बोर्ड वार्षिकोत्सवमा १० फिल्मर्मीलाई सम्मान गरिने



रंगखबर, काठमाडौँ – असार १६ गते चलचित्र विकास बोर्डले आफ्नो १९ औँ वार्षिकोत्सव मनाउँदै छ । वि. सं. २०५७ सालमा स्थापना भएको बोर्ड नेपाली फिल्मको विकासको लागि कार्य गर्दै आइरहेको छ ।

१९ औँ स्थापना दिवसको दिनमा बोर्डले गर्ने केहि कार्यको बारेमा जानकारी दिइएको छ । गत वर्षदेखि सुरु गरिएको पुराना नेपाली फिल्म तथा वृतफिल्मलाई डिजिटलाईजेशन तथा रेस्टोरेसन गर्ने कार्य जारी छ । यस क्रममा  तात्कालीन शाही नेपाल चलचित्र संस्थानले निर्माण गरेका १० फिल्मको डिजिटलाईजेशन गरिएको छ ।

पुरानो इतिहास बोकेका फिल्म आमा, परिवर्तन, हिजो आज भोलि, मनको बाँध, बलिउँदो आकाश, के घर के डेरा, सिन्दुर, शान्तिद्विप, जीवनरेखा, कुमारीको केहि दृश्यहरु वार्षिकोत्सवमा देखाइने पनि बताइएको छ । यस्तै बोर्डले ऐतिहासिक महत्व बोकेका १५ घण्टा समयावधि बराबरका वृत्तचित्रहरुलाई समेत पुरानो रिलबाट डिजिटलाईजेशन गरिसकेको छ । यी वृत्तचित्रहरुमा ती कालखण्डका एतिहासिक महत्वपूर्ण घटना सहित नेपालको सम्पदा, सँस्कृति तथा विकास निर्माण जस्ता विविध पक्षलाई समेटिएको छ ।

कार्यक्रममा नेपाली फिल्म क्षेत्रमा स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान पुर्याएका १० जना फिल्मकर्मीलाई ‘चलचित्रकर्मी विशेष योगदान सम्मान–२०७६’बाट सम्मानित गरिने भएको छ । फिल्मकर्मीहरुको योगदानको राज्यले पनि सम्मान गर्नुपर्छ भन्ने उद्देश्यका साथ यसवर्षबाट ‘चलचित्रकर्मी विशेष योगदान सम्मान’बाट सम्मानित गर्न लागिएको बोर्डले बताएको छ। यस्तो सम्मानले फिल्म क्षेत्रमा योगदान दिँदै आउनु भएका श्रष्टाहरुलाई अझ प्रोत्साहन मिल्ने विश्वास बोर्डले लिएको छ । चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहालको संयोजकत्वमा सम्मानित व्यक्तिहरुको चयन कार्य सुरु गरिएको छ ।

बोर्डले गएको एक वर्षमा गरेका कार्य विवरण र आउँदो आर्थिक वर्षसम्म गरिने भावी योजनाबारे समेत वार्षिकोत्सवको अवसरमा प्रकाश पारिन्छ । यस्तै बोर्डले वार्षिक रुपमा प्रकाशन गर्दै आएको नेपाली फिल्म क्षेत्रको महत्वपूर्ण दस्तावेज युक्त कृति चलचित्र मञ्चको नयाँ अङ्कसमेत सोही दिन सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्