बोर्ड अध्यक्ष योग्य दयाराम दाहाल सदस्यमा किन ?



रंगखबर, काठमाडौँ – मंसीर १२ गते सूचना तथा संचार मन्त्रालयले चलचित्र बिकास बोर्डको सदस्यमा वरिष्ठ निर्देशक दयाराम दाहाल र निर्माता/वितरक नरेन्द्र महर्जनलाई नियुक्ति गर्यो । केहि समयदेखि रिक्त पदमा मन्त्री गोकुल बाँस्कोटाले गरेको नियुक्तिसँगै यो विषयले चर्चा पायो ।

विशेष गरि नेपाली फिल्म क्षेत्रमा साढे तीन दशकदेखि योगदान पुर्याइरहेका वरिष्ठ निर्देशक दाहाललाई लिएर टिका-टिप्पणी सुरु भए । बोर्डको अध्यक्ष पदको लागि योग्य दाहाललाई किन सदस्य पदमा नियुक्ति गरियो ? दाहालले किन सजिलै सदस्य पद स्वीकारे ? लगायतका प्रश्नले यतिबेला दाहाललाई पच्याइरहेका छन् ।

बोर्ड नियुक्ति बारेका आएका असन्तुष्टिको जिज्ञासा मेटाउदै दाहाल भन्छन ‘अहिले बोर्डमा कामकाज शुन्य नै छ । राष्ट्रिय अवार्ड पनि २ वर्षदेखि वितरण गरिएको छैन । सबैको चासोको विषय बक्सअफिस सिस्टम पनि नाम मात्रको भएको छ । बाहिर बसेर शुन्यता हेर्नु भन्दा पनि, सानै पदबाट केहि गर्न सकियोस भन्ने हेतुले सदस्य पदमा नियुक्ति पत्र लिएको हुँ । उनले अगाडी थपे ‘अब ठप्प कामकाजलाई अगाडी बढाउने छौँ ।’

निक्कै समय पश्चात जोडिएको बक्सअफिस सिस्टमको बारेमा अहिले आलोचना भैरहेको छ । बक्सअफिस जोडिएको महिनौ वित्दा पनि सहि कार्यन्वयन नहुँदा अहिले ‘बक्स एकातिर सिस्टम एकातिर’ भन्ने शब्दले बक्सअफिस मजाक बन्दै गैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्