२०७६ को सुरुवात राम्रो, दुई महिनामा ३ फिल्म चले



रंगखबर, काठमाडौँ –  गत वर्ष रिलिज भएका ९६ फिल्म मध्ये ४ फिल्मले मात्र नेपालबाट नाफाको व्यापार गरे । त्यति बेला मेकरहरु अत्तालिएर सामाजिक संजालमा दु:ख व्यक्त गर्न तर्फ लागे । कतिले त बक्सअफिसमा संकटकाल लाग्ने भविष्यवाणी गर्न भ्याए ।

एक पछि अर्को फिल्मले हलमा पानि भन्न नपाइरहेको समयमा वर्षको अन्तिममा रिलिज ‘ए मेरो हजुर ३’ले गज्जबको व्यापार गर्यो । केहि दिन अगाडी हलमा प्रदर्शनको ५१ औँ दिन पार गरेको फिल्म २०७५  को हिटको सुचीमा थपियो । यसअघि ‘छक्का पन्जा ३’, ‘नाइँ नभन्नु ल ५’ र ‘जय भोले’ हिटको सुचीमा थिए ।

‘ए मेरो हजुर ३’ले लिएको गतिलाई ‘दाल भात तरकारी’ले आत्मसाथ गर्यो । बैशाखमा रिलिज भएको यो फिल्मले घरेलु बक्सअफिसबाटै निर्माता सेभ गरायो । तर, व्यापार भने सोचे जस्तो भएन । कमजोर समिक्षा र ‘वर्ड अफ माउथ’का वावजुत लगानी सेभ गर्नु नै यो फिल्मको सफलता मान्न सकिन्छ ।

यी दुई फिल्म पाएको सफलता बीच रिलिज भएको ‘जात्रै जात्रा’ले पुन: हलसम्म दर्शक डोर्यायो । चौथों सातामा प्रदर्शन भैरहेको फिल्मले लगानी उठाएर निर्मातालाई मुनाफा दिन सुरु गरिसकेको छ ।

‘जात्रै जात्रा’को ओभरसिज प्रदर्शन पनि उत्साहजनक रहेकाले यसले निर्मातालाई करोडौँ रुपैयाँ दिनेछ ।

गत वर्षको कुरा गर्दा फिल्मले क्षेत्रले पहिलो हिट फिल्म पाउन भदौ महिना कुर्नु पर्यो । यहि महिनामा रिलिज भएको ‘नाइँ नभन्नु ल ५’ले सफलताको स्वाद चाखेको थियो ।

यो वर्षका लागि राम्रो सुरुवात मिलिसकेको छ । ‘जात्रै जात्रा’ले सुपरहिटको व्यापार गर्दा ‘दाल भात तरकारी’ले आफुलाई सुरक्षित गरिसकेको छ । अब हेर्न बाँकी छ, २०७६ नेपाली बक्सअफिसका लागि कस्तो जानेछ ?

यो वर्ष ‘सम्हालिन्छ कहिले मन’, ‘छ माया छपक्कै’, ‘रातो टिका निधारमा’, ‘घामट शेरे’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘प्रेमगीत ३’, ‘हजार जुनीसम्म’ जस्ता ठुला फिल्म रिलिज हुँदैछन् । यी फिल्मलाई लिएर बक्सअफिसमा आशा राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्