म कलाकार हो, दर्शकले दिएको ट्यागमा टाउको दुखाई छैन



रंगखबर, काठमाडौँ – अभिनेता अनमोल केसी अभिनित छैटौँ फिल्म ‘क्याप्टेन’ यहि फागुन १७ गते रिलिज हुँदैछ । डेब्यु फिल्म ‘होस्टेल’ रिलिज भएको करिब ६ वर्षमै अनमोलले नेपाली फिल्म क्षेत्रमा थुप्रै चर्चा बटुलिसकेका छन् ।

विशेष गरि अनमोललाई फ्यान फलोअर्स, बक्सअफिस नजिता र पारिश्रमिकका कुराले पछ्याउछन् । अनमोललाई लिएर फिल्म बनाएपछि निश्चित हिट बनिन्छ भन्ने अवधारणा तयार भैसकेको छ । त्यसैले उनले पारिश्रमिकको हकमा सबैलाई उछिनेका छन् ।

६ वर्ष अगाडी अभिनेताको पारिश्रमिकले सर्वाधिक ८ लाखसम्मको अंक छोएको थियो । अहिले ५० लाखमा पुगेको छ । आखिर के कारण अनमोल यति धेरै चर्चामा छन् त ?

यस विषयमा आत्ममुल्यांकन गर्दै अनमोल भन्छन ‘अरु चिज त केहि गरेको छैन । ‘डेफीनेट्ली’ मेरो फिल्मकै कारण यति धेरै चर्चा र माया दिनु भएको होला । मैले राम्रो फिल्म दिइरहेको छु । दर्शकले पनि मुल्यांकन गर्न सक्नु हुन्छ होला, मैले कस्तो स्तरको फिल्म खेल्छु । कस्तो कन्टेन्ट दिइरहेको छु ।’

उनि अगाडी थप्छन ‘र, अर्को कुरा भनेको म फिल्ममा आएपछि ‘ट्रेन्ड चेन्ज’ भएको छ । म भन्दा अगाडी अलि बढी उमेरका अभिनेताहरुले दर्शक रिझाइरहनु भएको थियो । म युवा भएकै कारण, युवापुस्तामा छिटै नोटिस भए । अहिले युवा अभिनेता अत्याधिक दर्शकको रोजाइमा हुनु हुन्छ । त्यसैले मेरो इन्ट्री भएसँगै दर्शक ‘लुक्सवाइज’ जानु भएको छ ।’

लगातार पाँच फिल्ममा लभरव्वायको भूमिका निर्वाह गरिसकेका अनमोल ‘क्याप्टेन’मा पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखा परेका छन् । यहि फिल्म विषयक र अनमोलसँग जोडिने तत्वहरुसँग आशिष ओलीले गरेको कुराकानी प्रस्तुत छ ।

लभरव्वायबाट खेलाडीमा किन ?

यसपटक हामीले ३६० डिग्रीमा ‘ग्रीन स्क्रिन’ गरेर एनिमेशनको सहायताले फुटबलको कथालाई प्रस्तुत गर्न खोजेका छौँ । यसले चलिरहेको ट्रेन्डलाई केहि हदसम्म चिर्न सफल हुन्छ भन्ने आशा छ । आफैलाई पनि केहि ‘एक्सपेरिमेन्ट’ गरेको छु । जहिले लभस्टोरी फिल्ममा केटिको लागि मात्र लडीरहने ‘म’ आफै पनि बोर भैसकेको थिए । दर्शक पनि बोर भैसक्नु भएको थियो ।  त्यसैले यसपटक आफुलाई बजार केन्द्रितबाट केहि टाढा पस्किने जमर्को गरेको छु ।

फुटबलको विषय उठाउनु भएको छ, यसले फुटबलको कुन पक्षलाई बढी आत्मसाथ गरेको छ ?


विशेषत: यो फुटबलकै बारेमा बनेको डकुमेन्ट्री होइन । जहाँ फुटबलकै कथा होस् । एउटा ‘इशान’ नामको पात्रको जीवनमा चै फुटबल आउँछ । उसको जीवनका अभिन्न अंग मध्ये फुटबल पनि एक हो ।

‘इशान’को जीवनमा दुख-सुख छ, त्रिकोणात्मक प्रेमकथा छ र फुटबल पनि छ । उसकै जीवनका उतारचढावले उसलाई राष्ट्रिय स्तरसम्मको फुटबलर बन्न प्रेरित गर्छ ।

खेल विशेष फिल्मले दर्शक, समिक्षक रिझाउन नसक्नुको कारण के हो ?

सायद उहाँहरुको कन्टेन्ट नराम्रो भएर होला । कन्टेन्ट मात्र बोकेर हुँदैन । प्रस्तुतिमा पनि ध्यान पुर्याउनु पर्छ । यसअघि बनेका फिल्मले सहि प्रस्तुति दिन नसेकाले होला दर्शक फिल्मसँग भिज्न सक्नु भएन ।

‘क्याप्टेन’को के होला ?

‘क्याप्टेन’को सन्दर्भमा भन्नु पर्दा ‘ट्रेलर, गीत/संगीतबाट प्राय: सकारात्मक कमेन्ट भेटिरहेका छौँ । यसपटक व्यानर, कलाकार, टिम हेरेर दर्शक प्रतिक्षामा हुनु हुन्छ । त्यसैले ‘क्याप्टेन’ले नयाँ रेकर्ड राख्न सक्छ ।

रिलिजताका फिल्मको बारेमा फुँइ हाक्ने/भयङ्कर बोल्ने तर हलमा पुगेपछि दर्शकले गाली गर्दै निक्लिने परम्परा बढ्दो छ । यसलाई ‘क्याप्टेन’ले कत्तिको चिर्न सक्छ ?

