‘घामड शेरे’लाई उम्दा प्रतिक्रिया, निश्चल र हेमराजको उत्कृष्ट काम



रंगखबर, काठमाडौँ – निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर फिल्म ‘घामड शेरे’ शुक्रबारदेखि अलनेपाल प्रदर्शनमा आएको छ । रिलिजको पुर्वसन्ध्या पारेर विहिबार उपत्यकामा फिल्मको प्रिमियर गरिएको थियो । भक्तपुरस्थित भाटभटेनीमा नयाँ खुलेको क्युएफएक्समा पहिलो पटक सिनेमा प्रिमियर भएको हो ।

फिल्म हेर्न फिल्मकर्मी र पत्रकारको राम्रो उपस्थिति थियो । हेमराज बिसी निर्देशित फिल्मको कथाबस्तुको  सबैले तारिफ गरे । कन्टेन्ट, प्रस्तुति, अभिनय, छायाँकन र साउण्डलगायतका विधामा फिल्म उत्कृष्ट मानियो । यो वर्षको उत्कृष्ट फिल्म हेर्न पाएकोमा सेलेब्सले निर्माण पक्षलाई बधाई तथा शुभकामना दिए ।

‘घामड शेरे’लाई निर्देशक बिसीको करिअरकै उत्कृष्ट फिल्म मानिएको छ । एक शेरे नामक पात्रको जीवनमा आउने उतारचढावलाई फिल्मले बुनेको छ । फिल्मको शिर्ष भूमिका निश्चल बस्नेतले निर्वाह गरेका छन् । फिल्ममा निश्चलले अहिलेसम्म कै उत्कृष्ट अभिनय पस्केका छन् ।

साथै, स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय जस्ता कलाकारले पनि राम्रो अभिनय पस्केका छन् । अभिनेत्री गौरी मल्लको अतिथि भूमिका दमदार छ ।

फिल्मले नेपालको प्रशासनिक व्यवस्था, साली-भेनाको सम्बन्ध, वैदेशिक रोजगारले निम्त्याएको परिस्थितिलाई पनि समेटेको छ । बिसी मोसन पिक्चर्सको व्यानरमा निर्मित फिल्मको कथा र लेखनसमेत निर्देशक बिसीको हो ।

प्रतिक्रिया दिनुहोस्