अङ्कुराउदै साया र अतितको प्रेम



रंगखबर, काठमाडौँ –  फिल्म ‘समर लभ’ चर्चित साहित्यकार सुबिन भट्टराईको लोकप्रिय उपन्यास ‘समर लभ’मा आधारित भएकै कारण चर्चामा छ । रिलिजको लागि केहि साता बाँकी रहँदा निर्माण टिमले प्रचारमा निक्कै दौडधुप गरेको छ ।

फिल्मको देशव्यापी प्रचारका लागि मुख्य कलाकार आशिष पिया, रेवती क्षेत्रीसहित ‘समर लभ’ टिमले नेपालगन्ज, तुलसीपुर, घोराही, बुटवल, चितवन, हेटौडा, धरान, इटहरी, दमक, बिर्तामोडका मिडिया/दर्शकसँग साक्षात्कार गरिसकेको छ ।

मंगलबार सुन्दरनगरी पोखरा भिजिट पछि टिम राजधानी फिर्नेछ । त्यसपछि काठमाडौँ, भक्तपुर र ललितपुरका दर्शकलाई लक्षित गरि प्रचार अघि बढ्नेछ । 

प्रचारकै ड्राफ्ट अनुरुप सोमबार फिल्मको नयाँ गीत पनि सार्वजनिक गरिएको छ । ‘हेरन बाँझो मनभरि ‘ बोलको गीतमा मुख्य पात्र साया र अतितको प्रेम अङ्कुराएको छ । पुष्पन प्रधानको संगीत र सुमित विश्वकर्माको स्वर समावेश गीतले साया र अतितको सुरुवाती प्रेम वर्णन गर्छ । फिल्ममा सायाको भूमिकामा रेवती र अतितको भूमिकामा आशिष छन् ।

मुस्कान ढकाल निर्देशित फिल्ममा नम्रता सापकोटा, सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी, कविता रेग्मी, ओमप्रतिक गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।

खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता बिनोद अधिकारी हुन् । फिल्ममा सुबिनको कथा, सामिप्यराज तिमिल्सिनाको पटकथा छ । फिल्म माघ २५ मा अलनेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्