कलाकारको प्रस्तुतिसँगै ‘रग्वी विश्वकप ट्रफी’ प्रदर्शनी हुने



रंगखबर, काठमाडौँ – रग्वी वर्ल्ड कप टुर अन्तर्गतको नेपाल टुरमा दर्जन बढी कलाकारले प्रस्तुति दिने भएका छन् । मंसीर २२ गते टुँडिखेलमा वर्ल्ड कपको ट्रफी सार्वजनिक गरिने कार्यक्रमलाई ‘रग्वी फेस्टिभल तथा लाइभ म्युजिक’ नाम दिइएको छ ।

नेपाल रग्वी एसोसियसनले फेम नेपालसँगको सहकार्यमा आयोजना गर्ने कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, नितेश जंगकुँवर, स्वप्न सुमन, डिजे सुरेन, डीके कुइनलगायत दर्जन बढी कलाकारले (अनुमानित) २५ हजार बढी दर्शकलाई मनोरंजन दिनेछन ।

निशुल्क प्रवेश गराइने कार्यक्रमको संचालन सुभेक्षा खड्काले गर्नेछिन् । विहान १० बजेदेखि सुरु हुने कार्यक्रम साँझ ७ बजेसम्म चल्नेछ ।

विश्व रग्वीले आगामी डिसेम्बर ६ देखि १० तारिखसम्म नेपालमा ‘वेव एलिस विश्व रग्वीकप’ ल्याउने कार्य्रकम छ । नेपाल रग्वी संघको समन्वय र फेम नेपालको व्यवस्थापनमा देशका विभिन्न विश्व सम्पदा सुचिकृत स्थान र पर्यटकीय क्षेत्रमा विश्वकपको ट्रफी पुर्याइने कार्यक्रम तय छ ।

ट्रफीको नेपाल टुरले देशलाई संसारभर चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । काठमाडौँको सैनिकमंच टुँडिखेलमा रग्वी महोत्सवसँगै गरिने ट्रफी प्रदर्शनीका प्रमुख अतिथि स्वरुप उपराष्ट्रपति नन्दबहादुर पुनलाई निम्त्याइने छ ।

रग्वी वर्ल्ड कपको नवौँ संस्करण आगामी वर्ष जापानमा सम्पन्न हुँदैछ । रग्वी नेपालको राष्ट्रिय खेलकुद परिषदमा दर्ता हुने ३७ औँ खेल हो । नेपाल रग्वी संघको स्थापना २०५२ सालमा भएको थियो । तर, पनि नेपालमा रग्वी खेलले सोचेजतो लोकप्रियता कमाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्