अवार्ड : पाउँदा स्वीकार, नपाउँदा बहिष्कार



award final-अनिल यादव
एक साताभन्दा अघि एनएफडीसी अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भयो । ०७१ सालमै निर्मित फिल्म ‘हिम्मतवाली’ त्यो अवार्डको कुनै पनि विधामा मनोनयनमा परेन । मनोनयन सार्वजनिक भएको केही दिनमै अमेरिकामा रहेकी अभिनेत्री रेखा थापाले नेपालमा हुने अवार्डलाई ‘कोठे’ को संज्ञा दिँदै ‘अब कुनै पनि अवार्डमा सहभागी नहुने’ घोषणा गरिन्, फेसबुकमार्फत ।
rekha status

श्रीकृष्ण श्रेष्ठ अभिनीत फिल्म ‘कोहिनुर’ एनएफडीसीको तीनवटा विधामा मनोनयनमा पर्यो । व्यापारिक रूपमा सफल यो फिल्मका निर्देशक मनोनयनमा परेनन् । निर्देशक आकाश अधिकारीले लगत्तै ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारको आश्चर्यजनक घोषणा’ भन्दै स्ट्याटस लेखे । आफ्नो फिल्मले अवार्डमा सहभागिता नै नजनाएको उनको आशय थियो । उनकै स्ट्याटसमा निर्देशक सविर श्रेष्ठले आफ्नो फिल्म ‘तथास्तु’ लाई पनि दर्ताका लागि अनुमति नदिएको प्रतिक्रिया राखे । पछि दुवैको आरोपको खण्डन गर्दै अवार्डका लागि दुवै फिल्मले भरेको दर्ता फारम सार्वजनिक भयो ।

अवार्डको मौसम छ अहिले । लगालग अवार्ड गर्ने तयारीमा जुटिरहेका छन्, आयोजकहरू । यति नै बेला नेपाली फिल्मनगरीमा तातै रहेका प्रसंग हुन् यी । यी दुई प्रसंगका कारण फिल्मसम्बन्धी आयोजना हुने अवार्डको निष्पक्षतामाथि नै प्रश्न उठ्न थालेको छ । तर, लामो समयदेखि विभिन्न अवार्डमा निर्णायकको भूमिका निर्वाह गर्दै आएका वरिष्ठ साउन्ड इन्जिनियर प्रदीप उपाध्याय मनोनयन सार्वजनिक भएपछि आउने यस्ता प्रतिक्रियालाई स्वाभाविक ठान्छन् । ‘विश्वकै चर्चित ओस्कर अवार्डमा पनि यस्ता गुनासा आउँछन् । तर, यो सब अरूले गरेको राम्रो काम, अरूको प्रतिभालाई स्विकार्न नसक्नुको परिणाम हो,’ उनी भन्छन्, ‘आफूले पाउँदा स्विकार्ने, नपाउँदा त्यही अवार्ड बहिष्कार गर्ने प्रवृत्ति हाबी छ । यो राम्रो संकेत होइन ।’ एनएफडीसी अवार्डका कार्यक्रम संयोजक दयाराम पाण्डे पनि उनीसँग सहमत छन् । भन्छन्, ‘हाम्रो मनोनयन सार्वजनिक भएलगत्तै विभिन्न आरोपहरू लागे । तर, आरोप लगाउने र मनोनयनमा नपर्नेहरू फिल्मका निर्माता र निर्देशक नै भए । आफूले पाउँदा अवार्ड स्विकार्ने, नपाउँदा बहिष्कार गर्ने परिपाटीकै निरन्तरता भयो ।’

award thapdaiफिल्म नै दर्ता नगरी अवार्डमा सहभागी गराइएको आरोपबारे पाण्डेले भने, ‘‘कोहिनुर’ फिल्म स्वर्गीय श्रीकृष्ण श्रेष्ठ स्वयंले दर्ता गराउनुभएको थियो । निर्देशक सविर श्रेष्ठ स्वयंले ‘तथास्तु’ का लागि फारम भर्नुभएको थियो । त्यसैले आरोपको कुनै तुक छैन् । मनोनयनमा आफ्नो नाम नपर्दा उहाँहरूको चित्त दुखेको हुन सक्छ ।’ तर, ‘तथास्तु’ निर्देशक सविर श्रेष्ठले आफूलाई समाचारका लागि भनेर फारम भर्न लगाइएको बताउँछन् । ‘मैले कुनै पनि अवार्डमा भाग नलिने भनेर ‘तथास्तु’को सुटिङताका नै घोषणा गरेको हुँ,’ उनी भन्छन्, ‘मेरो फिल्म अवार्ड जित्न लायक छैन । त्यसैले भाग नलिएको हुँ । म अरूलाई दोष लगाउन चाहन्नँ ।’ यता, ‘कोहिनुर’ का निर्माता चन्द्र शर्माले विज्ञप्ति नै जारी गरेर एनएफडीसी अवार्डबाट बहिरिएको घोषणा गरेका छन् ।

