‘एभेन्जर्स: इन्ड गेम’ले तोड्यो ‘टाइटानिक’ रेकर्ड, अब बाँकी ‘अवतार’



रंगखबर, काठमाडौँ – हलिउड फिल्म ‘एभेन्जर्स: इन्ड गेम’ले विश्वव्यापी कमाईको आधारमा ‘टाइटानिक’को रेकर्ड ब्रेक गरेको छ । नर्थ अमेरिका रिलिजको दोस्रो विकेन्डमै फिल्मले २१ वर्ष अगाडी ‘टाइटानिक’ले बटुलेको ग्रस कलेक्सनलाई उछिन्न सफल भएको हो ।

अब ‘एभेन्जर्स: इन्ड गेम’ विश्वकै सर्वाधिक ग्रस कमाउने दोस्रो फिल्म बनेको छ । दोस्रो विकेन्डसम्म फिल्मले २,१८८ मिलियन अमेरिकी डलरको व्यापार गरिसकेको छ ।

जेम्स क्यामरून निर्देशित ‘टाइटानिक’ले २१ वर्ष अगाडी २,१८७ मिलियन अमेरिकी डलर कमाएको थियो । जसको रेकर्ड १२ वर्ष पश्चात फिल्म ‘अवतार’ले तोडेको थियो । जेम्सकै फिल्म ‘अवतार’ २,७८८ मिलियर डलरका साथ विश्वकै सर्वाधिक कमाई गर्ने फिल्मको सुचीमा पहिलो नम्बरमा छ ।

जोय रुसो र एन्थोनी रुसो निर्देशित फिल्म ‘एभेन्जर्स’को लागि अब एउटा रेकर्ड अगाडी छ । ‘अवतार’को रेकर्ड तोड्न सके ‘एभेन्जर्स’ सिरिजको अन्तिम भाग विश्वकै सर्वाधिक कमाउने फिल्म बन्नेछ । जसको लागि अब जम्मा ६०० मिलियन बढी व्यापारको आवश्यकता छ ।

घरेलु बक्सअफिसको लागि भने ‘स्टार वार्स: द फोर्स अवेकन्स’को रेकर्ड अगाडी छ । ९३६ मिलियन कमाएको ‘स्टार वार्स’ अमेरिकामा सर्वाधिक कमाउने फिल्म हो । दोस्रो विकेन्डमै ६१९ मिलियन डलर कमाई गरिसकेको ‘एभेन्जर्स’को लागि यो रेकर्ड पनि नजिक देखिएको छ ।

‘अवतार’ले विदेशी मार्केटबाट मात्रै २,०२७ मिलियन आर्जन गरेको थियो । भने, ‘एभेन्जर्स’को कमाई १,५६९ मिलियन पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्