भित्तामा पोस्टर टाँसे पछि पत्ता लागेका फिल्मसँगै ‘साइनो’ रिलिज



रंगखबर, काठमाडौँ – फिल्म बनिसके पछि दर्शक माँझ पुर्याउन सहि प्रचारको आवश्यक हुन्छ । प्रचार नै गरिएन भने फिल्म बनाउनु र नबनाउनुमा कुनै अर्थ रहदैन ।

नेपाली फिल्मको सन्दर्भमा केहि फिल्मलाई छोडेर धेरै जस्तो फिल्म सिमित प्रचारमै हलसम्म पुग्छन । तर, दर्शकसम्म पुग्दैनन् । यो साता तीन फिल्म रिलिज भएका छन् । ती फिल्मको प्रचार पनि दयनीय नै रह्यो ।

नेपालको पहिलो अभिनेत्री भुवन चन्दले निर्माण गरेको ‘साइनो’ले प्रयाप्त प्रचार गरेन । त्यसैले हाइप पनि औसत भन्दा कम छ । बाँकी दुई फिल्म ‘रे’ र ‘काँचुली’ भित्तामा पोस्टर टाँसिए पछि मात्रै थाहा भयो, यी फिल्म पनि रिलिज हुँदै रहेछन । अब यहाँनेर फिल्म चलेन भनेर किन रोइलो गर्नु, जब दर्शकलाई नै तपाईको फिल्मबारे थाहा छैन भने ।

रमेश थापा निर्देशित ‘साइनो’मा नीता ढुंगाना, मिरुना मगर र राजकुमारको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको रिलिज पुर्व कुनै त्यस्तो हाइप छैन, जसकारण बक्सअफिसमा सुखद नतिजाको आशा गर्न सकियोस । तर, अन्य दुई फिल्म भन्दा ‘साइनो’ सिमित प्रचार गरेरै भएपनि हल पुगेको छ ।

राजेन्द्र त्रिपाठी निर्देशित ‘रे’ प्रचारबिनै हल पुगेको छ । सुनिल थापा, दिवस धिताल र सुजाता थापाको मुख्य भूमिका रहेको फिल्मले कस्तो व्यापार गर्ला त ? शंकर अधिकारीले निर्देशन गरेको ‘काँचुली’को बारेमा धेरैलाई भित्तामा पोस्टर टाँसे पछि मात्र थाहा भयो, यो पनि फिल्म रहेछ । फिल्ममा ईश्वर खाती र शुभेच्छा थापाको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्