डाँवाडोल फिल्म क्षेत्र



–अनिल
२०७१ सालमा ७० जति नेपाली फिल्म रिलिज भए । तर, आधा दर्जनजति फिल्मले मात्र लगानी उठाउन सफल भए । यो अवस्थाबाट गुज्रिएको नेपाली फिल्ममा अघिल्लो शनिवार गएको महाभूकम्पले संकट थपिदिएको छ ।

भूकम्पले उपत्यकाका अधिकांश हलमा क्षति पु¥याइदिएको छ । चलचित्र विकास बोर्डले १५ दिनका लागि फिल्मसम्बन्धी सम्पूर्ण काम ठप्प गर्ने निर्णय गरेको छ । तर, १५ दिनपछि पनि उपत्यकाका कतिपय हल सञ्चालनमा आउने अवस्था छैन । महाविपत्को समयमा दर्शक हलमा नआउने डरले वैशाख र जेठमा रिलिज हुने भनिएका प्रतीक्षित फिल्मले मिति सारेका छन् । छायांकन भइरहेका फिल्महरू पनि रोकिएका छन् । ‘पोस्ट प्रोडक्सन’का काम पनि ठप्प छन् । IMG_1197वैशाख र जेठमा प्रदर्शन हुने भनिएका अधिकांश फिल्मले कम्तीमा तीन महिनासम्म फिल्म रिलिज नगर्ने देखिएको छ । ‘उपत्यकाका धेरै हलमा क्षति पुगेको छ, ती सञ्चालनमा आउन कम्तीमा एकदुई महिना लाग्न सक्छ,’ नेपाल चलचित्र संघका पूर्वमहासचिव प्रदिप कुमार उदय भन्छन्, ‘महाभूकम्पले नेपाली फिल्म क्षेत्रमा ठूलो असर पु¥याएको छ ।’

वैशाख १२ गते शनिवार काठमाडौँ, बौद्धका रोहन लामा फिल्म ‘रशेम फिलिली’ हेर्न सिद्धार्थ हल गएका थिए । साढे ११ बजेको शो हेर्न त्यहाँ पुगेका रोहन महाभूकम्पमा परे । भागाभागको स्थिति भयो । त्यही भीडमा रोहन पनि भाग्दै थिए । हलबाट बाहिर निस्कने सानो गल्लीको पर्खाल नै भत्कियो । उनी घाइते भए । हाल उपचाररत उनी अब छ महिनासम्म हल जाने मनस्थितिमा छैनन् । भन्छन्, ‘यस्तो होला भन्ने त कल्पनासम्म गरेको थिइनँ । अब त हल जानै डर लाग्छ । सायद छ महिनासम्म गइँदैन ।’

सिद्धार्थमा मात्र होइन, त्यो दिन देशैभरका हलमा भागाभागको अवस्था सिर्जना भएको थियो । त्यहाँ भने फर्कने गल्लीको कमजोर पर्खाल भत्किएपछि एकजनाले ज्यान गुमाए भने आधा दर्जन जति घाइते नै भएको प्रत्यक्षदर्शी तथा हलका कर्मचारी जनक गुरुङले बताए ।
IMG_1211त्यस दिनयता उपत्यकाका कुनै पनि हल सञ्चालनमा छैनन् । हलमा कोही दर्शक जाने अवस्था छैन । हल प्रदर्शक तथा वितरकहरूको संस्था नेपाल चलचित्र संघका महासचिव मधुसुदन प्रधान उपत्यकाका ७५ प्रतिशत हलमा भूकम्पले क्षति पु¥याएको बताउँछन् । उनका अनुसार सीटीसी मलको सिने द चिफ, केएल टावरको एफक्यूब, सिटी सेन्टरको बिग मुभिज, सिभिल मलको क्यूएफएक्स, राइजिङ मलको क्यूज, अष्टनारायण, गंगा, कलंकी, गुण सिनेमा बाराही, पुष्पाञ्जली, सिद्धार्थलगायत मल्टिप्लेक्ससहित ठूला–साना हलमा क्षति पुगेको छ । ‘कतै हलका भित्ता र सिलिङ चर्किएका छन् त कतै साउन्ड सिस्टम बिग्रिएको छ,’ उनले भने । इन्जिनियरलाई निरीक्षण गराएर मर्मत गरेपछि मात्र हलहरू सञ्चालनमा आउने उनले बताए । ‘अब पुनर्निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक बनाउन सबैलाई आग्रह गर्छौं,’ उनले भने ।

‘जालमा’ बोलको गीतका कारण प्रतीक्षित बनेको ‘रेशम फिलिली’ले प्रदर्शनको पहिलो दिन शुक्रवार ७२ लाखको व्यापार गरेको थियो । दोस्रो दिनको मर्निङ र ११ बजेको शो पनि प्रायः हाउसफुल नै थिए । भोलिपल्ट आएको महाभूकम्पले यसको रिलिज नै स्थगित भयो । वैशाख २५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘होस्टेल रिटन्र्स’ ले पनि फिल्मलाई अनिश्चित कालका लागि सारेको छ । भूकम्पले वैशाख १८ देखि प्रदर्शनमा आउन लागेका दुई फिल्म ‘धुन’ र ‘जन्मभूमि’, जेठ १ गतेको ‘चंखे शंखे पंखे’, ‘कामचोर’, जेठ ८ को ‘अधकट्टी’, जेठ १५ को ‘हाउ फन्नी’ सहित जेठ २२ को ‘भैरव’  सम्मको रिलिजलाई अन्योलग्रस्त बनाइदिएको छ । राजधानी बाहिरका हलहरू भने सञ्चालनमा आइसकेका छन् ।

महाभूकम्पको प्रभाव फिल्मको छायांकनमा समेत परेको छ । तोकिएको समयमा छायांकन नहुँदा फिल्मको पूर्वतयारीका लागि खर्चिएको समय र रकम नोक्सान हुने गर्छ । फिल्म ‘लुटेरा’, ‘ब्रासलेट’ लगायतको सुटिङ अहिले रोकिएको हो । छायांकनको तयारीमा रहेका छवि ओझाको ‘किस्मत २’, विकास आचार्यको ‘नाइँ नभन्नू ल ४’, रेखा थापाको ‘रामप्यारी’ लगायतको भविष्य पनि अनिश्चित बनेको छ ।

आर्यन सिग्देल र नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘क्लासिक’ को छायांकन पनि महाभूकम्पका कारण स्थगित भएको छ । फिल्म ‘लुटेरा’ को छायांकन पनि प्रभावित भएको छ ।
(साभार : शुक्रवार साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्