महिला र्दुव्यवहारको खुलासाले राजन खतिवडा र राजकुमार पुडासैनी कारबाहीमा



रंगखबर, काठमाडौँ – राजधानीका चर्चित रंगमंचमा महिला रंगकर्मी माथि भैरहेको यौन दुर्व्यबहारको खुलासापछि २ जना पुरुष रंगकर्मी कारबाहीमा परेका छन् ।

विहिबार प्रकाशित शुक्रबारको नयाँ अंकमा ‘रङगमञ्चमा यौन दुर्व्यवहार : तीन रंगकर्मीविरुद्ध गम्भिर आरोप’ शिर्षकमा स्टोरी छापिएको थियो । जहाँ देशकै चर्चित मण्डला थियटरका मण्डला थिएटरका महासचिव राजन खतिवडा, वन वल्र्ड थिएटरका सह निर्देशक राजकुमार पुडासैनी र वरिष्ठ रंगकर्मी सुनिल पोखरेलप्रति केहि महिला रंगकर्मीले पटक-पटकको दुर्व्यबहारको आरोप लगाएका थिए ।

समाचार प्रकाशनपछि मण्डललाले खतिवडालाई महासचिव पदबाट मुक्त गर्दै एक वर्षसम्मका लागि जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको छ भने वन वल्र्ड थिएटरले पुडासैनीलाई निलम्बन गरेको छ ।

प्राय: महिलाले दुर्व्यबहारका बारेमा बोले पनि नाम खुलाएका छैनन् । भने, अनु दाहालले खुलेरै यौन दुर्व्यबहारको वकालत गरेकी छन् ।

शुक्रबार पत्रिकाले केहि महिना अगाडी नेपाली फिल्मी संगीत क्षेत्रमा हुने महिला दुर्व्यबहारको बारेमा लेखको थियो । त्यति बेला जस्तै अहिले पनि सम्बन्धित क्षेत्रमा बहस सृजना भएको छ ।

मण्डलाकाे विज्ञप्ति

बिषय : यौन दुव्र्यवहारको घटनासम्बन्धमा अभिव्यक्ति बारे ।

प्रस्तुत विषयमा हाल नेपालमा चलिरहेको महिला हिंसा विरुद्धको अभियानको क्रममा नेपाली रंगमञ्चमा समेत लैंगिक हिंसा र यौन दुव्र्यवहारसम्बन्धी घटनाहरु भईआएको समाचार विभिन्न माध्यमबाट आइरहेको छ । यस विषयमा हाम्रो संस्थाको आधिकारिक धारणासम्बन्धमा समुहमा छलफल हुँदा लैंगिक हिंसा र यौन दुव्र्यवहारसम्बन्धी घटनाहरुमा हाम्रो संस्था समेत संवेदनशील रहेको र यस्ता घटनाविरुद्धका अभियानहरुमा हाम्रो समर्थन तथा ऐक्यवद्धता रहेको जनाउन चाहन्छौं ।

यस्ताखाले प्रवृत्तिबाट रंगमञ्चलाई बचाउन र रंगमञ्चको गरिमा उच्च राख्न हामी सदैव प्रयत्नशील रहने जानकारी गराउन चाहन्छौं । नाटकमार्फत सवैखाले सामाजिक मुद्दामा कलात्मक भाषामार्फत आफ्ना विचार राख्दै आएको यस नाटक समुहले नाटकीय गतिविधिबाहेक खुला बहस तथा छलफलहरुमा समेत सहभागिता जनाउने बेला आएको ठहर गर्दै त्यसप्रति हामी प्रतिवद्ध रहेको जानकारी गराउन चाहन्छौं । आफ्नो कठीन समयको बारेमा खुलेर बोल्नुहुने र आफ्नो आवाज राख्नुहुने सवै महिला रंगकर्मीहरुप्रति सम्मान तथा समानुभूति प्रकट गर्न चाहन्छौं ।

यस समुहका महासचिव राजन खतिवडाविरुद्ध समेत आरोप आएको सन्दर्भमा खतिवडा स्वयम्ले आफूबाट अन्जानमा गल्ति भएको हुनसक्ने बताउँदै आत्मालोचना गरेका कारण र घटनाको निष्पक्ष छानवीनका लागि सहज वातावरण बनाउन संस्थाको पदीय जिम्मेवारीबाट बाहिर रहन चाहँदै सामाजिक नैतिकताका आधारमा राजिनामा दिएका कारण उनलाई कम्तीमा १ वर्षका लागि महासचिवको पदबाट जिम्मेवारीमुक्त गरिने निर्णय गरिएको छ ।

नेपाली रंगमञ्चमा कार्यरत एक जिम्मेवार संस्थाको हिसावले यस किसिमका घटनाहरु निराकरण गर्नमा हाम्रो दायित्व समेत हुन आउने भएकोले त्यसका लागि संस्थागत रुपमै लागिपर्न मण्डला नाटक समुह नेपाल कटिवद्ध छ । यससम्बन्धमा आइरहेका समाचारहरुमाथि छानवीन र आवश्यक कारवाही गर्दै त्यसका लागि बृहत छलफल गर्न समेत संस्था तयार भएको जानकारी गराउन चाहन्छौं । यसका लागि सहयोग गरिदिनहुन सवै रंगकर्मी समुदाय तथा सरोकारवाला निकायहरु समक्ष हार्दिक आह्वान गर्दछौं ।

