२०१८ मा विश्वकै सर्वाधिक व्यापार गर्ने १० फिल्म



रंगखबर, काठमाडौँ – २०१९ को सुरुवातसँगै गत वर्षमा विश्वभरि भएका गतिबिधिको लेखाजोखा गर्ने कार्य जारि छ । यसमा फिल्म क्षेत्र पनि अछुतो रहने कुरा भएन ।

नेपाली फिल्मको व्यापार खास्सै गतिलो नभएको २०१८ मा बलिउड र हलिउडले व्यापारिक अंकलाई फराकिलो पारेका छन् । बलिउडले यो वर्ष बक्सअफिसमा ३४ अर्व भारु कमाइ गर्यो । गत वर्षको तुलनामा यो ७ अर्वले बढी हो ।

त्यस्तै हलिउडले यो वर्ष घरेलु बक्सअफिसमा ११ अर्व ९० करोड अमेरिकी डलर कमाइ गर्यो । घरेलु बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने फिल्म ‘ब्ल्याक प्यान्थर’ बन्दा विश्वव्यापी सर्वाधिक ग्रसर ‘एभेन्जर्स: इन्फिनिटी वार’ बन्यो । ‘ब्ल्याक प्यान्थर’को कमाइ ७० करोड अमेरिकी डलर रह्यो । त्यस्तै विश्वव्यापी २ अर्व ४ करोड कमाइ गरेको ‘एभेन्जर्स: इन्फिनिटी वार’ले घरमा ६७ करोड ८० लाख मात्र कमाउन सफल भयो ।

विश्वका टप १० ग्रसर

एभेन्जर्स: इन्फिनिटी वार – यो वर्षकै सर्वाधिक कमाउने फिल्म बन्यो । विश्वव्यापी यसको कमाइ २ अर्व ४ करोड अमेरिकी डलर रह्यो । हलिउड फिल्मको इतिहाँसमा ‘अलटाइम हाइइस्ट ग्रसर’को सुचीमा ‘एभेन्जर्स’ चौथों नम्बरमा उक्लियो ।

घरेलु बक्सअफिसमा ६७ करोड ८० लाख कमाइ गरेको फिल्मलाई ओभरसिजबाट १ अर्व ३७ करोड योगदान रह्यो । यसमा घरबाट ३३.१ प्रतिशत र ओभरसिजबाट ६६.९ प्रतिशत हिस्सा छ ।

ब्ल्याक प्यान्थर –  घरेलु बक्सअफिसमा ७० करोड अमेरिकी डलर कमाएपनि विश्वव्यापी ग्रस सोचेअनुरुपको भएन । फिल्मको विश्वव्यापी १ अर्व ३४ करोड ग्रसमा घरबाट ५२ प्रतिशत र ओभरसिजबाट ४८ प्रतिशत हिस्सा छ । फिल्मको ओभरसिज कमाइ ६४ करोड ६० लाख मात्र छ ।

जुरासिक वर्ल्ड: फलेन किन्डोम – को विश्वव्यापी कमाइ १ अर्व ३० करोड ८० लाख अमेरिकी डलर रह्यो । जसमा घरबाट ४१ करोड ६० लाख र ओभरसिजबाट ८९ करोड १० लाखको योगदान रह्यो । फिल्मको कलेक्सनमा ओभरसिज हिस्सा ६८.१ प्रतिशत रहँदा घरबाट ३१.९ प्रतिशत मात्र पुग्यो ।

इनक्रेडिबल्स २ – फुल एनिमेसन फिल्मको इतिहाँसमा सर्वाधिक कमाइ गर्ने फिल्म बन्दा ‘इनक्रेडिबल्स २’ले विश्वव्यापी १ अर्व २४ करोड २० लाखको व्यापार गर्यो । यसमा घरेलु बक्सअफिसको ६० करोड ८० लाख (४९ प्रतिशत) र ओभरसिजबाट ६३ करोड ४० लाख (५१ प्रतिशत) हिस्सा छ ।

अक्वाम्यान – डिसेम्बर २१ मा रिलिज भएको ‘अक्वाम्यान’ले अहिले जबर्जस्त कमाइ गरिरहेको छ । यो वर्षको अन्तिम ब्लकबस्टर फिल्मको सुचीमा छिट्टै समावेश हुनेवाला छ । दुइ सातासम्म फिल्मले विश्वव्यापी ८८ करोड ७० लाख अमेरिकी डलरको व्यापार गरिसकेको छ ।

यहि रफ्तारमा कमाइ गरे ‘अक्वाम्यान’ २०१८ को दोस्रो सर्वाधिक ग्रसर बन्न सक्छ । दुइ सातासम्म फिल्मको व्यापारमा घरबाट २३ करोड ८० लाख (२६.८ प्रतिशत) र ओभरसिजबाट ६४ करोड ९० लाख (७३.२ प्रतिशत) कलेक्सन मिलेको छ ।

भेनोम २०१८ – ले विश्वव्यापी ८५ करोड ५० लाख बढीको व्यापार गरिसकेको छ । केहि देशहरुमा प्रदर्शनरत फिल्मलाई घरबाट २१ करोड ३० लाख (२४.९ प्रतिशत) हिस्सा र ओभरसिजबाट ६४ करोड २० लाख (७५.१ प्रतिशत) आयात मिलेको छ ।

मिसन इम्पोसिबल: फलआउट – वर्षको सर्वाधिक व्यापार गर्ने सातौँ फिल्म हो । यसले ७९ करोड १० लाख ग्रस कमाउँदा घरेलु बक्सअफिसको हिस्सा २२ करोड (२७.८ प्रतिशत) रह्यो । जसमा ओभरसिजबाट ५७ करोड ९ लाख (७२.२ प्रतिशत) योगदान रह्यो ।

डेडपूल २ – ले विश्वव्यापी ७३ करोड ६० लाखको व्यापार गर्दा घरेलु बक्सअफिसको हिस्सा ३१ करोड ८० लाख (४३.२ प्रतिशत) मात्र रह्यो । बाँकी ४१ करोड ८० लाख (५६.८) ओभरसिजबाट आयो ।

बोहेमियन र्यापसोडी – घरेलु बक्सअफिसमा १९ करोड २० लाख कमाइ गरेको फिल्मले ओभरसिजमा ५२ करोड ३० लाख माथिको व्यापार गर्यो । टोटल कलेक्सन ७१ करोड ५० लाखमा घरबाट २६.८ प्रतिशत र ओभरसिजबाट ७३.२ प्रतिशत योगदान रह्यो ।

फ्यान्टास्टिक बिट्स: द क्राइम्ज अफ ग्रिन्डलवल्ड – ले विश्वव्यापी ६२ करोड ९० लाख अमेरिकी डलरको व्यापार गर्यो । जसमा घरबाट १५ करोड ७० लाख (२५ प्रतिशत), र ओभरसिजबाट ४७ करोड १० लाख (७५ प्रतिशत)को योगदान रह्यो ।

यी बाहेक २०१८ मा विश्वव्यापी ५० करोड अमेरिकी डलर भन्दा बढी कमाइ गर्ने ६ फिल्म छन् । राम्रो कमाइ गरेपनि ति फिल्म टप १० को लिस्टमा अट्न सफल भएनन ।

प्रतिक्रिया दिनुहोस्