तीन खान र खेलाडी कुमारलाई उछिन्दै रणवीर बने नम्बर १ अभिनेता



रंगखबर, काठमाडौँ – २०१८ मा बलिउड फिल्ममा ‘कन्टेन्ट’ चल्यो । ‘खान’टेन्ट’ चलेन । सलमान खान, शाहरुख खान र आमिर खान बक्सअफिसमा चिप्लिदा राजकुमार, राव, आयुषमान खुरना, कार्तिक आर्यन जस्ता उदाउँदा ताराले चर्चा र पर्चा दुवै पाए । अझ त्यो भन्दा बढी फाइदा रणवीर सिंहलाई भयो ।

वर्षौदेखि ‘खान’को पक्षमा रहेको बक्सअफिस लिडिङको चाबी पहिलो पटक रणवीरले हुत्त्याए । ३०० करोड क्लबको ‘पद्मावत’ र २०० करोड क्लबको ‘सिम्बा’ ब्लकबस्टर दिएका रणवीर वर्षकै नम्बर १ अभिनेतामा दरिए । उनले बक्सअफिस सफलता मात्र होइन, अभिनयबाट प्रशंसा बटुले ।

अभिनेत्री दीपिका पादुकोणसँग विवाहिक जीवनमा बाँधिएका रणवीर जोया अख्तरको ‘गली व्वाय’, कबिर खानको ‘८३’, करण जोहरको ‘तख्त’, रोहित सेट्टीको ‘सिम्बा २’मा जोडिए । यी सबै फिल्म प्रतिक्षित हुन् । भने, उनले ‘धूम ४’मा अभिषेक बच्चनलाई रिप्लेस गर्ने चर्चा पनि चल्यो ।

त्यस्तै २०१९ को सुरुवातमै उनले २०१८ को कामबाट अवार्डमा पनि कब्जा जमाउन सुरु गरेका छन् । ‘दादासाहेब फल्के एक्सिलेन्ट अवार्ड’मा ‘पद्मावत’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका रणवीर, ‘स्टार स्क्रीन अवार्ड’मा उक्त फिल्मबाट उत्कृष्ट अभिनेतामा दरिए । सोहि फिल्मबाट ‘हेल्लो! हल अफ फेम’मा ‘इन्टरटेनमेन्ट लिडर अफ द इयर’को अवार्ड पनि जिते ।

यो वर्ष हुने बाँकी अवार्डमा पनि रणवीरले कब्जा जमाउने आशा गरिएको छ । तर, उनको बलियो प्रतिद्वन्दी स्वरुप ‘सन्जु’बाट रनबिर कपूर छन् ।

बक्सअफिसमा ५ सय करोड माथि

२०१८ मा रणवीरका दुई फिल्मले ५ सय करोड माथिको कमाइ गरे । यसले उनको करिअरको अहिलेसम्मकै ठुलो सफलतालाई वर्णन गर्छ । ‘पद्मावत’को कमाइ ३ सय २ करोड रहँदा ‘सिम्बा’ले प्रदर्शनको १२ दिनमै २ सय २ करोड कमाइ गरिसकेको छ ।

‘प्याडम्यान’, ‘गोल्ड’ र ‘प्याडम्यान’ हिट दिएका अक्षय कुमारले समेत यो वर्ष रणवीरलाई उछिन्न्न सकेनन् । तीन फिल्मबाट बक्सअफिसमा उनले ३ सय ७६ करोड बटुलेका छन् ।

प्रतिक्रिया दिनुहोस्