मल्टीस्टारर ‘साइरा नरसिम्हा रेड्डी’ टिजर रिलिज, दशैँमा ‘वार’सँग भिडन्त



रंगखबर, काठमाडौँ – तेलुगु मल्टीस्टारर फिल्म ‘साइरा नरसिम्हा रेड्डी’टिजर सार्वजनिक गरिएको छ । गान्धी जयन्तिको अवसर पारेर अक्टुबर २ मा रिलिज हुने फिल्म वर्षकै बहुप्रतिक्षित हो ।

एतिहाँसिक व्यक्तित्व उइलावाडा नरसिम्हा रेड्डीको जीवनीमा आधारित फिल्ममा तेलुगु मेगास्टार चिरन्जीवी, बलिउड मेगास्टार अमिताभ बच्चनसँगै किचा सुदीप, विजय सेतुपति, जगपति बाबु, रवि किसन, नयनतारा, तमन्ना, निहारिकाजस्ता स्टार कलाकारको अभिनय छ ।

सार्वजनिक टिजर जबर्जस्त बनेको छ । ब्याकग्राउण्ड स्कोर, संवाद, कलाकारको भिन्न अवतार, उत्कृष्ट भिएफएक्स, भव्य सेटले फिल्मको वजन प्रस्ट्याउछ ।

अक्टुबर २ मा रिलिज हुने भएपछि बलिउडमा ठुलो भिडन्त पक्का भएको छ । यहि मितिमा ऋतिक रोशन र टाइगर श्रोफ स्टारर ‘वार’ पनि रिलिज हुँदैछ । यी दुईको नेपाली रिलिज मिति असोज १५ हुन्छ । नेपाली फिल्मको लागि सबैभन्दा उत्तम मानिएको दशैँ बीच दुई ठुला विदेशी फिल्म रिलिज हुँदा नेपाली फिल्ममा डर पैदा भएको छ ।

असोज १० मा रिलिज हुने नेपाली फिल्म ‘रातो टिका निधारमा’लाई अब बक्सअफिसमा प्रत्यक्ष असर पर्नेछ । त्यस्तै असोज ३ गते रिलिज हुने ‘कबड्डी कबड्डी कबड्डी’लाई पनि प्रदर्शनको लामो समय प्राप्त हुने छैन ।

गत वर्ष रिलिज भएको तेलुगु फिल्म ‘केजिएफ’ले नेपालमा ५१ दिने प्रदर्शनको रेकर्ड कायम गरेको थियो । त्यसैले नेपाली  दर्शकको पनि पहिलो रोजाइ ‘साइरा नरसिम्हा रेड्डी’ हुन् सक्छ ।

प्रतिक्रिया दिनुहोस्