रेल्वे स्टेशनमा गीत गाएर गुजारा चलाउने रानूको बलिउडसम्मको यात्रा



रंगखबर, काठमाडौँ – केहि समय अगाडी भारतमा एक महिलाले रेल स्टेशनमा गाउदै गरेको भिडियो भाइरल भयो । स्टेशनमा गीत गाउदै आफ्नो जीवन चलाउदै आएकी रानू मण्डलले लता मंगेशकरको ‘एक प्यारका नग्मा हे’ सुरिलो स्वरमा गाएकी थिइन् ।

स्वर सुन्दा लाग्थ्यो कोहि आम महिलाले नभएर एक प्रोफेसनल गायिकाले गीत गाइरहेकी छन् । सामाजिक संजालमा उनको भिडियो यतिसम्म भाइरल भैदियो की रानूलाई बलिउडबाट ठुला-ठुला अफर आउन लागे ।

अहिले उनको जीवनी बदलिएको छ । पछिल्लो खबर अनुसार रानूले चर्चित संगीतकार एवं गायक हिमेश रेशममियासँग फिल्ममा गाउने अवसर प्राप्त गरेकी छन् । हिमेशको आगामी फिल्म ‘ह्याप्पी हार्डी और हीर’को ‘तेरी मेरी कहानी’ नामक गीतमा रानूले स्वर रेकर्ड गराएकी छन् ।

हिमेशले उनिसँग गाउदाको छोटो भिडियो सामाजिक संजालमा सार्वजनिक गरिदिएका छन् । जुन भिडियोले पनि भाइरलको रुप लिएको छ ।

 

सलमानको पिताबाट आदर्श

रानूले यो बाहेक रियालिटी शो ‘सुपरस्टार सिंगर’मा पनि गाउने मौका पाएकी छन् । यो शोमा हिमेश जज छन् । आगामी शोमा रानूले प्रतिस्पर्धी बच्चाहरुसँग स्टेज शेयर गर्नेछिन् । रानूलाई मौका दिए पश्चात हिमेशले एक अन्तर्वार्तामा यो आदर्श सलमान खानका पिता सलिम खानबाट सिक्ने अवसर जुरेको बताएका थिए । सलिमले जीवनमा कोहि प्रतिभा तिमिसँग ठोकिन आएमा त्यसलाई जीवनबाट जान नदिनु भनेका थिए ।

सबैभन्दा ठुलो उपहार

रानूको उक्त गीत भाइरल भएपछि उनको भाग्य मात्र बदलिएन १० वर्षदेखि बिछोडिएकी छोरीलाई भेट्टाउने अवसर पनि मिल्यो । त्यहि गीतको माध्यमबाट उनकी छोरीले खोज्दै आइपुगेकी थिइन् ।

रानूले यो सबै भाग्यलाई आफ्नो दोस्रो जीवन भनेकी छन् । अब यो जीवन जिउन उनले कडा मिहेनत गर्ने बताएकी छन् । रानूको प्रतिभा र बदलिएको जीवन फिल्मको कहानी भन्दा पर छैन ।

प्रतिक्रिया दिनुहोस्