सृजना सुब्बा
अध्यक्ष
तथा मण्डला नाटक समुह नेपाल परिवार

वन वर्ल्डकाे विज्ञप्ति

गएको हप्ता चैत्र २८ गतेमा प्रकाशित शुक्रबार साप्ताहिक मा छापिएको रंगमन्चमा यौन दुर्व्यवहार शिर्षकको समाचारतर्फ वान वर्ल्ड थिएटरकाे ध्यान आकृष्ट भएकाे छ । खासगरि, वान वर्ल्ड थिएटर यसका सह निर्देशक तथा वरिष्ठ कलाकार राजकुमार पुडासैनीमाथि लागेकाे आराेपले स्तब्ध भएकाे छ र आराेपलाइ अत्यन्त गम्भिर रूपमा लिएकाे छ ।

समाचार प्रकाशन पश्चात्, वान वर्ल्ड थिएटरले अनुचित व्यवहार अनुभव गरेका महिलाहरूसँग प्रत्यक्ष कुराकानी गरेकाे छ । उहाँहरूसँगकाे कुराकानीले पुडासैनीले पहिलेदेखि नै त्यस्ताे अनुचित व्यवहार गर्ने गरेकाे र यसले दुर्व्यवहार अनुभव गर्ने महिलाहरूमा मानसिक तनाव सिर्जना गरेकाे देखाउँछ । पुडासैनीकाे व्यवहार दुराचारयुक्त तथा पदकाे दुरूपयाेग रहेकाे निश्कर्षमा वान वर्ल्ड थिएटर पुगेकाे छ ।

वान वर्ल्ड थिएटरले पुडासैनीसँग पनि निजकाे व्यवहारबारे कुराकानी गरेकाे छ । उहाँले आफ्नाे व्यवहारप्रति जिम्मेवारी लिनुभएकाे छ र सुधार्ने वाचा गर्नुभएकाे छ । हाम्रो र पुरै रंगमन्च समुदायको बिस्वास पुन: प्राप्त गर्न उनले पहिलो कदम स्वरुप सार्वजनिक तथा लिखित रुपमा आफ्नो दुर्व्यवहारको जिम्मेवारी लिंदै दुर्व्यवहार अनुभव गरेका सम्पूर्ण महिलाहरुसंग माफी माग्न अनिवार्य छ । यद्यपि, याे पहिलाे कदम मात्रै हाे र वान वर्ल्ड थिएटरसँग काम जारी राख्न उहाँले अझै सुधारका ठाेस कार्य गर्नुपर्छ ।

वान वर्ल्ड थिएटरले पुडासैनीलाई सुधारबादी निलम्बनमा राखेकोछ । उहाँलाई वान वर्ल्ड थिएटरकाे आगामी उत्पादन ब्रिफ क्यान्डलबाट हटाइएकाे छ र यसमा उहाँ कुनै पनि हैसियतमा सँलग्न हुनुहुने छैन । निलम्बनमा रहंदा उहाँलाई वान वर्ल्ड थिएटरले एक वर्ष को समयसम्म कुनै पनि निर्देशन वा प्रशिक्षण को काम दिनेछैन । यो अवधिमा उनलाई केहि काम दिनेभए कम्पनीका बरिस्ठ निर्देशकको सुक्ष्म निगरानीमा केवल कलाकार को रुपमा काम दिइनेछ । यो अवधिमा उहाँले अनिवार्य रुपमा आफ्नो आचरणको आत्म-आलोचना को लागि काउन्सेलिंग लिनु पर्ने छ । एक बर्ष को अवधिको अन्त्यमा यो सुधारबादी निलम्बनको मुल्यांकन गरिने छ र आगामी चरणहरु के हुनेछन भनेर निधो गरिनेछ ।

वान वर्ल्ड थिएटरकाे उत्पादनकै क्रममा पनि पुडासैनीबाट दुर्व्यवहार भएकाेप्रति वान वर्ल्ड थिएटर दुःखी छ । कम्पनीसँग काम गर्दाकाे अनुभव तनावपूर्ण भएकाेमा वान वर्ल्ड थिएटर अनु दाहालप्रति क्षमा याचना गर्दछ । त्यसैगरि, कम्पनीसँग काम गर्दा असहज स्थिति वा अनुचित व्यवहार महशुस गरेका सबैप्रति कम्पनी क्षमा याचना गर्दछ । वान वर्ल्ड थिएटर उहाँहरूकाे कुरामा विश्वास गर्छ र उहाँहरूकाे साथ दिने प्रतिवद्धता जाहेर गर्दछ । साथै उत्पीडनबारे महिलाहरूले आफ्ना अनुभव सार्वजनिक गर्दा ती बयानलाई नकार्ने, अस्विकार गर्ने र नितान्त व्यक्तिगत पीडालाई सबैकासामु राख्दै समाजमा समता र सम्मानकालागिआग्रह राख्ने महिलाहरूको साबितीलाई अपहेलना गर्न खोज्ने सबै व्यक्ति, संस्था तथा प्रयत्नको घोर भ्रत्सना गर्दछ ।

वान वर्ल्ड थिएटर कम्पनीमा र समग्र रङ्गमञ्च क्षेत्रमा याैन दुर्व्यवहारकाे विषय सम्बाेधन गर्नेतर्फ प्रतिवद्ध छ । यसका वरिष्ठ कम्पनी सदस्यहरूले याे पीडादायी तर आवश्यक प्रक्रियालाइ अन्तर्नीहित विषयहरूमा समिक्षा गरि प्रष्ट नीति तथा कार्यविधि निर्माणकाे लागि अवसरकाे रूपमा लिनेछन् । रङ्मञ्च सबैकाे लागि समावेशी सुरक्षित स्थान भएकाे सुनिश्चित गर्न वान वर्ल्ड थिएटर नेपालका अन्य सबै कम्पनीहरूलाई पनि यसाे गर्न आह्वान गर्दछ ।

डेबोरा मेरोला
संस्थापक निर्देशक

सुश्रुत आचार्य
प्रबन्ध निर्देशक

प्रतिक्रिया दिनुहोस्