‘च च हुई’ ट्रेलरमा आर्यन, मीरुना र भोलाराजको कमेडी



रंगखबर, काठमाडौँ – मंसीर ६ गते रिलिज हुने फिल्म ‘च च हुई’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा कलाकार आर्यन सिग्देल, भोलाराज सापकोटा, मीरुना मगर र माओत्से गुरुङ बीचको भागम-भाग देखाइएको छ ।

रम-कम (रोमान्टिक कमेडी) जनराले दुई बेकामी युवाको जीवनमा एउटा किताबले ल्याएको उतारचढावको कथा भन्छ । साम्तेन भुटियाको निर्देशन तथा सम्पादन रहेको फिल्मले जीवनको पिङमा ‘च च हुई’ गरेर मच्चिन खोज्दा आउने अवस्था देखाउनेछ ।

फिल्ममा आर्यन र भोलाराजले हङकङ बसेर फर्किएका युवाको भूमिका निर्वाह गरेका छन् । भने, मीरुनालाई हिमाली भेगकी सुन्दरीको भूमिकामा देख्न सकिन्छ । फिल्ममा पुस्कर गुरुङ, अर्जेश रेग्मी र बबिता मल्ललगायतका कलाकारको पनि अभिनय छ ।

एजीएल इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सुशन प्रजापतिको छायाँकन, श्री श्रेष्ठको द्वन्द्व, शिशिर खातीको कोरियोग्राफी, राजनराज सिवाकोटी/रोशन थापाको संगीत र सिजन दाहाल/संदेश अर्यालको पटकथा छ ।

प्रतिक्रिया दिनुहोस्