हाम्रो फिल्म भयङ्कर छ त भन्दिन म, तर दर्शकको पनि नजरअन्दाज गर्ने क्षमता छ । कसले कस्तो फिल्म बनाउँछ ?, कसले ‘जेन्युन’ फिल्म खेलिरहेको छ । पछिल्लो समय दुई थरिका फिल्म मेकर हावी भएका छन् । एउटा राम्रो कन्टेन्टमा विश्वास गर्ने, अर्को ट्रेलर, गीत/संगीत राम्रो बनाएर दर्शक झुक्याउने । त्यसैले मैले बोल्ने भन्दा पनि दर्शक आफैले राम्रो फिल्म छनोट गरेर नेपाली फिल्मलाई माया गर्नु हुन्छ जस्तो लाग्छ ।

‘क्याप्टेन’को सफलता/असफलताले अनमोलको करिअरमा के अर्थ राख्छ ?

सफल भयो भने, पक्कै पनि मेरो हिट फिल्मको लिस्टमा ‘क्याप्टेन’ पनि थपिने छ । म प्रतिको दर्शक रुचि अझ बढ्नेछ । यदि असफल भयो भने, म निराश हुनेछ । यतिका गरेको मेहेनत खेर गएको भान हुनेछ । तर, पनि म यसलाई आफ्नो बलियो पक्ष ठानेर फेरि उठेर अगाडी बढ्नेछु ।

फिल्म सफलता/असफलताको जिम्मा कलाकारले लिनु पर्छ ?

एकदमै ! अहिले पनि नेपाली दर्शक फिल्म हेर्न जाँदा कलाकार को छ, भनेर खोजी गर्नु हुन्छ । प्राय: दर्शकलाई निर्देशक/निर्माताको बारेमा थाहा हुँदैन । उहाँहरु मेकरलाई भन्दा पनि कलाकारलाई आधार मानेर हलसम्म पुग्नु हुन्छ । फिल्म राम्रो लागेमा ‘अनमोलले राम्रो फिल्म खेलेछ’ भन्दै निक्लनु हुन्छ । नराम्रो लागे ‘अनमोलले झुर फिल्म’ खेलेछ भन्नु हुन्छ । त्यहाँ दर्शकले निर्देशक/निर्मातालाई सम्झिनु हुँदैन ।

त्यसैले नेपालको परिपेक्षमा कलाकारले नै फिल्म सफलता/असफलताको जिम्मा लिनै पर्छ । र, ‘क्याप्टेन’का बारेमा सकारात्मक र नकारात्मक कमेन्ट सुन्न तयार छु । साथै, सफलता/असफलताको जस पनि म नै लिन्छु ।

अनमोललाई अभिनय गर्न आउँदैन भनिन्छ, यसको कारण के होला ?

सायद अन्य अभिनेता भन्दा उमेर कम भएर पो होकी । डेब्यु गर्दा १८ वर्षको थिए, अहिले २४ पुगे । जतिबेला मलाई फिल्मको बारेमा केहि थाहा थिएन, अभिनय गर्न जानेन भनेर थुप्रै नकारात्मक कमेन्ट आए । अहिले विस्तारै दर्शकले मेरो बारेमा सकारात्मक टिप्पणी गर्न थाल्नु भएको छ । यो त उमेर र अनुभवले निखार्दै जाने कुरा हो जस्तो लाग्छ । 

अनमोलको सफलतामा भुवन केसीको कति हात छ ?

भुवन केसीको छोरा नभैदेको भए, सायद अभिनयको दुनियाँमा आउने थिइन् होला । बच्चैदेखि फिल्मी परिवारमा घुलमिल भएकाले अन्य क्षेत्रमा केहि गर्छु भन्ने सोच आएन । राम्रो स्क्रिप्टको खोजिमा थिए । डेब्यु फिल्मले नै करिअरमा सकारात्मक प्रभाव पारोस भन्ने चाहना थियो । 

बुबाको कारण डेब्यु राम्रो भयो, त्यसपछि भुवनको छोरा भनेर चर्चामा आए । सुरुवाती दिनमा करिअर अगाडी बढाउन बुबाको नामले काम गरेकै हो । त्यसपश्चात दर्शकको मन-मस्तिष्कमा बस्नलाई मरो पनि देन छ । फिल्म क्षेत्रमा थुप्रै बरिष्ठ कलाकारका छोरा-छोरीको नामो-निशान छैन ।

ठुलो कलाकारको छोरा-छोरी हुँदैमा सफल भइन्छ भन्ने छैन । त्यसको लागि त तपाईको मेहेनत, लगाव, रुचिले भर पर्छ ।

अनमोलको बिचारमा स्टार, सुपरस्टार र मेगास्टार भनेको के हो ?

आइ थिङ्क… यसको बारेमा म त्यति जानकार छैन । र, यसको सहि अर्थ कसैलाई पनि थाहा छैन जस्तो लाग्छ । केवल दर्शकले कलाकारको ‘पर्फर्मेन्स’ हेरेर दिने ट्याग हो । म, आफैलाई स्टार/सुपरस्टार/मेगास्टार मान्दिन । म एउटा कलाकार हो । बाँकी ट्याग दर्शकले दिनु हुन्छ भने, यसमा टाउको दुखाई पनि छैन ।

तस्विर: कुशल घतानी राई

प्रतिक्रिया दिनुहोस्