‘पैसाका बिटा पेलेर गायनमा आउनेहरुलाई देख्दा दुःख लाग्छ’



संगीत संवाद

लोक गायनमा जम्दै गरेकी सुर्खेत, मटेलाकी भावना जिसी पछिल्लो समय स्टेजमा व्यस्त छिन् । आधा दर्जनजति गीत रेकर्ड गरिसकेकी छिन् । खुमन अधिकारीसँगको उनको गत तीजको गीत ‘जाउँ हिँड माया’ हिट भयो । यस्तै, पछिल्लो समय विकासदर्पण जिसीसँगको कमेडी गीत ‘धोती न टोपी’ पनि चर्चित छ । पछिल्लो पटक किरणबाबु पुनसँगको ‘भेट्न मन लाइरनी’ लोकदोहोरी र भावनाको एकल लोकगीत ‘मेरो माइती देश’ पनि चर्चामै छ । आउँदो तीजका लागि पनि उनी नयाँ गीत ल्याउने तयारीमा छिन् । उनीसँग गणेश वलीले गरेको संगीत संवादः

गायनतिर कसरी लाग्नुभयो ?
गायन शोख बच्चैदेखिको हो । मभित्र लोकगीतप्रति गहिरो प्रेम छ । लोकगीत एकदमै सुनियो/गाइयो । गाउँटोल, हाटबजार, स्कुल जता प्रतियोगिता हुन्थ्यो, उतै धाउँथे । त्यस्ता प्रतियोगिताहरुमा मिल्ने सफलताले यतातिर लाग्न साहस जुट्यो । पढाईका क्रममा शहर छिरेपछि अग्रज कलाकारहरुको हौसला र परिवारको साथ–सहयोग पनि पाएँ ।

अहिलेसम्म कतिवटा गीत रेकर्ड गर्नुभयो ?
तीजको भाकासहित तीन वटा रेकर्ड गरेँ । गत तीजमा किरणबाबु पुनसँग ‘जाउँ हिँड माया’ गाएँ । त्यसप्रति स्रोता–दर्शक, शुभचिन्तकले देखाएको मायाले विकासदर्पण जिसीसँग मिलेर कमेडी लोकदोहोरी गाउन प्रेरित गर्यो । पछिल्लो पटक किरणबाबु पुनसँग गाएको ‘भेट्न मन लाइरनी’ बोलको लोकदोहोरी बजारमा आएको छ । यसको म्युजिक भिडियो बन्ने क्रममा छ ।
bhawana 2यो क्षेत्रमा प्रवेश गर्न कत्तिको गाह्रो रहेछ ?
फलामकै च्यरा जस्तो लाग्यो । परिवारबाट साथ पाउँथेन् भने म पनि यो क्षेत्रबाट पहिलो गीत गाउँदै पलायन भइसक्थेँ । प्रतिभा भएका नवआगन्तुकहरुलाई प्रोत्साहन गर्ने संस्कार यहाँ छैन् । नयाँ गला–कलालाई पनि चासो दिने स्रोता–दर्शकको मायाले मात्र हामी गायन क्षेत्रमा घस्रिँदै छौँ ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?
पढाईलाई टुंगोमा पुर्याउ भनेर लागेकी छु । समय मिलाएर केही स्टेज कार्यक्रम पनि भ्याइरहेकी छु । आफैँले पनि गाउँघरमा चलेका नयाँ, पूराना लोकभाका टिप्ने कोसिस गरिरहेकी हुन्छु ।

संगीत सिक्नुभएको छ ?
औपचारिक कक्षा लिएकी छैन । अहिलेसम्म आफै भित्रबाट जागेको उत्कंठाले यहाँसम्म आएँ । अब विस्तारै आत्मनिर्भर बन्न खोज्दैछु । औपचारिक रुपमै संगीत सिकेर यो क्षेत्रमा कस्सिने योजना छ ।

तपाईं आफूचाहिँ कस्ता गीतको स्रोता हो ?
रेडियो नेपालले बजाउने पूराना लोकभाका सुन्दै हुर्केकी हुँ । घरमा सुनेका भाका पखेरामा घाँस काट्न जाँदा गाउँथे । अहिले पनि नयाँ, पूराना लोकगीत र दोहोरी नै सुन्ने गर्छु । मलाई एकदमै मन परेको लोकगीत स्मृति पुनले गाएको ‘सरुमै रानी’ हो । नारायण रायमाझी, पशुपती शर्मा, बद्री पंगेनी, बिमाकुमारी दुरा, टिका पुन, विष्णु माझीलगायतले गाएका गीत सुन्न छुटाउँदिन ।

लोकको सुखदुःख बोल्ने लोकभावा समाप्त हुँदै गएका हुन् ?
लोकको मर्म बोल्ने भाका नै लोकभाका हो । समय अनुसार बदलिन सक्नुलाई गलत रुपमा बुझ्नु हुँदैन भन्ने लाग्छ । तर, यति भन्दैमा उच्छृंखल हुनु भनेको लोकभाकाको मर्ममाथिकै प्रहार हो । पूराना भाकालाई समयानुकूल परिमार्जन गर्दै जानु राम्रै हो ।

गाएरै बाँच्न सकिन्छ त ?
बाँच्ने मात्र होइन, कमाउन पनि सकिन्छ । तर, मेहनत, लगनशिलता र धैर्यता चाहिन्छ ।
bhawana gc
संगीत क्षेत्रको के कुराले चित्त दुख्छ ?
पैसाका बिटा पेलेर गायनमा आउनेहरुलाई देख्दा दुःख लाग्छ । नातावाद, कृपावाद हावी भएको सुन्दा चित्त दुख्छ । नयाँलाई हत्तपत्त अवसर दिइँदैन् । नवआगन्तुकको कला–गलाको क्षमता बुझेर हौस्याउने संस्कार विकास भए लोकभाका देशकै पहिचान बन्ने देखेकी छु ।
‘मेरो माईती देश’ गीत सुन्न यो लिंक क्लिक गर्नुस्

प्रतिक्रिया दिनुहोस्