कलाकार संघको अध्यक्षमा रविन्द्र खड्काको जित, ५७ मतले हारिन सरिता



रंगखबर, काठमाडौँ – नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा रविन्द्र खड्का विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मत अन्तरले हराए । शनिबार सम्पन्न संघको सत्रौँ साधारण सभामा खड्का प्यानलका उम्मेदवारले सर्वाधिक पदमा जित आत्मसाथ गरे ।

३ सय ८७ जना कलाकार मतदान गरेको निर्वाचनमा अध्यक्ष खड्काको पक्षमा २१८ मत खस्यो । उता, लामिछानेले भने जम्मा १६१ मत पाइन् ।

उपाध्यक्ष पदमा सर्वाधिक २४३ मत ल्याउदै अभिनेत्री रेजिना उप्रेती विजयी भइन । यस्तै उपाध्यक्षमै सानु कुमार ताम्राकारले १७५ मत ल्याएर विजय हाँसिल गरे । उपाध्यक्ष पदका उम्मेदवार मनोज केसीले ‘१४२’ र विनोद कुमार भट्टराईले ‘९६’ पराजय भोगे ।

१८७ मत ल्याएका चेत बहादुर सिंहले महासचिव पदमा संजय खतिवडालाई ३१ मतान्तरले पाखा लगाए । खतिवडाले १५६ मत ल्याए ।

सचिव पदमा १९४ मत पाएर पनाह अधिकारी विजयी भइन । १६९ मत ल्याएकी प्रतिद्वन्द्वी कविता गेलालले २५ मत अन्तरको पराजय बेहोरिन । खड्का प्यानलका सुनिल कटुवाल कोषाध्यक्षमा निर्विरोध चयन भइसकेका छन् । यस्तै, सह-कोषाध्यक्षमा अभिनेत्री पवित्राले २२० मत ल्याएर जित हासिल गरिन । उनका प्रतिस्पर्धी डि.बि बम्जनले जम्मा १३३ मत पाए ।

१० जना सदस्य तर्फ शितल केसी, जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भए । सदस्य पदमा शितल केसीले सर्वाधिक मत प्राप्त गरे ।

३ वर्षको कार्यकालका अध्यक्षमा निर्वाचित भएका रविन्द्र खड्काले संघको हक हितका लागि लड्ने बताए । साथै, निर्वाचन अगाडी गरिएका प्रतिवद्दता पनि पुरा गर्ने अठोट गरे । अध्यक्ष पदमा हार बेहोरेकी सरिता लामिछानेले खड्कालाई जितको बधाई दिदै खुसि व्यक्त गरिन ।

प्रतिक्रिया दिनुहोस्