‘रातो टिका निधारमा’ गीत: सारीमा झल्कियो साम्राज्ञीको सुन्दरता



रंगखबर, काठमाडौँ – अशोक शर्माको निर्देशनमा बनेको फिल्म ‘रातो टिका निधारमा’को पहिलो गीत सार्वजनिक गरिएको छ । कल्याण सिंहद्वारा संगीतवद्द  ‘मेरो माया के हो’ रोमान्टिक नम्बरमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा फिचरिङ छन् । अंकितको लागि यो डेब्यु फिल्म हो ।

निशान भट्टराई र अश्मिता अधिकारीले स्वर दिएको गीतमा रवि मल्लले शब्द भरेका छन् । बसन्त श्रेष्ठले कोरियोग्राफी भरेको गीतमा साम्राज्ञी र अंकितको जोडी सुहाएको छ । तर, साम्राज्ञीको अगाडी अंकितको ‘मूभमेन्ट’ फिक्का देखिएको छ । फिल्मको घोषणा समारोहमा अंकितको शानदार इन्ट्रीलाई हेर्दा ‘रातो टिका निधारमा’मा केहि विशेष गर्छन भन्ने आशा थियो । तर, उनि खरो उत्रन सकेका छैनन् ।

पूर्वी नेपालका दृश्य पुरुषोत्तम प्रधानले कुशल ढंगले खिचेका छन् । गीतमा साम्राज्ञीलाई पहिलो पटक सारीमा प्रस्तुत गरिएको छ । सारीमा उनको सुन्दरता झनै छल्किएको छ ।

दशैँमा रिलिज हुने फिल्ममा नीता ढुंगाना, बुद्दि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, खुस्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुसाल, जयनन्द लामा, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको पनि अभिनय छ ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा शम्भुजित बाँस्कोटा/कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ । फिल्ममा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्