बलिउडको ‘फाइन्डिङ फ्यानी’बाट कपि ‘हजार जुनीसम्म’को मूलकथा



रंगखबर, काठमाडौँ – साउन ३० गतेदेखि प्रदर्शन भैरहेको फिल्म ‘हजार जुनीसम्म’ले समिक्षकबाट सुनाउन लायक समिक्षा पाएन । फलस्वरुप बक्सअफिस रिपोर्ट पनि उस्तै दयनीय नै छ ।

‘नाइँ नभन्नु ल’ सिरिजबाट लोकप्रियता र मनग्य आम्दामी गरेका निर्देशक बिकाशराज आचार्य निर्देशित फिल्मबाट सबैमा अपेक्षा थियो । तर, बक्सअफिसमा चिप्लियो ।

फिल्म असफल हुनुको पहिलो कारण ‘कमजोर पब्लिसिटी’लाई मान्न सकिन्छ । जनै पुर्णिमाको दिन रिलिज भएको फिल्मले शनिबार मल्टीप्लेक्सका कुनै पनि शोमा हाउसफुलको व्यापार गर्न सकेन । सार्वजनिक विदामा पनि बक्सअफिसमा कमजोर प्रदर्शन गरेको फिल्मलाई झट्का त त्यतिबेला लाग्यो, जब सञ्चारमाध्यममा समिक्षा आउन थाले ।

फिल्मको प्रस्तुति, पटकथा, कलाकारको अभिनय, निर्देशकको नियतमा समिक्षकले खोट देखाईदिए । आफ्नो प्रेमिकाको सम्झनामा १४  विताएका एक अधबैशें युवकको कथा भन्ने फिल्मले जर्नीलाई आत्मसाथ गरेको छ । यस जर्नी लभस्टोरीको केन्द्रिय पात्र आर्यन सिग्देल हुन् । उनको प्रेमिका (माया)लाई खोज्नु फिल्मको मुख्य कथा हो ।

तपाईलाई स्मरण छ ? सन् २०१४ बलिउडमा निर्माण भएको फिल्म ‘फाइन्डिङ फ्यानी’ । यो व्यंग्यात्मक रोड कमेडी फिल्मको मूल कथानै ‘हजार जुनीसम्म’ले उतारेको छ ।

नसीरुद्धीन शाह, डिम्पल कपाडिया, दीपिका पादुकोण, अर्जुन कपूर र पंकज कपूर स्टारर फिल्मले पनि प्रेमिका (फ्यानी)को लागि जीवन नै समर्पण गरेका एक वृद्दको कथा भन्छ । उक्त वृद्दको भूमिका नसीरुद्धीनले निर्वाह गरेका छन् । जब उनको प्रेमिकाको बारेमा अन्य चार पात्रलाई थाहा हुन्छ । त्यसपछि सबै फ्यानीको खोजिमा निस्कन्छन ।

बिकाश चाम्लिङले ‘हजार जुनीसम्म’को लागि लेखेको कथा पुरापुर ‘फाइन्डिङ फ्यानी’बाट प्रभावित/सारिएको छ । उता रोड कमेडी प्रस्तुति थियो । यता लभस्टोरीमा ढालिएको छ । निर्देशक आचार्यले लेखेको पटकथा पनि मेल खान्छ ।

‘हजार जुनीसम्म’ र ‘फाइन्डिङ फ्यानी’का फरक

‘हजार जुनीसम्म’लाई दर्शक तथा समिक्षकले पुरानै प्रस्तुतिबाट उम्किन नसकेको बासी भनिदिए । उता ‘फाइन्डिङ फ्यानी’को बिल्कुलै नयाँ प्रस्तुतिले फिल्मकर्मी र दर्शकको मन जित्न सफल भयो ।

‘हजार जुनीसम्म’को पात्र स्थापित गर्न सकिएको छैन । न त अभिनय नै दमदार छ । क्यामराको अगाडी राखिदिएर संवाद बोल्न लगाइए झैँ लाग्छन पात्रहरु । ‘फान्डिङ फ्यानी’मा नसीरुद्धीन, पंकज, डिम्पलजस्ता कलाकारको अभिनयले नै मन जित्छ । साथमा दीपिका र अर्जुनको पनि अभिनय राम्रो छ ।  उनिहरुले निर्वाह गरेको पात्र लामो समयसम्म दिमागमा बसिरहन्छन ।

‘हजार जुनीसम्म’को पटकथा निक्कै कमजोर छ । दर्शकहरुको पात्रसँग प्रतिक्रिया नहुँदै कथा भन्न हतारिएको छ । भने, ‘फाइन्डिङ फ्यानी’को सन्दर्भ अनुरुप सलसल बग्छ ।

‘हजार जुनीसम्म’मा गीत जबर्जस्ती घुसाइएको छ । पटकथा कमजोर पार्ने काम नै गीतले गर्छन । तर, ‘फाइन्डिङ फ्यानी’मा गीतले कथा भाव बोकेका छन् । गीत आउँदा कथा रोकिदैन सरसर्ती बग्छ ।

‘हजार जुनीसम्म’लाई समिक्षकले १.५ देखि २.५सम्मको रेटिङ दिएका छन् । भने, ‘फाइन्डिङ फ्यानी’ले ३.५ देखि ४.५ सम्मको रेटिङ पाएको थियो ।

‘हजार जुनीसम्म’को कमजोर ‘वर्ड अफ माउथ’ले बक्सअफिसमा कमजोर बनिरहेको छ । ‘फान्डिङ फ्यानी’को लगातार व्यापार बढ्दै गएको थियो । १२ करोडको मध्यम बजेटमा निर्मित फिल्मले बक्सअफिसमा ३५ करोड छापेको थियो ।

प्रतिक्रिया दिनुहोस्