मेरो त जीवन नै भैँसी चराउँदै सुरु भएको हो : निखिल उप्रेती



कुनैवेला निखिल उप्रेतीको एक्सन नेपाली फिल्ममा खुबै बिक्थ्यो । तर, आफ्नो क्रेज बढीरहेकै बेला निखिल एकाएक हराएका थिए । चार वर्षपछि यिनै निखिल अभिनयमा फर्किएका छन् । त्यो पनि आफैले निर्माण र निर्देशन गरेको फिल्म ‘भैरव’ मार्फत । फिल्म यही भदौ ११ गतेबाट सार्वजनिक प्रर्दशनमा आउँदैछ । उनीसंग रंगखबरका लागि प्रकाश दाहालले गरेको रंगवार्ता :–
bhairav nikhil
चार बर्षपछि ‘कमब्याक’ हुनुहुँदैछ । पहिलेको जस्तो क्रेज नहोला भन्ने लागेको छैन् ?
मैले अहिले रेडियो, टेलिभिजन,पत्रपत्रिका,सुटिङको समयमा र अन्य प्रोगामबाट जुन किसिमको प्रतिक्रिया पाइरहेको छु, त्यसलाई मुल्यांकन गर्दा त घटेको जस्तो लाग्दैन् । सबैको माया नै पाइरहेको छु । मैले यो चार बर्षपनि फिल्ममा आफुलाई निखार्नको लागि नै छुट्याएको हुँ । यहि बिचमा म स्काइप ड्राइभर बने, प्यराग्लाइडिङ , ग्राफिक, एडिटिङ र फिल्म मेकिङको अन्य धेरै टेक्निक सिके । सिकेका कुराहरुलाई लिएर नै भैरवमा धेरै नयाँ प्रयोग पनि गरेको छुँ । अहिलेको निखिल पहिलेको भन्दा अझै निखारिएर र धेरै कुरा सिकेर नयाँ प्रयोगसहित आएकोले दर्शकले स्वीकार गर्नुहुन्छ र माया गर्नुहुन्छ भन्ने लागेको छ । फिल्मको प्रोमोबाट दर्शकको जुन माया पाइरहेको छु, त्यसलाई हेर्दापनि मेरो क्रेज घटेको छ जस्तो चाँही लागेको छैन् ।

फिल्म मेकिङको ‘टेक्निक’ सिकेर आएँ भन्नुभयो तर प्रोमोको डाइलगमै चोरीको आरोप लागेको छ नी ?
हो । यसमा म के स्पष्ट पार्न चाहन्छु भने ‘भैरव’ कुनैपनि बिदेशीको कथाबस्तु होइन । दर्शकले भोली फिल्म हेरिसकेपछि पनि चोरी भएको पाइयो भने मैले जवाफ दिनुपर्ने हुनसक्छ । त्यसैले म अहिले नै प्रष्ट पार्न चाहन्छु कि यो नितान्त नेपालकै कथाबस्तु हो । हो, केहि मात्रमा मेकिङको हिसाबले हामी बाहिरी चलचित्रबाट प्रभावित हुन्छौँ । प्रोमोमा एउटा डाइलग छ ‘हन्ड्रेट परसेन्ट मेन्टल’ । यो डाइलग दक्षिण भारतीय फिल्म ‘टेम्पर’बाट प्रभावित भएर राखेको हुँ । त्यो फिल्ममा “हन्ड्रेट परसेन्ट कनिङ”छ । हाम्रो फिल्मको पात्र ‘भैरव’ राष्ट्रप्रति समर्पित एक पागल क्यारेक्टर भएकाले त्यो फिल्मको डाइलगबाट प्रभावित भइ “हन्ड्रेट परसेन्ट मेन्टल” राखेको हुँ । कपी गरेको होइन ।

