फिल्मलाई १० लाख दिदा गाउँपालिका अध्यक्ष विवादमा



रंगखबर, काठमाडौँ – डोटीमा छायाँकन भैरहेको फिल्म ‘साङ्लो’ विवादमा तानिएको छ । डोटीको जोरायल गाउँपालिकाले १० लाख रकम फिल्मलाई दिए पछि स्थानीयले विरोध गरेका हुन् ।

गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले फिल्मको टीमलाई खान, बस्न र यातायात खर्चका लागि बजेट छुट्टयाएको बताएका छन् । उनले फिल्ममा अभिनयसमेत गरेका छन् । अहिले सरकारी पैसा खर्च गरेर फिल्म खेलेको भन्ने उनलाई आरोपसमेत लागेको छ ।

तर, अध्यक्ष ओझाले सबैको सल्लाहमा ‘पर्यटन प्रवर्द्धन’ शिर्षकमा उक्त रकम फिल्मलाई दिइएको बताएका छन् । उक्त गाउँमा अहिलेसम्म कुनै पनि फिल्म छायाँकन गरिएका छैनन् । त्यसैले गाउँले हौसिएर फिल्मलाई सहयोग गरेको अनुमान लगाउन सकिन्छ । तर, पनि गाउँ बिकास निर्माणको बजेटबाट कुनै पनि फिल्मलाई १० लाख रकम दिनु सोचनीय विषय हो ।

फिल्ममा ओझाले अभिनेत्री निकिता चन्दकको बुबाको भूमिका निर्वाह गरेका छन् । साथै, उनका दाई दीर्घराज ओझाले पनि अभिनय गरेका छन् । फिल्ममा विराज भट्टको लगानी, निर्देशन र अभिनय पनि छ । यस विषयमा भट्टले अहिलेसम्म मुख खोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्