‘रातो टिका निधारमा’ साम्राज्ञी र अंकितको जोडी, निताको कोसँग ?



रंगखबर, काठमाडौँ – अशोक शर्माले निर्देशन गर्ने फिल्म ‘रातो टिका निधारमा’ घोषणा गरिएको छ । राजधानीमा सम्पन्न घोषणा सभामा छोरा अंकित शर्मालाई निर्देशक शर्माले फिल्मी स्टाइलमा इन्ट्री गराए ।

नयाँ तरिका अपनाइएको कार्यक्रममा कुमारीको पर्दामा सम्पूर्ण परिवारलाई फोटोसहित सार्वजनिक गरियो । भने, अंकितले पर्दा हुँदै प्रेसमिटमा इन्ट्री गरे । उनको इन्ट्री गज्जबको थियो ।

फिल्ममा अंकितले सम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधेछन् । उसो त गत वर्षको हिट फिल्म ‘जय भोले’मा अंकितले सहायक निर्देशकको भूमिका निर्वाह गरिसकेका छन् । अंकितले मलेसियाबाट डिजिटल फिल्म एण्ड टेलिभिजनको कोर्षमा ब्याचलर सकाएका छन् ।

त्यस्तै फिल्ममा निता ढुंगानाले रविन्द्र झासँग जोडी बाँध्दा, बुद्दि तामाङ र खुश्बु खड्काको जोडीलाई दर्शकले पहिलो पटक पर्दामा हेर्न पाउने छन् । कलाकार र प्राविधिक स्टेज चढ्दै गर्दा अभिनेत्री लक्ष्मी गिरीले सबैलाई रातो टिका लगाई दिएर स्वागत गरेकी थिइन्  ।

फिल्मको छायाँकन जेठ १० गतेबाट सुरु हुनेछ । छायाँकनको सुरुवातमा फिल्मको शिर्ष गीतलाई भव्य सेटमा खिचिने निर्देशक शर्माले जानकारी दिए । जसमा साम्राज्ञी र अंकितलाई फिचर्ड गरिनेछ । यसको ओर्जिनल भर्सनमा राजेश हमाल र करिश्मा मानन्धरले सिग्नेचर ठुम्का लगाएका थिए ।

फिल्ममा बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतको पनि अभिनय रहनेछ ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण हुने फिल्ममा किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा रहनेछन । निर्देशक शर्माकी छोरी कृतिले उनलाई निर्देशनमा सहयोग गर्नेछिन् ।

फिल्ममा शम्भुजित बाँस्कोटा/कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स रहनेछ ।

प्रतिक्रिया दिनुहोस्