जब ‘रातो टिका निधारमा’को कथा भद्रगोल टिमको फिल्मसँग मिल्न पुग्यो …



रंगखबर, काठमाडौँ – ‘साम्राज्ञीलाई ‘जय भोले’मा पनि अप्रोज गरेका थियौँ । तर, उनको व्यस्तताले त्यो सफल हुन् सकेन । दोस्रो पटकको अफर उनले सहर्ष स्विकारिन ।’ निर्देशक अशोक शर्माले फिल्म ‘रातो टिका निधारमा’को बारेमा बेलिबिस्तार लगाउँदै गए ।

फिल्मको घोषणा गर्ने तयारी गरियो । त्यसै बीचमा भद्रगोल टिमले बनाउन लागेको फिल्म फ्लोरमा जाने तयारी गरिरहेको थियो । त्यति नै बेला समस्या आइपर्यो । दुवै फिल्मको स्टोरीमा समानता भेटिए । फिल्मको घोषणा स्थगित गरियो ।

‘भद्रगोल टिमसँग ४/५ दिन छलफल गर्यौँ । त्यसपछि फिल्मको स्टोरीलाइनमा केहि ट्वीइस्ट थप्ने सहमति भयो । छायाँकनमा ढिलाई हुने भएपछि साम्राज्ञीलाई केहि दिन धैर्य गर्न आग्रह गर्यौँ । खुसि त त्यतिबेला मिल्यो जतिबेला साम्राज्ञीले फिल्मको छायाँकन जहिले भएपनि आफु पर्खिन राजी भएको कुरा सुनाइन ।’ निर्देशकले अगाडी थपे ‘त्यसपश्चात स्क्रिप्ट लेख्न म गुप्तबास गए ।’

गुप्तबासमा उनलाई खगेन्द्र लामिछाने र शान बस्नेतले सघाएका थिए । आइतबार फिल्मको घोषणा सभामा निर्देशक शर्मा उत्साहित देखिन्थ्ये । ‘रातो टिका निधारमा’बाट उनले छोरा अंकित शर्मालाई डेब्यु गराउदै छन् । अंकितको जोडी साम्राज्ञीसँग बाँधिने छ । साम्राज्ञीले फिल्ममा पहिलो पटक गाउँले युवतीको भूमिका निर्वाह गर्दैछिन् ।

फिल्ममा निता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्