आशिरमानको ‘द ब्रेकअप’ पनि चलेन, अब पारिश्रमिक कति ?



रंगखबर, काठमाडौँ –  निर्देशक हेमराज बिसीले अनमोलसँगको सहकार्य टुटेपछि आशिरमान देशराज जोशीलाई उनको प्रतिस्पर्धी स्वरुप रजतपटमा भित्र्याए । आकर्षक लूक्सका धनि आशिरमानको आगमनसँगै चकलेटी अनुहारका अनमोललाई थ्रेट हुने अनुमान गरिएको थियो । तर, त्यो सफल हुन् सकेन ।

डेब्यु अगाडी नै ठुलो मिडिया हाइप पाएका आशिरमानलाई करिअरको सुरुवातमै झट्का लागेको छ । डेब्यु फिल्म ‘ग्याङस्टर ब्लुज’ फ्लप भएपछी आशिरमानलाई लिएर जोखिम मोल्न कुनै पनि मेकर तयार भएनन् । अन्तत: हेमराजले नै ‘द ब्रेकअप’मा आशिरमानलाई लिएर अनमोलसँग टक्कर गरे । 

अनमोलको ‘क्याप्टेन’सँग जुधाएको ‘द ब्रेकअप’ले पुग्दो प्रचार पनि गरेन । फलस्वरुप फिल्मको ओपनिङ दयनीय भयो । समिक्षक र दर्शकबाट पनि चित्त बुझ्दो प्रतिक्रिया नपाएपछि फिल्म बक्सअफिसमा पूर्णत असफल ठहरिएको छ । व्यापार सुनाउन लायक नभएर निर्माण पक्षले यस बारेमा बोलेको पनि छैन ।

पहिलो साता मै केहि हलहरुबाट उतारिएको फिल्म दोस्रो सातामा जेनतेन टिकेपनि, तेस्रो साताबाट लगभग ९५ प्रतिशत हलबाट उतारिदै छ । बरु अनमोलले ‘क्याप्टेन’ले तेस्रो सातामा सन्तोषजनक हल र शोज पाएको छ । 

सुरुवातकै दुई फिल्म फ्लप भएपछि आशिरमानलाई ठुलो झट्का लागेको छ । ‘द ब्रेकअप’का लागि उनले १५ लाख पारिश्रमिक लिएको चर्चा थियो । अब पनि आशिरमानले त्यति नै पारिश्रमिक माग्लान ? या त २-५ लाख मै चित्त बुझाउलान ?

प्रतिक्रिया दिनुहोस्