एफडीको रिपोर्ट : ‘फन्को’को कमाई दुई दिनमा ५६ लाख



रंग खबर, काठमाण्डौं । शुक्रवारदेखि सार्वजनिक प्रर्दशनमा आएको फिल्म ‘फन्को’को दुई दिने व्यापारिक रिपोर्ट सार्वजनिक गरिएको छ । वितरक कम्पनी एफडीले ‘फन्का’ले २ दिनमा ५६ लाखको ग्रस कलेक्शन गरेको रिपोर्ट सार्वजनिक गरेको हो ।

फिल्मको व्यापारलाई पारदर्शी बनाउनुपर्छ भन्दै एफडीले शुक्रबार र शनिबारको व्यापार सार्वजनिक गरेको हो । २ दिन नै बिदा पर्दा पनि फिल्मको व्यापारमा फरक देखिएको छ । एफडीले दिएको जानकारी अनुसार माघ १ गते फिल्मले काठमाण्डौमा १५ लाख ६९ हजार ४ रुपैयाँ र काठमाण्डौ बाहिर १२ लाख ९१ हजार ७ सय ३८ रुपैयाँको व्यापार गरेको छ । पहिलो दिन फिल्मले देशभरबाट २८ लाख ६० हजार ७४२ रुपैयाँ कमाएको छ ।
fankoयस्तै, शनिबार फिल्मले काठमाण्डौमा १६ लाख ५५ हजार ४ सय २२ रुपैयाँ र काठमाणडौ बाहिर ११ लाख ११ हजार २ सय ५७ रुपैयाँको व्यापार गरेको छ । दोश्रो दिन फिल्मले देशभरबाट २७ लाख ६६ हजार ६ सय ६२ रुपैयाँको व्यापार गरेको बताइएको छ । काठमाण्डौमा १८ र काठमाण्डौ बाहिर ६५ वटा पर्दामा यो फिल्म रिलिज भएको वितरक कम्पनीले जानकारी दिएको छ । जसअनुसार २ दिनको बिदामा यो चलचित्रले ५६ लाख २७ हजार ४ सय ५ रुपैयाँको व्यापार गरेको एफडीका अध्यक्ष नरेन्द्र महर्जनले जानकारी दिए । आइतबार विद्यार्थीहरुको उपस्थिती हलमा रहेकाले पनि व्यापार राम्रो हुने अपेक्षा रहेको उनले बताए । आइतवारको रिपोर्ट सोमबारमात्र सार्वजनिक गरिने छ ।

सिंगल स्टेशनमा सोचे अनुसारका दर्शक हलसम्म नआएपनि मल्टिप्लेक्समा भने दर्शकको फ्लो राम्रो रहेको फिल्मको निर्माता समेत रहेको महर्जनले जानकारी दिएका छन् । यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, प्रियंका कार्की, केकी अधिकारी, अनुप बराल आदि कलाकार प्रमुख भुमिकामा छन् । फिल्मलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्