अनुभवको लागि आयुषले गाउने



रंगखबर, काठमाडौँ – भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प – २०१९’मा चौथों स्थान हाँसिल गरेका आयुष केसीले नेपाली फिल्मी संगीतमा स्वर भर्ने भएका छन् ।

उनले बालकलाकार अनुभव रेग्मीको लागि फिल्म ‘हजार जुनीसम्म’को शिर्ष गीत गाउँदैछन् । आयुषले गाउने गीतमा अनुभवको अभिनय रहने फिल्मका निर्देशक बिकाशराज आचार्यले बताएका छन् ।

निर्देशक आचार्यले यसअघि ‘नाइँ नभन्नु ल २’बाट बालगायक प्रेम परियारलाई ब्रेक दिएर सफलताको उचाईमा पुर्याइदिएका थिए ।

वर्षको प्रतिक्षित मध्येको एक ‘हजार जुनीसम्म’ म्युजिकल लभस्टोरी फिल्म हो । भदौ ६ गते रिलिज हुने फिल्मको दुई गीत सार्वजनिक भैसकेका छन् । फिल्ममा एकसे-एक राम्रो गीत समावेश गरिने निर्माण पक्षले प्रेसमिटमा बताइएको थियो । तर, सार्वजनिक दुई गीतले खासै सफलता पाएका छैनन् ।

लगातार ‘नाइँ नभन्नु ल’को पाँच सृंखला निर्माण गरेका निर्देशक आचार्यले यसपटक फ्रेस नाममा जोखिम मोलेका छन् । आर्यन सिग्देल, प्रियंका कार्की, स्वस्तिमा खड्का, अनुभव रेग्मी, संचिता लुइँटेल, सलोन बस्नेत, शिवहरि पौडेल जस्ता कलाकारले अभिनय गरेका कारण ‘हजार जुनीसम्म’ले बक्सअफिसमा सकारात्मक नतिजा दिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्