बिकास बोर्ड भन्छ, ‘ट्वाइलेटको कमोडमा खिचिएको सरोज खनालको फोटो नियोजित’



रंगखबर, काठमाडौँ – ‘राष्ट्रिय चलचित्र पुरस्कार’को वितरण समारोहमा अभिनेता सरोज खनालले अवार्डको व्यवस्थापन माथि औँला उठाएपछि चलचित्र बिकास बोर्डले आपत्ति जनाउदै प्रेस विज्ञप्ति जारी गरेको छ ।

अवार्ड समारोह भैराख्दा अभिनेता खनालले ट्वाइलेटको कमोडमा बसेर नृत्यको लागि पालो कुरेको बताएका थिए । देशकै ठुलो कलाकारले अवार्डमा त्यस्तो अवस्था भोग्नु परेपछि ठुलो गरिमा बोकेको राष्ट्रिय अवार्ड माथिको प्रश्न चिन्ह खडा भएको थियो ।

यसै विषयमा बोर्डले विज्ञप्ति जारी गर्दै खनालको उक्त कार्य नियोजित रहेको बताएको छ ।

अभिनेत्री करिश्मा मानन्धरले अवार्डको स्थानप्रति असन्तुष्टि जनाउदै लेखेको स्टाटसमा खनालले फोटोसहितको कमेन्ट गरेका थिए ।

उनले कमेन्टमा लेखेका थिए ‘सम्मानित हुने र सम्मान गर्ने त सोफामा बिराजमान थिए तर हामी पर्फमर करिब ३५ जनालाई ८ बाइ १० को कोठामा कोचेर राखे। म चाहिँ ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसेँ। के गरुँ, आफ्नै क्षेत्रको दुर्दशा पब्लिकलाई देखाएर आफ्नै बेइज्जत हुन्छ र सेयर गरिनँ तर ‘मनको बह कसैलाई कह’ भन्छन्, त्यसैले मैले तिमीसँग सेयर गर्न चाहेँ।’

खनालको कार्यको खण्डन गर्दै बोर्डले विज्ञप्तिमा भनेको छ, ‘अभिनेता सरोज खनालले राष्ट्रपति कार्यालयको सभा हलभित्र कार्यक्रम प्रस्तुत गर्ने क्रममा त्यहाँ रहेको शौचालयमा बसेर व्यङ्ग्यात्मक शैलीमा फोटोसेसन गरेर सामाजिक सञ्जालमा पोष्ट गरी लेख्नुभएको स्टाटस र त्यसपछि विभिन्न सञ्चार माध्यममा आएको समाचारबारे बोर्डको ध्यानाकर्षण भएको छ। उक्त ठाँउमा गरिएको फोटोसेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको बोर्डको ठहर छ।’

बोर्ड विज्ञप्ति:-

प्रतिक्रिया दिनुहोस्