१९ वर्ष पश्चात संजयलीला र सलमानको सहकार्य



रंगखबर, काठमाडौँ – बलिउड अभिनेता सलमान खान एक्सनसँगै रोमान्टिक फिल्ममा उत्तिकै जम्छन । करिअरका सुरुवाती फिल्ममा उनले थुप्रै रोमान्टिक अवतार ‘प्ले’ गरिसकेका छन् ।

यसैबीचमा सन् १९९९ को सुपरहिट रोमान्टिक ‘हम दिल दे चुके सनम’ कसले भुल्न सक्छ । संजयलीला भन्सालीले निर्देशन गरेको उक्त फिल्ममा सलमान लिड रोलमा थिए । उनको अपोजिटमा ऐश्वर्य राय बच्चन थिइन् । उक्त फिल्मलाई सलमानकै करिअरको उत्कृष्ट रोमान्टिक फिल्मको रुपमा लिइन्छ ।

१९ वर्षको पछाडी संजयलीला र सलमानले पुन: सँगै काम गर्ने भएका छन् । उस्तो त २००७ को ‘सावंरिया’मा पनि सलमानले संजयलीलासँग काम गरेका थिए । तर, उक्त फिल्मको लिडमा रनबिर कपूर थिए ।

लामो समयको चर्चाका वावजुत, अब यो तय भएको छ । सलमानलाई लिड लिएर संजयलीलाले रोमान्टिक फिल्म बनाउदैछन । भारतीय मिडियाहरुमा आएको जानकारी अनुसार सलमान र संजयले स्क्रिप्टको बारेमा कुराकानी गरिसकेका छन् । र, दुवै जना एक-अर्कासँग काम गर्नलाई लालायित देखिएका छन् ।

संजयलीलाले अहिले तीन स्क्रिप्टमा काम गरिरहेका छन् । जस अनुरुप एक रोमान्टिक फ्लिकको लागि सलमानलाई छनोट गरेका हुन् । फिल्ममा निर्देशक स्वयम्को संगीत रहनेछ । र, सन् २०२० सम्ममा फिल्मलाई रिलिज गरिने योजना छ ।

सलमान अहिले बहुप्रतिक्षित फिल्म ‘भारत’को छायाँकनमा व्यस्त छन् । फिल्ममा उनले अहम भूमिका निर्वाह गरिरहेको बताइएको छ । ‘भारत’ पश्चात सलमानले ‘दबंग ३’मा काम गर्नेछन् । सायद त्यसपश्चात संजयसँगको रोमान्टिक फिल्ममा उनले काम गर्नेछन् ।

संजयलीलाका पछिल्ला फिल्म ‘रामलीला’, ‘बाजिराव मस्तानी’, ‘पद्मावत’ बक्सअफिसमा सुपरहिट भएका थिए । संजयले आफ्नो करिअरमा ‘हम दिल दे चुके सनम’सँगै ‘ब्ल्याक’, ‘खामोशी – द म्युजिकल’, ‘सावंरिया’, ‘गुजारिस’ र ‘देवदास’जस्ता सम्झनलायक फिल्म निर्देशक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्