ट्युमरका कारण श्वेताको अचानक शल्यक्रिया, लेखिन ‘दोस्रो जीवन पाएँ’



रंगखबर, काठमाडौँ – अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्युमर देखिए पछि भारतको नयाँ दिल्लीमा शल्यक्रिया गरिएको छ । फिल्म ‘हेल्लो जिन्दगी’को छायाँकनका लागि लण्डन पुगेकी श्वेताले अचानक ट्युमरको शल्यक्रियाको बारेमा जानकारी दिँदा फिल्मकर्मी आश्चर्यमा परेका छन् ।

आफ्नो जीवनलाई फिल्मसँग तुलना गर्दै उनले फेसबुकमा लामो स्टाटस लेखेकी छन् । लण्डन जानु भन्दा अगाडी नै डाक्टरले उनलाई ट्युमर भएको जानकारी दिएका थिए । तर, तत्काललाई डराउनु नपर्ने र केहि महिनामा शल्यक्रिया गर्दा हुने सुझाव दिएका थिए ।

‘हेल्लो जिन्दगी’ छायाँकनताका नै समस्या बल्झिएपछि डाक्टरले तत्काल शल्यक्रिया बताए । लगतै उनलाई नयाँ दिल्ली रिफर गरियो । त्यहाँ डा. सुरेन्द्र कुमार दवासले उनको सफल शल्यक्रिया गरेको श्वेताले स्टाटसमा लेखेकी छन् ।

मेरो दोस्रो जिन्दगी

शल्यक्रिया पश्चात अब फिल्म ‘हेल्लो जिन्दगी’मा श्वेताले काम गर्न नसक्ने बताएकी छन् । उनी लेखेकी छन्, ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो । वास्तवमा जिन्दगी अनिश्चित हुन्छ भन्ने भनाई सत्य रहेछ । तपाईंले बनाएका योजनाहरु केही सेकेन्डम भताभुंग हुँदा रहेछन् । म दु:खपूर्वक तपाईंहरुलाई जानकारी गराउन चाहन्छु कि अब म आफ्नो नयाँ चलचित्र हेल्लो जिन्दगीमा काम गर्न सक्षम हुनेछैन । यद्यपि, फेरि एक पटम म भयानक परिस्थितिलाई जितेर निस्किएकी छु ।’ उनले स्टाटसमा लेखेकी छन् ।

रंगखबरको तर्फबाट श्वेतालाई शिघ्र स्वास्थ्य लाभको कामना !

प्रतिक्रिया दिनुहोस्