सुशीललाई ‘बादशाह जुट’को भर, रोकिएला त असफल फिल्मको शृंखला ?



रंगखबर, काठमाडौँ – ‘होस्टेल रिटर्न्स’बाट सफल डेब्यु गर्दा अभिनेता सुशील श्रेष्ठलाई उदाउँदो ताराको रुपमा हेरिएको थियो । तर, पछिल्ला दुई फिल्म ‘सायद २’ र ‘कारखाना’ले सुशीलको चमकमा प्रश्न चिन्ह खडा गरिदिए ।

                                                           तस्विर: सुशीलको फेसबुक अकाउन्टबाट

सुगठित शरीर र गुड लूक्सका कारण सुशीलले दर्शक रिझाउने आशा गरिएको थियो । ‘सायद २’ र ‘कारखाना’ बक्सअफिसमा असफल मात्र भएनन्, सुशीलको अभिनयले मन जित्न पनि सकेन । अब सुशीललाई आगामी दुई फिल्म ‘बादशाह जुट’ र ‘लभ डायरिज’को भर छ ।

दुवै फिल्मको रिलिज डेट कार्तिक १५ हो । तर, यो मितिमा सम्भवत: ‘बादशाह जुट’ मात्र प्रदर्शन हुनेछ । रिलिज मुख नजिकको शुन्यताले ‘लभ डायरिज’को प्रदर्शन अन्यौल बनेको छ । ‘बादशाह जुट’को प्रचारमा व्यस्त रहेका सुशील निक्कै आशावादी देखिएका छन् ।

फिल्मको ट्रेलर, गीतलगायतका प्रचार सामाग्रीको हाइप औसत छ । त्यसैले बक्सअफिसमा पनि औसत सुरुवात गर्ने अनुमान छ । यदि पटकथा राम्रो भैदिएमा ‘वर्ड अफ माउथ’ले फिल्म राम्रो जान सक्छ ।

‘बादशाह जुट’को बक्सअफिस प्रदर्शनले ‘लभ डायरिज’ र सुशीलको करिअरसँग अर्थ राख्नेछ । यदि ‘बादशाह जुट’ सफल भयो भने उनले असफल शृंखलामा ब्रेक लगाउने छन् । होइन भने, सुशील पनि असफल फिल्ममा ह्याट्रिक गर्ने कलाकार बन्नेछन ।

प्रतिक्रिया दिनुहोस्