ऋचा र सुरक्षाले गरे निश्चलको ‘फर्गो’ सार्वजनिक



रंगखबर, काठमाडौँ – अभिनेत्रीद्वय ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुबिन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले सयुक्त रुपमा युवा लेखक निश्चल मल्लको अंग्रेजी भाषी उपन्यास ‘फर्गो’ सार्वजनिक गरेका छन् ।

एक सय चार पेजको ‘फर्गो’ले यथार्थ भन्दा पर गएर कल्पनामा आफूले सोचे जस्तो जीवन सिर्जना गर्ने युवाको कथा पेश गरेको छ । लेखक मल्ल भन्छन ‘जीवन र प्रेमलाई लिएर युवाले खेप्ने दुविधा पनि पुस्तकमा अटाएको छ । पुस्तक पढिरहँदा नयाँ पुस्ताले पक्कै आफूलाई उपन्यासमा पाउनुहुन्छ।’

पुस्तकको बारेमा बोल्दै ऋचाले भनेकी छन् ‘‘उन्नाइस बीस वर्षकै उमेरमा यत्तिको किताब लेख्नु साँच्चिकै प्रशंसनीय काम हो । तर, उमेर कम भए पनि किताबमा मैले परिपक्वता देखें, ’उनले भनिन्, ‘यथार्थ र कल्पनाशीलतालाई लेखक मल्लले मज्जाले प्रस्तुत गरेका छन् । यसको भाषा मलाई मन परेको अर्को पक्ष हो । पुस्तक पढिरहँदा मलाई धेरै ठाउँ सेक्सपियरको साहित्य पढेको आभाष भयो । उहाँको भाषामा गज्जबको लालित्य छ ।’

उनले लेख्ने मान्छेप्रति आफुमा श्रद्धा भाव रहेको बताउँदै मल्लले आगामी दिनमा उच्च कोटिको पुस्तक नेपाली साहित्यलाई दिन सक्ने जानकारी गराइन् ।

त्यस्तै सुरक्षाले कम उमेर पुस्तक लेख्नु निश्चलको हिम्मतलाई प्रोसाहित गर्दै ‘फर्गो’ भ्यालेन्टाइन गिफ्ट हुने बताइन । ‘लेख्ने मान्छे मलाई विशेष लाग्छन् । अझ यति सानो उमेरमै लेख्ने त झनै विशेष लाग्छन् । यो हिसाबमा निश्चलले मलाई प्रभावित गरेका छन् । पुस्तक आकर्षक लागेको छ । भ्यालेन्टाइन मुखमा छ । आफ्नो डेटलाई दिन यो उत्तम गिफ्ट हुनेछ ।’

अहिले प्रदर्शित फिल्म ‘समर लभ’का लेखक सुबिन भट्टराईले किताब पढ्न नपाएपनि सफलताको शुभकामना दिए । ‘व्यस्तताका कारण पुस्तक पढ्न पाइँन, त्यसैले पुस्तकको गुण दोषको बारेमा म बोल्दिन । पहिलो किताब हरेक लेखकको स्पेसल हुन्छ । निश्चलका लागि पनि यो किताब स्पेसल बनोस्, शुभकामना दिन चाहान्छु । पुस्तकले राम्रो नराम्रो जेसुकै प्रतिक्रिया प्राप्त गरोस् लेख्न नछोडने सल्लाह पनि दिन चाहान्छु ।’ सुबिनले भने ।

प्रतिक्रिया दिनुहोस्