दशैँमा ‘छ माया छपक्कै’ भर्सेस ‘रातो टिका निधारमा’, यस्तो छ – शर्माको समीकरण



रंगखबर, काठमाडौँ – गत वर्षको दशैँ लक्षित गरेर ‘छक्का पन्जा ३’ र ‘जय भोले’ रिलिज भएका थिए । दशैँको नजिक पुग्दासम्म दुवै फिल्मले आधिकारिक रिलिज डेट तय गर्न सकेका थिएनन् । ‘छक्का पन्जा ३’को रिलिज डेटमै निर्देशक अशोक शर्माले फिल्म जुधाउन खोजेको अड्कलबाजी काटिए ।

 

रिलिजको २० दिन अगाडी मात्र ‘छक्का पन्जा ३’ले घटस्थापनामा आउने घोषणा गर्यो । तर, यहिँ मितिमा ‘जय भोले’ पनि रिलिज हुने अनुमानले फेल खायो । उसले सेफ ल्याण्डिङ खोज्दै फूलपातिलाई रिलिज लक गर्यो । एक साताको अन्तरमा रिलिज रिलिज भएपनि दुई फिल्मको प्रतिस्पर्धा बक्सअफिसमा भैरह्यो ।

‘छक्का पन्जा ३’ले कीर्तिमानी व्यापार गर्दा ‘जय भोले’ले पनि लगानी सुरक्षित गरेर मुनाफा कमायो ।

अब यो प्रतिस्पर्धा आगामी दशैँमा पनि हुने भएको छ । यसपटकको दशैँमा दीपक-दीपाको ‘छ माया छपक्कै’ र अशोकको ‘रातो टिका निधारमा’ रिलिज हुनेछन । दीपक-दीपाले विगतका केहि वर्षदेखि सुरु गरेको दशैँ रिलिजलाई निरन्तरता दिएका छन् । तर, यसपटक दशैँ लक्षित गरेर निर्देशक शर्माले गत वर्ष नै रिलिज लक गरिसकेका थिए ।

सहमतिमा आए सहमति, नत्र काइते खेल सुरु

आइतबार फिल्म ‘रातो टिका निधारमा’को घोषणा सभामा निर्देशक शर्माले दशैँ रिलिजका बारेमा मुख खोले । ‘यदि दशैँमा आउने कुनै पनि फिल्मले सँगै बसेर, सल्लाहमा रिलिज डेट तोक्न तयार छ भने म पनि तयार छु । तर, काइते गेम खेल्ने हिसाव हो भने म पनि त्यहि गेम खेल्छु ।’ निर्देशक शर्माले सबै प्रष्ट पारिदिए ।

अब यहाँबाट के बुझ्न सकिन्छ ‘यदि दीपक-दीपा सहमतिमा आएर रिलिज डेट तय गर्छन भने त्यसमा शर्माको पनि सहमति रहनेछ । होइन, भने सहमति बिनाको निष्कर्षले दुवै फिल्म जुध्न सक्नेछन ।’

प्रतिक्रिया दिनुहोस्