विश्वकै सर्वाधिक कमाउने फिल्मले तोड्न नसकेको ठुलो रेकर्ड



रंगखबर, काठमाडौँ – ‘रेकर्ड बन्छन तोडिनको लागि’ । र, रेकर्ड तोड्ने बस्तुको चर्चा धेरै हुन्छ । अझ फिल्मी दुनियाँको व्यापारिक पाटोमा रेकर्डबारे समाचार सम्प्रेषण भैरहन्छन ।

पछिल्लो खबर हलिउडबाट छ । हलिउडको ‘एभेन्जर्स: इन्ड गेम’ले विश्वव्यापी सर्वाधिक व्यापार रेकर्ड आफ्नो पक्षमा पारेको छ । करिब १० वर्षदेखि ‘अवतार’को नाममा रहेको विश्वकै सर्वाधिक ग्रसरको पगरी ‘एभेन्जर्स’ले आफ्नो शिरमा गुथेको छ ।  एन्थोनी रुसो र जोय रुसोको निर्देशकीय सिनेमालाई यो पगरी गुथ्न ८६ दिनको रेस लगाउनु पर्यो ।

ओपनिङको डे, विकेन्ड र विकमा द्रुत गतिमा कमाई गरेको ‘एभेन्जर्स’ करिब २ महिनाको यात्रामा हार नजिक पुगिसकेको थियो । इन्चले ‘अवतार’को पछाडी पर्ने सङ्केत देखिएको बेला रि-रिलिज गरियो । जतिबेला ‘अवतार’को रेकर्ड भन्दा ४५ मिलियन डलरको व्यापार पछाडी थियो ‘एभेन्जर्स’ ।

रि-रिलिजको फाईदा उठाउँदै अन्तत: घरेलु रिलिजको ८६ औँ दिनमा ‘अवतार’को विश्वव्यापी कमाईलाई उछिन्न सफल भयो । ५ लाख बढी व्यापारको साथ अगाडी रहेको ‘एभेन्जर्स’को कुल कलेक्सन २,७९०.२ मिलियन अमेरिकी डलर छ ।

जेम्स क्यामरून निर्देशित ‘अवतार’ले २३४ दिन घरेलु बक्सअफिसमा रनिङ लगाउँदै २,७८९.७ मिलियन डलर बटुलेको थियो ।

यसअघि ‘अवतार’ले पनि १२ वर्षे लामो रेकर्डलाई उछिन्दै ‘टाइटानिक’ रेकर्ड तोडेको थियो । १९९७ मा २,१८७.५ मिलियन डलर कमाई गरेको ‘टाइटानिक’ विश्वकै सर्वाधिक कमाउने फिल्मको सुचीमा तेस्रो नम्बरमा छ ।

‘एभेन्जर्स’ले तोड्न नसकेको १ रेकर्ड

पहिलो दिन, पहिलो विकेन्ड, पहिलो सातादेखि लिएर विश्वव्यापी सर्वाधिक ग्रसरको रेकर्ड आफ्नो पक्षमा पारेको ‘एभेन्जर्स: इन्ड गेम’ले घरेलु बक्सअफिसमै कमजोर देखिएको छ । घरेलु बक्सअफिसमा ८५४.२ मिलियन कमाई गरेको फिल्मले ‘स्टार वार्स: द फोर्स अवकेन्स’को रेकर्ड तोड्न सकेको छैन । र, सम्भवत: यो रेकर्ड तोड्न मुस्किल पनि छ ।

२०१५ मा रिलिज भएको ‘स्टार वार्स: द फोर्स अवकेन्स’ घरमा सर्वाधिक कमाई गर्ने फिल्म हो । उसको कमाई ९३६.७ मिलियन डलर छ । ‘एभेन्जर्स’लाई यो कमाई उछिन्न ८२.५ मिलियन डलर कमाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्