निर्माता बानियाँको दुखेसो, ‘जात्रै जात्रा’लाई कम शो छुट्याउदा दर्शक फर्किए



रंगखबर, काठमाडौँ – जेठ ३ गते रिलिज भएको फिल्म ‘जात्रै जात्रा’ अहिले तेस्रो सातामा सफलताका साथ प्रदर्शन भैरहेको छ । पहिलो साता राजधानी अधिनमा रहेका ६ ठुला मल्टीप्लेक्समा फिल्मले ५४ शोज पाएको थियो ।

जबर्जस्त व्यापारले दोस्रो सातामा पनि देशभर फिल्मले उही ‘मोमेन्टम’ कायम गरिरह्यो । दुई सातामा  ७ करोड ३० लाख व्यापार गरेको फिल्मलाई तेस्रो सातामा शोजमा बढोत्तरी गरि ६० माथी पुर्याइयो । तर, पनि व्यापारमा गिरावट आएन ।

तेस्रो विकेन्डमा पनि जबर्जस्त व्यापार गरेको फिल्म सोमबार देखि केहि मात्रामा ओरालो लागेपनि ‘मोमेन्टम’ गुमाएको थिएन । तर, बुधबारै रिलिज भएको बलिउड फिल्म ‘भारत’ले ‘जात्रै जात्रा’लाई असह्य नोक्सान पुर्याएको छ ।

मल्टीपेल्क्सका पर्दामा प्राय: शोजबाट ‘जात्रै जात्रा’लाई उतारिएको छ । ६० शोजमा प्रदर्शन भैरहेको फिल्मलाई बुधबारदेखि भने जम्मा १२ शोजमा झारिएको छ । उता ‘भारत’लाई देशभर ११८ शोज छुट्टयाइयो ।

यस विषयमा निर्माण पक्ष मंगलबार बेलुकासम्म मौन नै थियो । तर, बुधबार ‘जात्रै जात्रा’मा देखिएको दर्शकले गर्दा निर्माता रविन्द्र सिंह बानियाँले दुखेसो पोखेका छन् । फेसबूकमा स्टाटस लेख्दै उनले प्राप्त शोज प्रयाप्त नभएको र जसले गर्दा दर्शकले टिकट नपाएर फर्कनु परेको गुनासो गरेका छन् ।

बुधबार पाएको १२ शोजमा ‘जात्रै जात्रा’ले शतप्रतिशत अकुपेन्सी कायम गरेको थियो । प्रयाप्त शोज नपाउँदा दर्शक फर्किए पछि निर्माता बानियाँले रुष्ट भाव पनि व्यक्त गरेका छन् । ‘नेपाली फिल्म क्षेत्र मा आफ्नो योगदान को बखान गरेर नथाक्नेहरुले मेरा भारत माहान भनेको पनि देखियो !’ उनले लेखेका छन् ।

उनको पुरा स्टाटस

प्रदीप भट्टराई निर्देशित फिल्ममा विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउत र दयाहाङ राई लगायतको मुख्य भूमिका छ । १० किलो सुनको कथा भन्ने फिल्मलाई दर्शक तथा समिक्षकले राम्रो भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्