क्रिटिक्स अवार्ड प्रदान गर्दै आएको चलचित्र समीक्षक समाजका अध्यक्ष यज्ञश अवार्डका लागि फिल्म दर्ता गर्नुपर्ने प्रक्रियालाई त्यति ठीक ठान्दैनन् । ‘अवार्ड लिनु/दिनु आ–आफ्नो अधिकारको कुरा हो,’ उनी भन्छन्, ‘तर, फिल्मको मूल्यांकन हुन पाउनुपर्छ ।’ उनी विश्वका ठूला अवार्ड ओस्कर र कान्सको उदाहरण दिन्छन् । भन्छन्, ‘यी अवार्डमा निर्मातासँग साक्षात्कार हुनु पर्दैन । प्रर्दशन भएका फिल्म स्वतः प्रतिस्पर्धामा हुन्छन् । तर, छिमेकी मुलुक भारतमा दर्ता गर्ने ट्रेन्ड छ । यसलाई नेपालमा अनुसरण गरिएको छ ।’

rekha thapaअभिनेत्री रेखा थापाले वर्षका सर्वाधिक हिट फिल्महरू प्रतिस्पर्धामा नआउनु र सच्चा कलाकार, निर्माता, निर्देशक र प्राविधिकलाई अपमान गर्ने गरी अवार्ड प्रदान गरिएका कारण अवार्ड बहिष्कार गरेको बताएकी छिन् । कामका आधारमा अवार्ड वितरण गर्न उनले आग्रहसमेत गरेकी छिन् । तर, छायाछवि क्रिएसनले आयोजना गर्दै आएको डी सिने अवार्डका अध्यक्ष शान्तिप्रिय रेखाको भनाइले चकित छन् । भन्छन्, ‘उहाँले हामीबाटै चारपाँचपटक अवार्ड थापिसक्नुभएको छ । अब उहाँलाई अवार्डले पुग्यो होला । त्यही भएर बहिष्कार गर्नुभएको हुनसक्छ ।’ आफूले अवार्ड नपाउँदा विरोध गर्ने कलाकारको प्रवृत्ति नयाँ नभएको शान्तिप्रियको ठहर छ । ‘निर्णायकले शतप्रतिशत राम्रो निर्णय गर्छन् भन्ने विश्वभर हुँदैन,’ उनी भन्छन्, ‘हरेकका दृष्टिकोण बेग्लाबेग्लै हुन्छन् । तर, हामीले सकेसम्म निष्पक्ष नतिजा निकाल्ने प्रयास गर्छौं । त्यसो गर्दा कसैको चित्त दुख्नु स्वाभाविक हो । तर, अर्काको सम्मानलाई स्विकार्न नसक्नु राम्रो व्यवहार होइन ।’

चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘नेफ्टा अवार्ड’ का अध्यक्ष मनोज केसी पनि अवार्ड नपाएपछि चित्त दुखाउने प्रवृत्ति आम भएको बताउँछन् । भन्छन्, ‘सुरुमा मिल्ने तर अवार्ड नपाएपछि ‘नेफ्टा चोर हो’ भन्दै हिँड्ने नायिका पनि हामीकहाँ छन्,’ उनी भन्छन् ।

बक्सअफिस फिल्म अवार्डका अध्यक्ष आरके सुवेदी पनि कलाकारको कुरा व्यवहारमा लागू नहुने बताउँछन् । ‘हामीकहाँ सबै फिल्म दर्ता भएका छन्,’ उनी भन्छन्, ‘रेखाको ‘हिम्मतवाली’ पनि दर्ता छ । दर्ता भएका फिल्मले बहिष्कार नगर्नुपर्ने हो । यदि मनोनयनमा आफ्नो नाम नअटाएपछि त्यसो गर्छन् भने त्यो राम्रो होइन ।’ आफूले पाउँदा स्विकार्ने, नपाउँदा त्यही अवार्डलाई गाली गर्ने नेपाली कलाकारको प्रवृत्ति सुध्रिनुपर्ने उनी बताउँछन् । भन्छन्, ‘बलिउडमा एउटाले पाउँदा अर्काले ताली पड्काउँछ । हामीकहाँ बहिष्कार गर्छन्, अवार्डमा आउँदैनन् । नेपालमा अवार्ड गर्न लायक फिल्म, कलाकार र आयोजक नै छनन् । मैले त सुरु गरिहालेँ भनेर निरन्तरतामात्र दिइरहेको छु ।’

