‘पासवर्ड’को लगानीमा ३-४ वटा राम्रो नेपाली फिल्म बन्छन: विक्रम जोशी



रंगखबर, काठमाडौँ – भदौ २७ गते रिलिज हुने फिल्म ‘पासवर्ड’को यसै साता राजधानीमा भव्य प्रिमियर हुँदैछ । र, प्रिमियरमा सहभागी हुन बलिउड अभिनेत्री सन्नी लियोनी आउदै छिन् ।

सन्नी नेपाल आउने भनेकै कारण ‘पासवर्ड’ चर्चामा छ । फिल्मको ट्रेलर तथा गीतले खासै हाइप निर्माणमा भूमिका खेलका छैनन् । त्यसैले निर्माण टिमले सन्नीलाई प्रचारको लागि मात्र प्रयोग गरेको मिडियाको आरोप छ । निर्माता तथा कलाकार विक्रम जोशीले यो कुराको खण्डन गरेका छन ।

सन्नीलाई फिल्म प्रचारको लागि नभएर नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने हेतुले ‘पासवर्ड’सँग जोडिएको उनले बताए । वर्तमान समयमा नेपाली सिनेमाको विदेशी बजार खोज्नु पर्ने उनको तर्क छ । उसो त सन्नीलाई यसअघि नै फिल्म ‘ह्याप्पी डेज’को लागि अफर गरिएको उनले खुलासा पनि गरेका छन् । तर, त्यतिबेला बजेटले नधान्ने भएपछी सन्नीलाई फिल्म खेलाउने चाहना तुहिएको थियो । फिल्ममा सन्नीको विशेष भूमिका रहेको निर्माण पक्षले बताएको छ ।

राम्रा ३-४ वटा नेपाली फिल्म निर्माण हुने रकम ‘पासवर्ड’मा खर्चिएको बताउने विक्रमले पैसा कमाउनकै लागि फिल्म नबनाएको तर्क गर्छन । ‘हामीले सिनेमाको विश्वव्यापी रिलिजको लागि तयारी गरिरहेका छौँ । ओभरसिज रिलिजको पहिलो चरण अन्तर्गत १२ देश अमेरिका, भारत, अस्ट्रेलिया, इंग्ल्याण्ड, जापान, कोरिया, युनाइटेड अरब इमिरेट्स, क्यानडा, पोर्चुगल, पोल्याण्ड, जर्मनी र मलेसियामा २० सेप्टेम्बर (असोज ३) गतेदेखि एकसाथ प्रदर्शन गर्दैछौँ ।

सुरुवातमै हामीले नाफा खोजेर हुँदैन । पहिला ठुलो लगानी रिकभर गर्ने ठुला बजार बनाउन सक्नु पर्छ । बहुभाषी रुपमा सिनेमा रिलिज गर्न सक्यौँ भने भोलिको दिनमा अवश्य पनि नेपाली सिनेमालाई फाइदा हुनेछ ।’ उनले एक अनलाइनसँगको अन्तर्वार्तामा भनेका छन् ।

सम्राट बस्नेत निर्देशित फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्