अभिनयबाट सिधा निर्माण/निर्देशनमा आउनुभयो , किन ?
खासमा अभिनय मेरो लागी एउटा घटना मात्र हो । ‘पिजंडा’ खेल्नुअघि म इण्डियामा डाइरेक्टरलाई ‘एसिस्ट’ गर्थे । केहि मुभिहरु गरिरहेको थिएँ । बिचैमा यहाँबाट मुभी खेल्ने अफर आएपछि मैले हुन्छ भने । पछि नेपाली दर्शकले मलाई हिरोको रुपमा स्विकारेपछि मात्र अभिनयमा स्थापित भएको हुँ । पहिले देखि नै मेरो मन अभिनयमा भन्दा निर्देशनमै थियो । त्यही भएर अहिले केही सिकेर निर्देशनमा प्रवेश गरेको हुँ ।
bhairav finalफिल्मभित्र देखाइएको तपाईको ‘सिक्सप्याक’  अहिले चर्चामा छ । ‘भैरव’ क्यारेक्टरलाई बलियो बनाउन कति गाह्रो भयो ?
‘भैरव’ को क्यारेक्टर बनाउँदा मैले पचास भन्दा बढी स्वदेशी/बिदेशी पुलिसको कथा भएको मुभी हेरे । त्यसमा कसरी पुलिसहरु प्रस्तुत भएका छन् र प्रस्तुत गराइएको छ भनेर अवलोकन गर्थे र आफ्नो क्यारेक्टरको बारेमा सोच्थे । बाँकी जीवनको अनुभव र अवलोकनबाट ‘भैरव’ क्यारेक्टर बनेको हो । ‘सिक्सप्याक’ भनेकोचाँही अहिले चलनचल्तीमा आएको मात्र हो । तर, फिल्म ‘पिजंडा’ को फुटेजहरु हेर्नुभयो भने त्यतिखेरै मेरो ‘सिक्सप्याक’ थियो । म त मार्सलआर्ट र जिम्न्यास्टिक दुवैको विद्याथी थिए । त्यही भएर मलाई त्यो सिक्सप्याक बनाउनु त्यती ठुलो कुरै थिएन र होइन पनि । जहिले शाररिक अभ्यास गरिरहेकै हुन्छु । ‘भैरव’ मा पुलिसको ‘क्यारेक्टर’ गर्न शरिरलाई केहि फिट राख्न अभ्यासलाई अझ शसक्त भने बनाए ।

भैरवमा दौडाएको भैँसीको पनि धेरै चर्चा छ । भैँसी दौडाउने कन्सेप्ट कहाँबाट आएको हो ?
मेरो त जीवन नै भैँसी चराउँदै सुरु भएको हो । काम गर्दे जाँदा सम्झना आयो । अनि सोचे, ‘यो प्रयोग त नेपाली फिल्म इन्ड्रस्टीमै नयाँ हुन्छ ।’ भयो पनि । अहिले भैँसीको चर्चा गज्जबले नै सुनिरहेको छुँ ।

तपाईकी हिरोइन अनु शाहले पब्लिसिटिमा सहयोग गरेको देखिँदैन् नि ?
त्यस्तो होइन । मैले उहाँलाई खुल्ला छोड्दिएको छु । उहाँको यहि बेलामा अरु नै काम परेकोले त्यसमा ब्यस्त हुनु भएको हो ।

तर, भैरवको ट्रेलरमा तपाई मात्र हावी भएकाले नायिकाले रिसाएर पब्लिसिटिमा सहयोग नगरेको भन्ने हल्ला छ त ?
होइन । ट्रेलरको कुरा चै यस्तो हो, ‘यो शुद्ध भैरवको कथा भएकाले भैरवलाई फोकस गरेको हो । यहाँ अनु जी मात्र होइन अरु राम्रा कलाकारलाई पनि फोकस गरिएको छैन ।’ अझ वितरक र हल संचालकले त पोस्टरमा पनि भैरवलाई नै फोकस गर्नु है भन्ने सल्लाह दिनुभएको छ । अनुजी को बाहिर यहि बेला अर्को काम परेको हो । रिसाएर पब्लिीसिटीमा सहयोग नगर्नुभएको होइन ।

