विदेशी फिल्म आउँदाको भागाभाग कहिलेसम्म ?



रंगखबर, काठमाडौँ – नेपाली मेकरलाई थाहा हुँदैन, आफ्नै फिल्मको आधिकारिक रिलिज डेट । त्यहि भएर त पुर्वनिधारित डेट अन्यौल हुन्छ । यहाँ कुनै पनि बेला रिलिज डेट परिवर्तन हुन् सक्छ ।

त्यसैले दर्शकलाई कुनै पनि फिल्मको रिलिज ढुक्कले कुर्ने अवस्था छैन । उदाहरणकै लागि मानौँ प्रतिक्षित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ । दुई सृंखला सुपरहिट भैसकेको ब्राण्डसँग अन्य फिल्मले जुध्न एकपटक सोच्नै पर्ने हुन्छ । तर, भारतीय फिल्म ‘साहो’को कारण यो फिल्म पछाडी सर्न पुग्यो ।

सार्वजनिक एक टिजर र गीतमा भदौ १३ रिलिज छापिएको छ । अब त्यहि रिलिज डेट कुरेर बसेका दर्शक असोज ३ सम्म पुग्नुपर्ने भयो । यदि पछिल्लो सुचनासँग दर्शक बेखबर भए भने असोज ३ मा दर्शक हल पुग्लान त ?

उता असोज ३ मा सोलो रिलिज पाएको ‘लभ डायरिज’ले ‘कबड्डी कबड्डी कबड्डी’सँग भिडन्त गर्नुपर्ने अवस्था आइपुग्यो । भदौ १३ मा सोलो रिलिजको मौका पाएको ‘मारुनी’सँग ‘कबड्डी कबड्डी कबड्डी’ भिड्न पुगेको थियो । तर, त्यहि मितिमै ‘साहो’ आइदिदा ‘कबड्डी ३’को सातो उड्यो ।

अर्को आशा गरिएको फिल्म ‘हजार जुनीसम्म’लाई त ‘साहो’ले कहिले वारि कहिले पारि पुर्याइदियो । साउन ३० मा रिलिज हुने भनिएको फिल्म ‘साहो’सँगकै प्रतिस्पर्धा छल्न भदौ ६ मा पुग्यो । उता ‘साहो’ले रिलिज परिवर्तन गर्न बितिक्कै पुन: साउन ३० मा फर्कियो । यसरि त दर्शक झुक्याउने काम भयो । साथै, विदेशी फिल्मको अगाडी नेपाली कतिसम्म कमजोर छन् र कहाँसम्मको डर छ भन्ने पुष्टि भयो ।

यो साल मात्रै आशा गरिएका ‘दाल भात तरकारी’, ‘जात्रै जात्रा’, ‘आप्पा’जस्ता फिल्मले रिलिज डेट परिवर्तन गरे । हलिउड फिल्म ‘एभेन्जर्स: इन्डगेम’बाट बच्न बैशाख १३ को रिलिज डेटबाट ‘दाल भात तरकारी’ पछाडी हटेको थियो । त्यसको असर ‘जात्रै जात्रा’सम्म पुग्यो । बैशाख २७ मा रिलिज हुने भनिएको ‘जात्रै जात्रा’ जेठ ३ मा पुगेर ‘वीर विक्रम २’सँग जुध्यो ।

आशा गरिएका र स्टारकास्टले भरिएका फिल्म विदेशीसँग बच्न कमजोर मानिएका नेपाली फिल्मसँगै जुध्न पुग्छन । बाहिर  प्रतिस्पर्धाबाटै विदेशी विस्तापित गर्ने हावा गफ लगाउदै हिड्ने मेकरहरु नजिक पर्ना साथ पुच्छर लुकाउदै कहिलेसम्म हिड्ने ?

प्रतिक्रिया दिनुहोस्