‘जाइरा’ टिजरमा मिक्स मार्शल आर्ट नम्रताको दुई रुप



रंगखबर, काठमाडौँ – गत वर्षको ‘प्रसाद’ रिलिज पछि अभिनेत्री नम्रता श्रेष्ठको कुनै पनि फिल्म रिलिज भएका छैनन् । अब भने, नम्रताको फ्यानको लागि नयाँ फिल्म हेर्ने अवसर छिट्टै मिल्ने भएको छ । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘जाइरा’को टिजर सार्वजनिक गरिएको छ ।

५८ सेकेण्ड लामो टिजरमा दर्शकले नम्रतालाई मात्र देख्न पाउने छन् । किनकी, उनि फिल्मको शिर्ष भूमिकामा प्रस्तुत भएकी छन् । मिक्स मार्शल आर्ट (एम.एम.ए) खेलाडीको भूमिकामा देखिएकी नम्रतालाई लाचार र बलियो महिलाको रुपमा देखाइएको छ । उनि छोटो कपाल र सुगठित शरीरमा देखा परेकी छन् ।

यहिँ फिल्मबाट निर्देशन यात्रा थालनी गरेका आशुतोष राज श्रेष्ठले बदला फिल्मको मुख्य प्लट रहेको जानकारी दिए । जहाँ बदलाको लागि नम्रताले एम.एम.ए.को सहारा लिन पुग्छिन । तर, टिजरमा उनले केको लागि बदला लिन खोजेको भन्ने खुलाइएको छैन ।

भदौ ६ गते रिलिज हुने फिल्ममा नुपबिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगर पनि अभिनय छ ।

कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडले संगीत भरेको फिल्ममा सम्राट बस्नेतको द्वन्द, राउल मोक्तान र मेघराज चेम्जोङले एक्सन कोरियोग्राफीको काम गरेका छन् । बाबु श्रेष्ठले खिचेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको व्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । फिल्ममा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा छ ।

प्रतिक्रिया दिनुहोस्