अनि, तपाई र सञ्जिता लुइटेल त फिल्म ‘च्याम्पियन’ बाट सँगै कमब्याक हुने कुरा थियो । पछि अस्वीकार गर्नुभयो रे ?
अब म फिल्म गर्नको लागि गर्दिन । एकचोटी गर्ने कुरा चै चलेको हो । तर पछि ‘क्यान्सल’ भो । त्यसपछि म भैरवमा ब्यस्त भएँ ।

तर , फिल्म नगरीमा त आर्यन सिग्देलले छोडेको फिल्म भनेर तपाईले नगर्नु भएको भन्ने गाँइगुँइ चलेको छ ?
यो एकदम गलत हो । मलाई आर्यन मात्र होइन अरु कसैले छोडेको फिल्म भएर पनि केहि फरक पर्देन । म एउटा किसानको छोरो हुँ । मैले आफ्नो धरातल बिर्सेको छैन । कुन फिल्म गर्ने, कुन नगर्ने भन्ने कुरा मलाई फिल्मको कथा र पात्रले फरक पार्छ, कसैले छोडेको फिल्मले होइन ।

भैरव अरु ब्यवसायिक फिल्म जस्तै हो या यसमा केही फरक छ ?
बिल्कुल फरक छ । अहिले नेपालमा चलि आएको चलन के छ भने यति ठुलो बजेटको मुभी भनेर भनिन्छ तर स्क्रिनमा त्यो देखिदैन् । तर भैरव, स्क्रिनमै ठुलो बजेटको मुभी जस्तो लाग्छ । लगानी र मिहेनत दुवै देख्न पाइन्छ ।

निर्माण/निर्देशन र अभिनय तिनैवटा पक्ष समाल्दा गाह्रो भएन ?
गाह्रो त पर्छ नै । मेरो लागी यो एउटा चुनौति पनि हो । यसलाई मैले मिहेनतले पार गरेको छु । अब नतिजाको पर्खाइमा छु । राम्रो प्रतिक्रिया पाउँछु भन्ने आशा गरेको छु ।

अब भैरव पछि कस्तो मुभी गर्ने सोचमा हुनुहुन्छ ?
भैरव पछिचाँही एउटा लभस्टोरी कथालाई लिएर फिल्म बनाउँने सोचमा छुँ । तर कथा जस्तो भएपनि प्रस्तुती चै ‘भाइलेन्ट’ नै हुन्छ ।

अधिकांश स्थापित कलाकारहरु भटाभट अमेरीका उड्दैछन । तपाईको विचार के छ त ?
मैले अघि नै भनिसकेको छु ,म आफ्नो धरातल विर्सने मानिस होइन । म एउटा साधारण किसानको छोरो हुँ । मैले जे गर्नु पर्छ, नेपालमै गर्नुृपर्छ भन्ने लाग्छ । किनकी, अब म जति नै गरिब भएँपनि त्यो मेरो गाँउमा गएर हलो जोत्नु पर्देन । नेपाली दर्शकले मलाई त्यतीचाँही बनाइदिनु भएको छ । यति भइसकेपछि पनि मलाई किन चाहियो त्यत्रो धेरै सम्पत्ती ?

अन्त्यमा केही भन्नुहुन्छ नेपाली दर्शकलाई ?
विदेशी फिल्मसँग नेपाली फिल्मको तुलना नगरौ । यहाँ सिमित स्रोत साधनको प्रयोगबाट उत्कृष्टता प्रस्तुत गर्ने अभ्यास हुन्छ । बरु नेपाली सिनेमा हेर्ने सँस्कारको विकास गरौ । नेपाली फिल्मलाई माया गरौँ । सकेसम्म ‘भैरव’ हेर्न हलसम्म गइदिनुस् । राम्रो लागे प्रशंसा गरिदिनुस् नत्र गाली ।
Watch Trailer Here :-

प्रतिक्रिया दिनुहोस्