ब्यान्ड कर्नर : पूर्वाञ्चलमा रमाइरहेको ‘प्रलय’ ब्यान्ड



–अनिल यादव

झापा, झिलझिलेका निमा तामाङ सानैदेखि गिटार बजाउँदै गाउन भनेपछि हुरुक्कै हुन्थे । दूधेका सन्तोष लिम्बू पनि गिटार भनेपछि मरिहत्ते गर्थे । केर्खाका मनोज लिम्बूलाई ड्रम बजाउन पाए केही चाँहिदैन थियो । झिलझिलेकै सुमित गौतमलाई रिदम गिटार बजाउने सोख थियो ।

एउटै जिल्लावासी यी चारजना एक–अर्कामा ठोक्किन पुगे र उनीहरूको सहकार्यमा जन्मियो, ब्यान्ड ‘प्रलय’ । ०६४ सालमा स्थापना भएको ब्यान्डले पूर्वाञ्चलमा हुने विभिन्न कन्सर्टमा आफ्नो प्रस्तुति दिँदै आइरहेको छ । ब्यान्डको नामचाहिँ किन प्रलय ? ‘झापाको डुढामारीमा एउटा कन्सर्ट हुँदै थियो । हामी पनि प्रस्तुति दिँदै थियौँ । त्यतिञ्जेल हाम्रो ब्यान्डको कुनै पनि नाम थिएन । आयोजकले हामीलाई ब्यान्डको नाम के भन्ने भनेर सोधिरहेको थियो । स्टेज चढ्ने बेला भइसकेको थियो, दिमागमा कुनै चित्तबुझ्दो नाम आइरहेको थिएन,’ लिड गिटारिस्ट सन्तोष लिम्बूले रमाइलो किस्सा सुनाए, ‘त्यत्तिकै मलाई ‘‘सन् २०१२ मा पृथ्वीमा प्रलय आउँछ रे’ भन्ने हल्लाको याद आयो । र, कसो हामी संगीतको क्षेत्रमा एउटा हितकारी प्रलय ल्याउन नसकौँला भनेर ‘प्रलय’ नाम सिफारिस गरेँ । सबै सहमत भए । र, यो नाम राखियो ।’
pralaya band

यो ब्यान्डले पूर्वाञ्चलस्तरीय विभिन्न ब्यान्ड प्रतियोगितामा आफूलाई अब्बल सावित गरिसकेको छ । सन् २०१२ मा आयोजित ‘बिटिएम बिट कन्टेस्ट, सिजन सेकेन्ड’मा ब्यान्डले प्रथम स्थान हासिल गरेको थियो । ब्यान्डका ड्रमर मनोजले थुप्रै पटक ‘उत्कृष्ट ड्रमर’को उपाधि जितिसकेको बताए । बिटिएम बिट कन्टेस्टको सिजन वानमा ‘उत्कृष्ट ड्रमर’को उपाधि उचालेका उनले भने, ‘म ड्रम बजाएरै जीवन धान्न सकिन्छ भन्ने अठोटका साथ संगीत क्षेत्रमा लागेको छु । देशकै एउटा कुशल र चर्चित ड्रमरका रूपमा चिनिने लक्ष्य छ ।’

स्थापनाको आठ वर्ष भइसक्दा पनि यो ब्यान्डले आफ्नै एल्बम सार्वजनिक गरेको छैन् । ‘अहिलेसम्म अकाउस्टिक ब्यान्डका रूपमा प्रस्तुति दिइरहेका छौँ । तर, अब मूलधारका ब्यान्डझैँ अघि बढ्ने तयारीमा छौँ । यही वर्षमा एल्बम सार्वजनिक गर्ने योजना छ,’ ब्यान्डका गायक निमाले भने । ‘हामीले एल्बम ल्याउन हतार नगरेकै हो । हामी अर्काकै गीत गाएर आफूलाई तिखार्न चाहन्थ्यौँ । अब भने बेला भएको छ,’ ब्यान्ड व्यवस्थापकसमेत रहेका सुमितले भने ।

ब्यान्डले देशका चर्चित ब्यान्ड ‘मुक्ति एन्ड रिभाइबल’, ‘दी एक्स’ आदिसँग एउटै स्टेजमा कन्सर्ट गरिसकेको छ । ‘यस्ता चर्चित ब्यान्डसँग प्रस्तुति दिन पाउनु हाम्रा लागि भाग्यको कुरा थियो,’ निमाले भने ।

पूर्वमा बसेर ब्यान्ड चलाइरहेका यी चारैजना कसरी आफ्नो जीविकोपार्जन गरिरहेका छन् त ? ‘चर्चित नभइञ्जेलसम्म ब्यान्ड चलाएरै बाँच्न गाह्रो छ । त्यसैले हामी सबैले पार्ट टाइम पेशा अपनाएका छौँ,’ मनोजले भने । मनोज टेलर चलाउँदा रहेछन् । त्यस्तै, सन्तोष ‘मुभी एन्ड म्युजिक जोन’ नामक पसल चलाउँछन् । निमा होटल व्यवसाय गर्छन् र सुमित मार्केटिङ व्यवसाय ।
pralaya band jhapaब्यान्डलाई स्थानीय युवा र अग्रजहरूको साथ रहेको बताउँछन्, व्यवस्थापक सुमित । भन्छन्, ‘हामी पूर्वका विभिन्न होटल र रेस्टुरेन्टमा प्रस्तुति दिने गर्छौं । कहिलेकाहीँ अग्रज दाइहरूले नै ‘लाइभ’ प्रस्तुतिको कार्यक्रम तय गरेर हामीलाई बोलाउनुहुन्छ । यसरी नै ब्यान्डलाई धान्ने र सामग्री किन्ने पैसा जम्मा भइरहेको छ ।’

धेरै ब्यान्ड आर्थिक समस्याकै कारण बन्द भए । ‘प्रलय’ पनि बन्द हुने त होइन ? ‘हामी बेरोजगार हुँदा त ब्यान्ड बन्द भएन । अब त हामी सबैले आ–आफ्ना पेशा पनि सुरु गरेका छौँ । बन्द त हुनै सक्दैन । अब झन् व्यवस्थित भएर अघि बढ्छ ।’

यो ब्यान्ड खासगरी रक गीत गाउन मन पराउँछ । ‘रकमा पनि हामी सबै खालका स्वाद दिन रुचाउँछौँ । जस्तो, क्लासिकल, लोक र पप । हाम्रो आफ्नो गीत पनि यस्तै खालका हुनेछन्,’ निमाले भने । रकमा पनि हार्ड रकमा आफ्नो विशेष रुचि रहेको उनले बताए । ‘पहिले आफ्नो ठाउँमा चिनिने, अनिमात्र देशव्यापी चर्चा कमाउने हाम्रो चाहना छ,’ सन्तोषले भने, ‘त्यही भएर अहिलेसम्म पूर्वाञ्चल बाहिरका कार्यक्रममा हामी पुगेका छैनौँ ।’

ब्यान्डका सबै सदस्यले आफूहरूलाई संगीतमा लाग्न परिवारबाट सहयोग रहेको बताए । ‘संघर्ष त हरेक क्षेत्रमा गरिन्छ । यहाँ पनि गर्नुपर्छ । गरि नै रहेका छौँ । सानोमा दाइहरूको गिटार चोर्दै, गाली खाँदै भए पनि बजाइन्थ्यो,’ निमाले भने ।

(साभार : शुक्रवार साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्