शो काउन्ट: अग्रिम बुकिङमा ‘वीर विक्रम २’ भन्दा ‘जात्रै जात्रा’ आगाडी



रंगखबर, काठमाडौँ – भनिन्छ सुरुवाती शोज र हल संख्या बढी पाउँदा फिल्मले बक्सअफिसमा राम्रो गति लिन्छ । त्यसैले पहिलो दिनको शोजले फिल्मको व्यापारमा उल्लेख्य भूमिका खेल्दछ । नेपालको सन्दर्भमा पहिलो साताको व्यापारबाट बढी शेयर प्राप्त हुने भएकाले उच्च शोज पाउनु मेकरका लागि फलदायी मानिन्छ ।

त्यसैले सुरुवाती शोजको फाइदा उठाउन मेकरका ज्ञानेंद्रिय सधै तत्पर हुन्छन । यो साता नेपाली बक्सअफिसमा ‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’सँगै दुई हलिउड फिल्म प्रदर्शनमा आउँदै छन् । यी सँगै अघिल्लो साता रिलिज भएका ‘स्टुडेन्ट अफ द इयर २’, ‘दाल भात तरकारी’ र ‘एभेन्जर्स: इन्ड गेम’ केहि शोजमा यथावत रहनेछन ।

शुक्रबारको लागि देशभरका ठुला मल्टीप्लेक्सले १ सय ४४ शोज निर्धारण गरेका छन् । जसमध्ये फ्रेस फिल्मले ८१.९४ प्रतिशत स्थान ओगटेका छन् । भने, १८.०५ मा पुराना फिल्म चलिरहने छन् । त्यस्तै दुई नेपाली फिल्मले मात्रै ६१.८० प्रतिशत शोज पाएका छन् । जुन, सुखद हो ।

‘जात्रै जात्रा’लाई ३७.५ प्रतिशत

प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ले सुरुवाती शोजमा मल्टीप्लेक्स तर्फ ‘वीर विक्रम २’लाई जितेको छ । ५४ शोज पाएको फिल्मले कुल संख्याको ३७.५ प्रतिशत हिस्सा सुरक्षित गरेको हो ।

विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउत अभिनित फिल्मलाई क्युएफएक्स च्यानलले ३२ शोज उपलब्ध गराएको छ । भने, क्युज/सिडिसीले समान ५/५ र एफक्युब/बिग मुभिज/बिएसआरले ४/४ शोज दिएका छन् ।

‘वीर विक्रम २’लाई २४.३० प्रतिशत

मिलन चाम्स निर्देशित फिल्मले मल्टीप्लेक्समा ३५ शोजका साथ २४.३० प्रतिशत हिस्सा ओगट्न सफल भएको छ । ३० प्रतिशत फिल्मको लागि उचित हुने थियो । तर, पनि सिंगल स्क्रिनमा फिल्मले राम्रो हल पाउने आशा गरिएको छ ।

फिल्मलाई क्युएफएक्सले २१ शोज दिएको छ । त्यस्तै सिडिसीले ४, एफक्युब/बिग मुभिजले ३/३ र क्युज/बिएसआरले २/२ शोज उपलब्ध गराएका छन् । पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी, बुद्दि तामाङ अभिनित फिल्मले बुधबार सम्पन्न प्रिमियरमा मिश्रीत प्रतिक्रिया पाएको थियो ।

नयाँ हलिउड रिलिज ‘जोन विक: च्याप्टर ३’ र ‘हाउ टु ट्रेन योर ड्रागन: द हिडन वर्ल्ड’ले २०.१३ प्रतिशत कब्जा गरेका छन् । जसमध्ये ‘जोन विक: च्याप्टर ३’को अग्रिम बुकिङ राम्रो छ ।

प्रतिक्रिया दिनुहोस्