१० करोड माथि कमाएका बक्सअफिसका टप ६ फिल्म



रंगखबर, काठमाडौँ – नेपालमा बक्सअफिसको आधिकारिक तथ्याङ्क आउने कुनै स्रोत छैन । तर, पनि वर्ष भरि फिल्मको व्यापारिक रिपोर्ट र रेकर्ड तोडेका समाचारहरु प्रकाशन भैरहन्छन ।

ठ्याक्कै यति कमाएको यकिन तथ्यांक नआए पनि अनुमानित रिपोर्टले बक्सअफिसको नाम जोगाउँदै आएको । होइन भने, अहिलेसम्म यो शब्द लोप भैसकेको हुने थियो । वि.सं. २०७१ यताको ६ वर्षमा बक्सअफिसका थुप्रै रेकर्ड भत्किए । रिपोर्ट केलाउने हो भने, १० करोड क्लबमा ५ फिल्म समावेश भैसकेका छन् । र, प्रदर्शनरत ‘ए मेरो हजुर ३’ यसको नजिक छ । फिल्मले लाइफटाइम १० करोड माथिको ग्रस कलेक्सन गर्ने अनुमान गरिएको छ ।

१० करोड क्लबको पहिलो फिल्म ‘कोहिनूर’ हो । २०७१ मा रिलिज हुँदा यसले ११.५ करोडको व्यापार गरेर रेकर्ड बनाएको थियो ।

कोहिनूरको रेकर्ड तोड्यो छक्का पन्जाले

अभिनेता श्रीकृष्ण श्रेष्ठ दिवंगत भएपछी ‘कोहिनूर’ले बक्सअफिसमा आँधी ल्यायो । सुरुवाती व्यापार कमजोर रहेपनि दर्शक, श्रीकृष्णको अन्तिम फिल्म हेर्न हलसम्म उर्लिए । संसारबाट विदा माग्दै गर्दा श्रीकृष्णले एतिहाँसिक व्यापारिक रेकर्ड राख्दै ब्लकबस्टर फिल्म दिए । फिल्मले अलनेपाल ११.५ करोडको व्यापार गर्यो ।

त्यसअघि सर्वाधिक व्यापार गर्ने फिल्मले ५ करोड आसपासको अंक छुन्थ्ये । त्यतिबेला ‘कोहिनूर’को व्यापार सचिक्कै आश्चर्यजनक नै थियो ।

कसैले पनि सोचेका थिएनन्, होला ‘कोहिनूर’को रेकर्ड २ वर्षमै तोडिन्छ भनेर । २०७३ मा रिलिज भएको ‘छक्का पन्जा’ले ‘कोहिनूर’लाई पछि पार्दै १६ करोड ग्रस कलेक्सन गर्यो ।

२०७४ मा दुई फिल्मको व्यापार १० करोड माथि

‘छक्का पन्जा’को रेकर्ड तोड्न ‘छक्का पन्जा २’ रिलिज भयो । सुरुवाती व्यापारमा आक्रामक देखिएको ‘छक्का पन्जा २’ले सबै रेकर्ड तोड्ने आशा गरिएको थियो । तर, कमजोर ‘वर्ड अफ माउथ’ले फिल्म १४.५ करोडको लाइफटाइम कलेक्सनमै रोकियो ।

यसै वर्ष रिलिज भएको ‘शत्रु गते’लाई ‘छक्का पन्जा’को रेकर्ड तोड्न सक्ने फिल्मको रुपमा हेरिएको थियो । तर, १३ करोड व्यापार गरेको फिल्मले ‘छक्का पन्जा २’को कलेक्सनलाई पनि उछिन्न सकेन ।

२०७५ मा तोडियो ‘छक्का पन्जा’को रेकर्ड

व्यापारिक हिसावले कमजोर मानिएको साल २०७५ मा ‘छक्का पन्जा ३’ले अर्को ठुलो रेकर्ड राख्यो । ‘छक्का पन्जा’ रेकर्ड तोड्दै फिल्मले १९.१ करोडको व्यापार गरेको दावी निर्माण पक्षले गरेका छन् ।

गत वर्षनै प्रदर्शनमा आएको ‘ए मेरो हजुर ३’ १० करोड क्लबको कान्छो सदस्य बन्ने ट्रेडको अनुमान छ । फिल्मले चौथों साताको अन्त्यसम्म ९.५ करोडको व्यापार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्