फिल्महरू ‘सायद’ र ‘होस्टेल’ हुँदै अहिले ‘होस्टेल रिटन्र्स’ सम्म आइपुगेका निर्माता सुनील रावलको सोच भने यो मामिलामा अलि भिन्न छ । आफू ज्योतिषमा भन्दा कर्ममा विश्वास गर्ने बताउने उनी फाइदाजनक नाम खोज्ने बताउँछन् ।

‘सुरुमा स्क्रिप्ट लेखाउँछु,’ उनी भन्छन्, ‘त्यसपछि राम्रो ‘इन्पुट’ दिने र दर्शक लोभ्याउने खालको नाम राख्ने गर्छु ।’ ‘सायद’ नाम जुराउँदा उनले डेढ महिना समय लगाएको समेत सुनाए । ‘पहिले ‘निराग’ जुराएको थिएँ,’ उनी भन्छन्, ‘तर, धेरै सोचेपछि ‘सायद’ फाइनल गरियो ।’

सफल र पुराना निर्माताका रूपमा चिनिएका केशव भट्टराई नाम राम्रो लाग्यो भने फिल्म हेर्ने नेपाली दर्शकको बानी भएको बताउँछन् । ‘आफ्नो मान्छे’, ‘पाहुना’, ‘कर्मयोद्धा’, ‘देवरबाबु’ र ‘छोडी गए पाप लाग्ला’ जस्ता सफल फिल्म निर्माण गरिसकेका भट्टराई दर्शकले बुझ्ने र ‘टिपिकल’ नाम राख्यो भने फिल्म चल्नमा सघाउ पुग्ने बताउँछन् । ‘अपवादका रूपमा दर्शकले नबुझ्ने केही त्यस्ता नामहरू पनि चलेका छन्, तर प्रायः नेपाली हिट फिल्मका नाम सुन्दा आकर्षक र टिपिकल नै लाग्छन्,’ उनी भन्छन् । ‘छोडी गए पाप लाग्ला’ भन्ने फिल्मको नाम जुराउन निकै गाह्रो भएको उनको अनुभव छ । ‘दुई महिना लागेपछि मात्र नाम जुरेको थियो,’ उनी सम्झन्छन् ।

अक्षरमा विश्वास

निर्देशक आकाश अधिकारी पनि फिल्मको ‘नाम’ ले दर्शक तान्ने कुरामा सहमत छन् । पृथक् र आकर्षक नाम राख्न रुचाउने उनी ज्योतिषमा भर पर्दैनन् तर अक्षरमा भने विश्वास राख्छन् । उनलाई नेपाली अक्षर ‘क’ र अंग्रेजीमा ‘के, टी’ बाट सुरु भएका नाम मन पर्छन् । ‘क्रोध’, ‘काठमान्डू’, ‘कोहिनुर’लगायत फिल्म सफल भएपछि उनको ‘क’प्रतिको विश्वास अझ बढेको छ । उनले ‘क’ बाटै सुरु भएको नाम ‘के म तिम्रो होइन र’ मा फिल्म बनाउने सोचेका थिए तर अर्कैले दर्ता गरेपछि अहिले उनी यस्तै कथा सुहाउँदो नामको खोजीमा छन् ।

cha ekan cha‘नामका लागि पहिला–पहिला नेपाली फिल्ममा धार्मिक, सामाजिक, राजनीतिक र मायाप्रेमका शब्द प्रयोग गरिन्थ्यो,’ सुपरहिट फिल्म ‘६ एकान ६’ की निर्मात्री दीपाश्री निरौला भन्छिन्, ‘तर, अहिले अंग्रेजी र हिन्दी शब्द हाबी भएका देखिन्छन् ।’ उनी नेपाली फिल्ममा नामको खाँचो देखिएको बताउँछिन् ।

‘६ एकान ६ गाउँघरमा प्रयोग भइरहने टिपिकल नेपाली शब्द रहेको र कथासँग सुहाउने भएकाले राखेका थियौ,’ उनी भन्छिन्, ‘हाम्रो फिल्ममा छजना हिरो थिए, जो एउटी हिरोइनप्रति आशक्त थिए । कथासँग मिल्दोजुल्दो नाम राख्न खोज्दा तीनचार महिना लाग्यो,’ उनी सम्झन्छिन् ।

दीपाश्री प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वडा नम्बर ६’ को समेत निर्मात्री हुन् । उनले ‘६’ लाई किन दोहो¥याइन् त ? ‘६ ले सकारात्मक भावना जगाउँछ,’ उनी भन्छिन्, ‘अर्को कुरा फिल्मको स्क्रिप्टसँग पनि यो मिल्ने भएर हो ।’