‘फिल्म निर्माताको मात्र हुनु हुन्न’
एनएफडीसी अवार्डको मनोनयन सार्वजनिक हुँदा उत्कृष्ट पाँच छायाकारका रूपमा फिल्म ‘कोहिनुर’ बाट राजु थापा पनि परे । तर, निर्माताले अवार्डबाटै बाहिरिने बताएपछि उनको मनोनयनको कुनै अर्थ भएन । ‘हामीकहाँ फिल्म भनेकै निर्माताको हो र अवार्डमा सहभागी गराउने÷नगराउने भन्ने कुरा उनीहरूमा निर्भर छ,’ थापा भन्छन्, ‘जबसम्म यो सिस्टम छ, तबसम्म हामीले केही बोल्न मिल्दैन । हाम्रो प्रतिभा प्रतिस्पर्धामा लाने÷नलाने भन्ने कुरा निर्मातामा निर्भर रहुन्जेल फिल्मभित्र काम गर्ने कलाकार, प्राविधिक कसैको औचित्य नहुँदो हेछ ।’

वरिष्ठ फिल्म प्राविधिक प्रदीप उपाध्याय निर्मातामात्र फिल्मको हकदार नभएको बताउँछन् । भन्छन्, ‘फिल्म एउटा टिमका कारण बन्छ । ती टिममा काम गर्ने सबै फिल्मका सदस्य हुन् । त्यसैले आफ्नो फिल्म मनोनयनमा परेन भन्दैमा प्राविधिकप्रतिको सम्मानलाई बेवास्ता गर्नु हुन्न । फिल्म निर्माताको मात्र हुनु हुन्न ।’ तर, यस विषयमा भने फिल्म प्राविधिक संघले कतै अवाज उठाएको सुनिँदैन ।

‘मोलमोलाइ पनि हुन्छ’
धेरैजसो अवार्डमा निर्णायकको भूमिकामा देखिइसकेका प्रदीप उपाध्याय अवार्डका लागि मोलमोलाइ पनि हुने गरेको स्विकार्छन् । ‘पैसा लिएर अवार्ड दिनेहरू पनि हुन्छन्,’ उनी भन्छन्, ‘गलत मान्छे, गलत ढंगले पनि पुरस्कृत भइरहेको छ । तर, त्यो अवार्ड गर्ने संस्थाको उद्देश्यमा भर पर्छ । कोही सम्मान र प्रतिष्ठाका लागि गर्छन्, कोही चर्चाका लागि त कोही पैसा कमाउनका लागि पनि गर्छन् ।’ उनले अवार्डका निर्णायकलाई अनावश्यक दबाब हुने कुरा पनि स्विकार्छन् ।

‘अवार्डको व्यापारसँग मतलब हुँदैन’
श्रीकृष्ण श्रेष्ठको निधन भएसँगै फिल्म ‘कोहिनुर’ हेर्नेको हलमा ओइरो लागेको थियो । फलस्वरूप नेपालमा मात्र फिल्मले १२ करोड रुपैयाँको व्यापार ग¥यो । तर, यो फिल्म नै एनएफडीसी अवार्डको उत्कृष्ट पाँच मनोनयनको तीन विधामा मात्र परेपछि विभिन्न खाले चर्चा भए । ‘अवार्ड व्यापारसँग जोडिएको कुरा होइन,’ उपाध्याय भन्छन्, ‘जुन फिल्मले धेरै कमायो, त्यही फिल्मलाई अवार्ड दिनलाई जुरी आवश्यक हुन्न । फिल्मभित्रको ‘कन्टेन्ट’ लाई मूल्यांकन गर्न जुरी राखिने हुन् ।’ डी सिने अवार्डका शान्तिप्रिय अवार्ड आयोजनाको प्रवृत्ति समीक्षात्मक हो भने त्यसमा व्यापारको मतलब नहुने बताउँछन् । ‘अवार्डमा कुन फिल्मले कति व्यापार गर्यो भन्ने कुराको लेखाजोखा भन्दा पनि कुन फिल्म समीक्षात्मक हिसाबले राम्रो छ भन्ने कुराले महत्व राख्छ,’ उनी भन्छन् ।