‘आई एम सरी’ र ‘नोभेम्बर रेन’ अंग्रेजी शब्दबाट बनेका नेपाली फिल्मका नाम हुन् । यी दुवै फिल्मका निर्देशक दिनेश राउत अब अंग्रेजी नाम ‘क्लासिक’ लिएर फिल्म बनाउने तयारीमा छन् । ‘कथासँग मिल्दोजुल्दो नाम खोज्ने क्रममा संयोगले मेरा फिल्मका नामहरू अंग्रेजी हुन पुगेका छन्,’ उनी भन्छन्, ‘तर, अंगे्रजी नाम हुँदैमा दर्शक हलसम्म जान्छन् भन्ने चाहिँ पटक्कै होइन । यसका लागि त कथा र सिंगो फिल्म नै राम्रो हुनुपर्छ ।’

film namesस्क्रिप्ट तयार, नामको टुंगो छैन
स्क्रिप्ट राइटर तथा निर्देशक दिनेशराज शर्माले एउटा फिल्मको स्क्रिप्ट तयार पारेको दुई महिनाभन्दा बढी बितिसक्यो । उनले त्यो फिल्म निर्माण गर्ने निर्मातासमेत पाइसके । तर, फिल्मको कथा सुहाउँदो र चित्तबुझ्दो नाम अहिलेसम्म उनले फुराएका छैनन् । ‘यही कारणले चलचित्र विकास बोर्डमा फिल्मलाई दर्ता गर्न पाएको छैन,’ उनी भन्छन् ।

नाम हेरेर वितरण
प्रदर्शनको तयारीमा रहेको फिल्म ‘साइकल’ का निर्माता राजेन्द्र श्रेष्ठ फिल्म सफल हुनका लागि नाम र कथा दुवै राम्रो हुनुपर्ने बताउँछन् । ‘मैले स्क्रिप्ट र नाम मन पराएरै फिल्म बनाएको हो,’ उनी भन्छन् । तर, उनले रोजेको यही नाम वितरकलाई भने मन परेको छैन । ‘वितरकले नाम राम्रो भएन भन्दै परिवर्तन गर्न दबाब दिइरहेका छन्, तर मैले मानेको छैन,’ उनी भन्छन् ।

व्यस्त वितरकका रूपमा चिनिएका गोपाल कायस्थ फिल्मको नाम दर्शकका लागि पहिलो आकर्षण रहेको बताउँछन् । ‘कतिपय नेपाली दर्शक नाममा समेत भर पर्छन्,’ उनको तर्क छ, ‘त्यसैले नाम दमदार हुनुपर्छ ।’

फिल्म वितरणको जिम्मा लिनुअघि नामलाई समेत ख्याल गर्ने गरेको उनी बताउँछन् । ‘अहिले दुई फिल्म ‘सपना तिम्रो मेरो’ र ‘कामचोर’ वितरणका लागि मलाई भनिरहेका छन्,’ उनी भन्छन्, ‘तर, नाम नै राम्रो नलागेर म भागिरहेको छु ।’

वितरक कायस्थले हालै फिल्म ‘लुटेरा’ निर्माण गरिरहेका छन् । ‘यही नाम जुराउन मलाई निकै गाह्रो प¥यो,’ उनी भन्छन्, ‘‘अदालत’ नाम राख्ने पनि सोचियो तर अलि आकर्षक र बिकाउ नसुनिएपछि ‘लुटेरा’ राखेका हौँ ।’

ज्योतिषको सहारा

युवा ज्योतिष हरिहर अधिकारी फिल्मको नाम राख्नेदेखि लिएर ‘कलर कम्बिनेसन’, ‘रिलिज मिति’, ‘छायांकन मिति’, ‘गीत रिलिज मिति’ लगायतका लागि समेत निर्माता र निर्देशक आफूकहाँ आउने गरेका बताउँछन् । ‘फर्म भरेर जान्छन्, अनि पालोअनुसार १०–१२ दिनसम्म पर्खिएर भए पनि सुझाव लिन्छन्,’ उनी भन्छन् । अक्षर र अंकविज्ञानका आधारमा उनले सल्लाह दिने गरेका छन् । उनी सम्झन्छन्, ‘‘चंखे शंखे पंखे’, ‘चपली हाइट’, ‘भिसा गर्ल’, ‘ताण्डव’, ‘तथास्तु’, ‘ग्याङस्टर ब्लुज’, ‘सम्बोधन’ लगायत फिल्मका टिम मकहाँ आउनुभएको थियो । मैले नामलगायत विभिन्न विषयमा सल्लाह दिएको थिएँ ।’

साभार– शुक्रबार साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्