चलचित्र समीक्षक समाजका अध्यक्ष यज्ञश आयोजनाको उद्देश्यअनुसार अवार्ड फरक हुने बताउँछन् । ‘कुनै अवार्ड व्यापारसँगै जोडेर दिइएका हुन्छन् भने कुनै फिल्मलाई हेरेर,’ उनी भन्छन्, ‘तर, हिट फिल्मलाई दिइने अवार्डलाई विश्वमा गतिलो मानिँदैन । विशेष गरी यो ट्रेन्ड भारतमा छ ।’ फिल्मले गरेको बिजनेसलाई आधार मानेर दिइने अवार्डको विश्वसनीयता बलियो नहुने यज्ञश बताउँछन् । ‘फिल्म भनेको आर्ट पनि हो, साहित्य पनि हो भन्ने बुझ्नु आवश्यक छ,’ उनी भन्छन् ।

‘अवार्ड विश्वसनीय हुनुपर्छ’
yagyas dai
यज्ञश
अध्यक्ष, चलचित्र समीक्षक समाज नेपाल

अवार्ड भनेको निष्ठा र योग्यताका आधारमा दिइने सम्मान हो । विश्वको जुनसुकै अवार्डको पनि उद्देश्य हुन्छ । फिल्मको अवार्ड पनि त्यही नै हो । अवार्डको उद्देश्यअनुसार त्यसको मापदण्ड तय गरिएको हुन्छ । मापदण्ड र जुरीको गाइडमा नै अवार्ड कसलाई दिने भन्ने फैसला हुने हो । अवार्डमा स्वीकार र बहिष्कार दुवै हुन्छन् । चित्त नबुझ्दा अवार्ड बहिष्कार गर्नु विश्वमै सामान्य भइसकेको छ । त्यो आ–आफ्नो अधिकारको कुरा हो । यो कुरा अवार्ड आयोजकको विश्वसनीयतामा पनि निर्भर गर्छ । कुनै अवार्ड व्यापारमा निर्भर भएर पनि गरिन्छ । कुनै चाहिँ फिल्मलाई हेरेर गरिन्छ ।
अवार्ड विश्वसनीय हुनुपर्छ । नेपालको सन्दर्भमा अवार्डले मौलिक स्वाद बोकेको नेपाली फिल्मलाई त्यति प्राथमिकता नदिएको पाइन्छ । हामीकहाँ अवार्डले त्यस्तो फिल्मलाई पनि प्राथमिकता दिने गर्छ, जसको अरू कुनै भाषामा उल्था गर्दा त्यो नेपाली फिल्म हो भन्ने महसुस हुँदैन ।
विश्वका ठूला अवार्डमध्ये ओस्कर र कान्स पर्छन् । जहाँ अवार्डका लागि निर्मातासँग कुनै साक्षात्कार हुनु पर्दैन । प्रर्दशनमा आएका फिल्म स्वतः प्रतिस्पर्धामा पर्छन् । तर, भारतमा निर्माताले फिल्म दर्ता गर्नुपर्ने ट्रेन्ड छ, जसको अनुसरण नेपालमा पनि भएको हो जस्तो लाग्छ ।
चलचित्र समीक्षक समाजले बर्सेनि दिँदै आएको ‘क्रिटिक्स अवार्ड’ मा हामी कुनै फिल्मको निर्मातासँग आवेदन माग्दैनौँ । वर्षभरि प्रर्दशन भएका फिल्म हेरेर उत्कृष्ट छान्छौँ । समीक्षक समाजका सदस्यहरू सबै यसका जुरी हुन्छन् । उनीहरूको भोटिङबाट उत्कृष्ट फिल्म छान्छौँ । हामी फिल्मलाई ‘आर्टिस्टिक वे’ बाट हेर्छौं । धुमधडाकाका साथ अवार्ड आयोजना पनि गर्दैनौँ । मात्र ‘समीक्षकहरूको नजरमा यो उत्कृष्ट हो है’ भन्ने घोषणा गर्छाैं । क्रिटिक्स अवार्डले फिल्मले गरेको व्यापारसँग सरोकार राख्दैन ।

साभार : शुक्रवार साप्ताहिक

 

प्रतिक्रिया दिनुहोस्